झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

११ चैत्र २०८०, आईतवार मा प्रकाशित
झापा, 
भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण गर्दा उक्त तथ्य फेला परेको हो ।
महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानका रुपमा यो स्थान चर्चित छ । पुरातत्व विभागले यहाँ विसं २०५८ देखि हालसम्ममा सातौँ पटक उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए । उत्खननका क्रममा भेटिएका प्राचीन सुराहीलगायत माटो र धातुका भाँडावर्तन, गहना र इँटा सङ्कलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबधस्थल इशापूर्व एक सय २० देखि दुई सय वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्वविद् उद्धव आचार्यले बताउनुभएको छ । विसं २०५८ देखि किच्चकबध स्थलमा पुरातत्वविद् आचार्यकै नेतृत्वमा सातौँ चरणको उत्खनन कार्य जारी रहेको छ ।
“यसअघि छ पटकसम्म उत्खनन् गर्दा भेटिएका प्राचीन वस्तुको कार्बन परीक्षण गराइसकेका छौँ”, आचार्यले भन्नुभयो, “त्यसबाट भेटिएका सामग्री दुई हजार दुई सय वर्ष पुरानो भएको पुष्टि भइसक्यो । यसपालीको साताँैं पटकको सामग्रीको परीक्षणपश्चात् अझ नयाँ तथ्य खुल्दै जाने अपेक्षा गरेका छौँ ।” यसपाली चैत २ देखि सुरु भएको उत्खनन चैत १८ गतेसम्म जारी रहने उहाँले जानकारी दिनुभयो ।
उत्खननका लागि आचार्यको नेतत्वमा पाँच जनाको टोली सक्रिय छ । टोलीले किच्चकबधस्थलमै बसेर दिनभर उत्खनन कार्य गरिरहेको छ । किच्चकबधस्थललाई धार्मिक तथा ऐतिहासिकस्थलका रुपमा प्रचार गरिँदै आए पनि पुरातत्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेको इतिहासकार एवं मेची बहुमुखी क्याम्पसका पूर्वप्रमुख चिन्तामणि दाहालले बताउनुभयो ।
“यो स्थल दुई हजार दुई सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुसीको कुरा हो”, सातौँ चरणको उत्खननका लागि आएको पुरातत्व विभागको टोलीसँगको भेटपछि दाहालले भन्नुभयो, “थाइल्यान्ड, भारतलगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले अब किच्चकबध स्थलको महत्व बढेको छ । यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल रहेन ।”
पुरातत्वविद् उद्धव आचार्यले नै सुर्खेतको ऐतिहासिक काँक्रेविहारस्थलको ऐतिहासिकताको प्रमाणिक खोज गर्नुभएको थियो । किच्चकबधस्थलमा सुरुदेखि नै आचार्यले उत्खननको नेतृत्व गर्नु भएको हुँदा यसको अन्तिमसम्म उहाँले नै उत्खनन गर्नुहुने दाहालले बताउनुभयो ।
किच्चकबधस्थल १० बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ पुरानो र नयाँ गरी दुई वटा किच्चकबधको मूर्ति छन् । त्यसैगरी मानव निर्मित मन्दिर, पोखरी र सभाहल छन् । उत्खनन भइरहेको सीमाभित्र मानव निर्मित सभाहल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन टोलीले आग्रह गरेको दाहालले बताउनुभयो ।
सरकारले उत्खननलाई निरन्तरता दिइरहे तापनि पर्याप्त बजेट नपठाउँदा क्रमागतरुपमा उत्खनन् गर्नु परिरहेको दाहालले गुनासो गर्नुभयो । जमिनको पहिलो तहको उत्खननबाट फेला परेका वस्तुको कार्बन परीक्षणबाट यसस्थल दुई हजार दुई सय वर्ष पुरानो समय गणना भएको जनाउँदै उहाँले अझ एक तहमुनि पनि प्राचीन वस्तु भेटिन थालेको हुँदा सरकारले उत्खननका लागि पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने खाँचो देखिएको बताउनुभयो ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी दुई हजार पाँच सय वर्ष पुरानो भएजस्तै किच्चकबधस्थल दुई हजार दुई सय वर्ष पुरानो पुष्टि भएकाले यसलाई पर्यटकीय दृष्टिले मुलुककै आकर्षक गन्तव्यस्थलका रुपमा चिनाउन सकिने उहाँको धारणा छ । किच्चकबधस्थलको रेखदेख स्थानीय संरक्षण समितिले गर्दै आएको छ । समितिले विभिन्न स्रोत जुटाएर घेराबेरालगायतका संरचना निर्माण गरेको छ । सो स्थानमा फेला परेका प्राचीन पर्खाल, इँटालगायत उत्खननस्थलको उचित ढङ्गले संरक्षण हुनसकेको छैन । आन्तरिक पर्यटकले जथाभावी कुल्चिने र स्थानीय समितिले गुरुयोजनाबिना भौतिक संरचना निर्माण गरिदिँदा पुरातात्विक सामग्री नष्ट हुने जोखिम बढेको छ ।
स्थानीय पालिका र प्रदेश सरकारले समेत उक्त ऐतिहासिक स्थानको संरक्षण र उत्खननमा ध्यान दिन आवश्यक भइसकेको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here