झापा।

झापाको पूर्वी नाका मेचीनगरबाट भन्सार छलेर भित्र्याइएको ठूलो मात्रामा लत्ताकपडा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापा, जिल्ला प्रहरी कार्यालय र मेची भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा ५१ पोका कपडा बरामद गरेको हो ।
संयुक्त टोलीले मेचीनगर–७ गैरीगाउँ र मेचीनगर –६ सालघारीको तीन ठाउँबाट मंगलबार करिब ३८ लाख ४८ हजार ४७० रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डीएसपी तथा प्रवक्ता दिनेश कटुवालले जानकारी दिए ।
गैरीगाउँ र सालघारीमा ठूलो मात्रा भन्सार छलेर कपडा भित्र्याइएको सूचना पाए लगत्तै सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म काँकरभिट्टाको टोली सोमबार राति साढे ९ बजेदेखि सो क्षेत्रमा खटिएको थियो ।
सशस्त्रले गैरीगाउँबाट २२ पोका र सालघारीबाट २९ पोका कपडा बरामद गरेको हो । सीमा क्षेत्र, मकैवारी र एउटा घरबाट सो परिमाणका कपडा फेला परेको थियो । सशस्त्रले दुवै स्थानमा रातभरि सामानको सुरक्षा दिएर बसेको थियो,– डीएसपी कटुवालले भने– मंगलवार बिहान प्रहरी र भन्सारसँगको सहकार्यमा सामान बरामद गरेका थियौँ ।
बरामद गरिएकोमा सामानमा कुर्ती, कुर्ता सुरुवाल, भेष्ट, पेन्टी, पाइन्ट, म्याक्सी, सटको थान कपडा, लुंगी, तन्ना, सुती साडी, गञ्जी, ब्लाउज, पेटिकोट लगायतको रहेको छ ।
तस्करले मौका छोपी कपडा भित्र्याएको हुनुपर्छ । कसको सामान भनी नाम खुलेको छैन । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि मंगलबार नै मेची भन्सार कार्यालय बुझाइसकेको डीएसपी कटुवालले बताए ।






























