प्रकृतिको संरक्षण गरौं

१० बैशाख २०८१, सोमबार मा प्रकाशित

आज विश्व पृथ्वी दिवस । पृथ्वी र यहाँको पर्यावरणको बारेमा जागरुकता बढाउन प्रत्येक वर्षको अप्रिल २२ का दिन यो दिवस मनाउने गरिएको छ । पृथ्वी प्रकृति हो, जसको निर्माण वा पुनर्निर्माण सम्भव छैन । त्यसैले पनि हुनसक्छ वैदिक सनातन संस्कृतिमा पृथ्वीलाई माता भनिएको हो । चार जीवित देवताका रुपमा मानिएकाहरु मध्ये जन्मदिने मातालाई पहिलो देवता मान्ने संस्कृतिमा जन्मिएकाहरुका लागि त धरती वा पृथ्वी आमा सरह नै हुन् । तर, पछिल्लो समय पृथ्वीले आफ्नो प्राकृतिक स्वरुप गुमाउँदै गएको छ, प्रदूषण बढेर वातावरण असन्तुलन पनि बढ्दैछ । जसको परिणाम सचेत प्राणी भएका कारण मानिसले नै बढी भोग्दै आएका पनि छन् ।

पृथ्वीको महत्वलाई आज विश्व समाजले स्वीकार गरेको छ । औपचारिक रुपमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा सर्वप्रथम पर्यावरणीय महत्वका दृष्टिले चौवन्न वर्षअघि यो दिवस मनाइएको थियो । त्यसकै प्रभाव र आधारमा ब्राजिलको राजधानी रियो दि जेनरियोमा सन् १९९२ मा भएको पृथ्वी सम्मेलनमा विश्वका अधिकांश देश सहभागी भए । त्यही पृष्ठभूमि र अग्रसरताले संयुक्त राष्ट्र संघले सन् २००९ मा अप्रिल २२ लाई पृथ्वी दिवस विश्वव्यापी रुपमा मनाउने घोषणा ग¥यो । आज विश्वका झण्डै दुई सय देशहरुले यो दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउँदैछन् । ती कार्यक्रमहरुको एउटै उद्देश्य छ कि पृथ्वीको सौन्दर्यलाई मानवीय गतिविधिले कुरुप नबनाओस्, सन्तुलन नबिग्रियोस् र मानव जातिसँगै सम्पूर्ण प्राणी एवम् वनस्पति जगतको रक्षा होस् ।

त्यसो त पृथ्वी दिन–प्रतिदिन प्रदूषित भइरहेको छ । बढ्दो जनसंख्या, जल, वायु तथा ध्वनि प्रदूषण, वन विनाश जस्ता मानवीय क्रियाकलापले पृथ्वीको संरक्षणमा चुनौती थपिएको छ । अत्यधिक प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको प्रयोगले पृथ्वीको धरातलीय स्वरुप विनाशक भइरहेको छ । त्यहीकारण राष्ट्रसंघकै आह्वानमा प्रत्येक वर्ष अलग नाराका साथ पृथ्वीको संरक्षणमा जागरुकता बढाउन यो दिवस मनाउने गरिएको हो । पृथ्वीको तापक्रम प्रति वर्ष शून्य दशमलब १८ डिग्री सेन्टिग्रेटले बढिरहेको छ । बरफका पहाडहरु, हाम्रा हिमालहरु क्रमशः पग्लिएर जाँदैछन् । वायुमण्डलमा रहेको ओजोन तह पातलिँदै जाँदा सूर्यबाट आउने पराबैजनी रंगका किरण पृथ्वीसम्मै आइपुग्ने खतरा बढेको छ । प्रत्येक वर्ष आँधी, तुफान आउनेक्रम पनि बढेको छ, मौसम परिवर्तन भइरहेको छ । यो सबै मानव सभ्यतालाई ध्वस्त पार्ने संकेत हुन् । त्यसलाई रोक्न पनि पृथ्वीको संरक्षण आजको आवश्यकता हो । त्यसैले यो दिनले विश्वभरका मानिसलाई पृथ्वी र प्रकृतिको संरक्षणमा लाग्न प्रेरणा दिनुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here