सहरको साख फर्काउन जागरण अभियान

६ चैत्र २०८०, मंगलवार मा प्रकाशित

धनकुटा,

सदरमुकामस्थित धनकुटा नगरपालिका–५ मा रहेको तल्लो कोप्चे र माथिल्लो कोप्चे बजारले आफ्नो गुमेको साख फर्काउन ‘कोप्चे जागरण अभियान’ सुरु गरेको छ ।

राणाकालमा धनकुटा गौडा र तत्कालीन पूर्वाञ्चलअन्तर्गत १६ जिल्लाको प्रशासनिक तथा शैक्षिक केन्द्र धनकुटा हुँदा यी दुई बजार जिल्लाका मुख्य व्यापारिक केन्द्र थिए । पछिल्लो समय विसं २०४० मा धरान–धनकुटा कोसी राजमार्ग धनकुटा हुँदै सडक सञ्जालले अन्य जिल्लामा जोडिएपछि यहाँको व्यापारिक केन्द्र स्थानान्तरण भएपछि यी बजार सुनसान बनेका छन् ।

अहिले बजारको सबैभन्दा धेरै दुई कोप्चे बजार देखिएकाले यसको साख फर्काउन हालैबाट ‘कोप्चे जागरण अभियान’ सुरु गरिएको वडा नं ५ का वडाध्यक्ष धनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसका लागि बजारका सबै घरमा सुन्तला रङ लगाउने, विभिन्न खाना महोत्सवको आयोजना गर्दै आएको कोप्चे बजारमा बन्दीपुरको शैलीमा घरबास सेवा (होमस्टे) सञ्चालन गर्न लागिएको राईले जानकारी दिनुभयो ।

विसं २०३९ मा धनकुटाबाट हिले हुँदै अन्य जिल्लामा भएको सडक विस्तारले धनकुटा बजार सुनसान हुन थालेको माथिल्लो कोप्चे बजारका ६० वर्षीय रमेश अमात्य बताउनुहुन्छ । बजार सुनसान भएपछि तीस वर्षसम्म होटल व्यवसाय चलाएर आएका आमत्य परिवारले २०५२ सालपछि बन्द गरेर बसेको जानकारी दिनुभयो ।

क्रमशः अहिले माथिल्लो कोप्चे बजारका प्रायः धेरै घर रित्तो छाडेर स्थानीय विरानगर, काठमाडौँमा बसिरहेकाले बजार सुनसान देखिएको अमात्यले जानकारी दिनुभयो । यस्तै सोही बजार क्षेत्रमा पुख्र्यौली पेसाका रुपमा किराना पसल गर्दै आउनुभएका ४५ वर्षीया सुशील श्रेष्ठले व्यापार ठप्प भएर घरमात्र रुँघेर बसेको जानकारी दिनुभयो ।

दश वर्षअघि मासिक रु तीन लाखसम्मको कारोबार हुने गरे पनि हाल रु पाँच हजारको पनि व्यापार नभएको उहाँले बताउनुभयो । “त्यो बेला करिब करोडको व्यापार हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पसल गरेर परिवार धान्न मुस्किल छ ।” श्रेष्ठले चौतर्फी सडक सञ्जाल पुग्नु र यहाँको प्रशासनिक केन्द्र अन्यत्र स्थान्तरण भएपछि बजार सुनसान भएको जानकारी दिनुभयो ।

व्यापार–व्यवसाय नभएपछि अहिले माथिल्लो कोप्चे र तल्लो कोप्चे बजारका अधिकांश घरका ढिक (काठले बनेको आधा झ्याल आधा ढोकाको रुप) बन्द देख्न पाइन्छ । बन्द रहेका घर व्यापारका लागि अरूलाई पनि नबेच्ने र आफू पनि नबस्ने भएकाले बजार विस्तार हुन नसकेको तल्लो कोप्चे बजारका ५० वर्षीय सञ्जय श्रेष्ठको भनाइ छ ।

