झिम्पा गाउँका घर–घरमा शुद्ध पानी

0
9

गलकोट (बागलुङ),

बागलुङकोे निसीखोला गाउँपालिकामा पछिल्लो समय विकासले गति लिएको छ । मध्यपहाडी लोकमार्गले चिरेर रुकुमबाट अगाडि बढेपछि यस क्षेत्र विस्तारै सुगम बन्दै जान थालेको छ भने सडकपछि खानेपानी र शिक्षामासमेत उल्लेखनीय परिवर्तन हुन थालेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयलाई सहज भएको छ ।

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आँगनमै धारामा पानी आउन थालेपछि निकै सजिलो भएको स्थानीय झोजी मगरले बताउनुभयो । “घर सफा भयो, सबैलाई सुविस्ता भयो, पानी बोकेर खानु परेन गाग्रीमा बोकिन्थ्यो र अहिले त गाग्रीमा भरेर ढोकामै राखे जस्तो भएका छ”, उहाँले भन्नुभयो, “आगनमै धारो भएपछि त गाग्रीमा थापेर राख्नै पर्दैन ।” धारामा प्रशस्त पानी आउने भएकाले सिँचाइमासमेत सहयोग पुगेको उहाँको भनाइ छ ।

“धारामा २४सै घण्टा पानी आउँछ, त्यसले गर्दा सिँचाइ पनि गरिएको छ” उहाँले भन्नुभयो, “गहुँ जौ, गोबी, ब्याज, लसुन, सुन्तला कागतीको बिरुवा लगाइएको छ, तरकारी खेती गर्न पनि सजिलो भएको छ, आकाशबाट समयमा पानी नपर्दा पनि बारीमा सिँचाइ गरेर आवश्यक तरकारी उब्जाउन सजिलो भएको छ ।” झिम्पामा खानेपानी नै सुविधा नभएको त होइन । तर विगतमा निर्माण गरिएको खानेपानीको धारोमा फोहर पानी आउँदा स्थानीयले समस्या धेरै झेल्नुपथ्र्यो ।

नयाँ योजनाअन्तर्गत सफा पानी उपलब्ध हुन थालेपछि थालेपछि मानिस बिरामी हुनेसमेत कम भएको स्थानीय प्रमिला मगरको भनाइ छ । “जिडब्ल्युटीले दिएको पानी हो, पहिलेको पानी जाँच गर्दा फोहर देखिएको थियो”, मगरले भन्नुभयो, “यो पानी ल्याएदेखि धेरै सुविधा भएको छ, अहिले त यहाँका मानिस बिरामी पनि भएका छैनन्, मुहानबाटै फिल्टर गरेर ल्याएको पानी भएकाले निकै राम्रो र स्वच्छ छ ।”

जिडब्ल्युटीले दुई योजनामार्फत झिम्पाका ९४ घरको घर घरमा धारा पु¥याएको छ । त्यसका साथै सामुदायिक भवन र विद्यालयमा पनि पानीको सेवा पुगेको छ । जिडब्ल्युटीले खोपानी योजना निर्माण गरेर हस्तान्तरण गरेपछि अहिले खानेपानी आयोजनाको रेखदेका लागि स्थानीय चक्रबहादुर रोकाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । “यहाँभन्दा दुई किलोमिटरमाथि पाले भन्ने मुहान छ भिरको जरामा, ११ मिटर उचाइमा टिबिसी बाँधेर पानी फिल्टर गरेर छोपिएको छ”, अध्यक्ष रोकाले भन्नुभयो, “अप्ठ्यारो ठाउँमा जिआइ पाइप राखेर ट्याङ्कीसम्म पानी ल्याइएको छ । गाउँमा ल्याएपछि पनि पानी वितरणका लागि ठाउँ ठाउँमा वितरण ट्याङ्की बनाइएको छ ।”

खानेपानी योजना पूरा गर्नका लागि जिडब्ल्युटीले प्राविधिक सहयोगसँगै जिडब्ल्युटिको रु ६६ लाखभन्दा बढी लगानी गरेको रोकाले जानकारी दिनुभयो । “दुई वटा योजना हो, त्यो दुईवटैमा गरी रु ६६ लाख ७५ हजार सात सय २५ उहाँहरुले खर्च गर्नुभएको छ, बाँकी हाम्रो श्रमदान हो”, उहाँले भन्नुभयो । दुईटै योजनामा स्थानीयवासीले २० प्रतिशत श्रमदान गरेका छन् । पहिलेको योजना जीर्ण भएकाले जिडब्ल्युटिलाई अनुरोध गरेपछि खानेपानी सहज भएको निसीखोला गाउँपालिका-४ का वडाध्यक्ष टीकानिधि पौडेलको भनाइ छ ।

उहाँले पुरानो धारा २०४९ सालमा निर्माण भएकाले समस्या भएपछि नयाँ योजना ल्याएको बताउनुभयो । जिडब्ल्युटीले विभिन्न ठाउँमा, खानेपानी, विद्यालय झोलुङ्गे पुल बनाउने गरेको थाहा पाएपछि डा शान्ताराज शर्मासँगबाट कुराकानी गरेपछि योजना ल्याइएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here