झापा गोल्डकप फागुन १९ देखि

0
7

झापा।

झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९देखि हुने भएको छ ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताका रुपमा हेरिने झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ देखि फागुन २८ गतेसम्म हुने मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ ।

बिर्तामोड–३स्थित बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुँदै आएको छ । प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार समेत यो वर्ष वर्ष बढाइएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । यो वर्ष झापा गोल्डकपको बिजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने बस्नेतले बताए । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए । छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ । काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here