तीन पुस्तादेखि खाद्यान्नको व्यापार गर्दै आउनुभएका श्रेष्ठले ३५ वर्षअघि मासिक रु एक लाख ५० हजारसम्मको कारोबार भए पनि हाल मुस्किलले २५ हजारको पनि व्यापार हुने जानकारी दिनुभयो । विसं २०४५ देखि २०५६ सम्म राम्रो व्यापार रहेको यो बजारका अधिकांशले जिल्लाबाहिर किनेर बसोबास गर्ने र यहाँ घरमात्र छाडेकाले बजार सुनसान बनेको श्रेष्ठको भनाइ छ ।

पछिल्लो समय देश सङ्घीयतामा गएपछि धनकुटा सात स्थानीय तहमा विभाजन हुनु र पूर्वको प्रशासनिक केन्द्र (राजधानी) समेत विराटनगर सारिएपछि धनकुटा बजार सुनसान बनेको थियो । त्यसको असरका कारण यी दुई बजार थप सुनसान बनेर गएको धनकुटा बजारसम्बन्धी जानकार धनकुटा–६ सिरानबजार निवासी ५५ वर्षीया राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ ।

बजार सुनसान बनेपछि विसं २०७५ मा माथिल्लो कोप्चे बजारले पर्यटकलाई आकर्षित गर्न दुवै सहरका सबै घर सुन्तला रङले रङ्गाएर ‘ओरेन्ज सिटी’ अभियान सुरु गरेको थियो । यो निरन्तरतालाई थप प्रभावकारी बनाउन गत वर्षबाट जागरण समिति बनाएर बजारको गुमेको साख फर्काउन विभिन्न कार्यक्रम तय गरिएको अभियान समितिका अध्यक्ष रिजन पोखरेलले जानकारी दिनुभयो ।

जागरण अभियान्अन्तर्गत वार्षिक रुपमा कोप्चे फुट फेस्टिभलको आयोजना गर्दै आएको समितिले यहाँको मौलिक संरचना र संस्कृति जगेर्ना गर्न लागिएको पोखरेलले जानकारी दिनुभयो । “यहाँका पुराना मौलिक घर पनि अरूका लागि आकर्षणको कुरो हुँदो रहेछ”, पोखरेलले भन्नुभयो, “हामीले यसको संरक्षण गरेर घरबास (होम स्टे) चलाउने तयारीमा छौँ ।”

घरबास सेवाका साथमा स्थानीय नेवारी, आठपहरीयालगायत विभिन्न जातजातिको संस्कार÷संस्कृतिसमेत जगेर्ना गरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो । धनकुटा बजारका अग्रजले आफ्नो ठाउँलाई मायाँ नगरेका कारण बजार नै सुनसान अवस्थामा पुगेको नगर प्रमुख चिन्तन तामाङको भनाइ छ ।

“नाम, दाम र इज्जत धनकुटामा कमाउने तर लगानी तराई र काठमाडौँ गर्नेहरुका कारण बजार सुनसान भएको हो”, तामाङले भन्नुभयो । ढिलै भए पनि चेत खुलेका कारण पछिल्लो समय नगरका केही व्यक्तिले बजार क्षेत्रको विकासका लागि गरेको खर्चप्रति उहाँले प्रशंसा गर्नुभयो ।

जिल्लाबाहिर रहेका नगरबासीले क्रमशः आफ्नो ठाउँमा लगानी गर्ने परिपाटी सुरु भएको देखिएकाले बिस्तारै नगरको व्यापार र चहलपहल बढ्दै जाने तामाङले विश्वास व्यक्त गर्नुभयो । उहाँले सबैभन्दा बढी सङ्कटमा रहेको दुई कोप्चे जागरण अभियानमा सहयोगका लागि सरोकारवालासँग छलफल र बैठक भइरहेको जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here