एउटा नचिनेको मान्छे चिनजान भएपछि कति चाडो आफ्नो हुने पत्तो नहुँदो रहेछ । समयको खेल मात्र हो, तर सही समयमा आफ्नो हुने मान्छे कुनै पनि अवस्थाबाट टाढा नरहने पाए ।
उसको र मेरो भेटघाट एउटा सानो आफन्तको कार्यक्रममा भएको थियो । ऊ रातो कुर्थामा सजिएकी थिइ । उसको र मेरो बोलचाल त्यस कार्यक्रममा अन्तिममा मात्र भएको थियो । म कलेजबाट सिँधै आफन्तको घरमा गएको थिए निम्तो स्वीकार्न ।
अहिले ऊ सँग चिनजान भएको धेरै भएको छैन केवल दुई महिना मात्र तर लाग्छ म उसलाई धेरै अघिबाट जान्दछु । उसको र मेरो बसाई नै फरक छ । ऊ भूगोलमा दुई किलोमिटर टाढा बस्छे, तर मेरो मनको एकदम नजिक । मानांै ऊ मनको मिल्ने साथी हो । जो सँग सबै विचार मिल्छ, अवस्था मिल्छ अनि मिल्छ, कुरा गर्ने समय । ऊ सँग एउटा कुरा मात्र मिल्दैन त्यो हो भौतिक भेटघाट ।
एकदिन मोबाइलमा यसै म्यासेज आयो– ‘के छ खबर हजुरको ?’
मैले अपरिचित नम्बर देखेर उत्तर फर्काए– ‘हजुर मेरो ठिक छ अनि हजुरको ?’
(टिट–टिट) ‘हजुर ठिकै छ अस्तिबाट बोल्छु भनेको नभ्याएर । हजुरलाई भेटदा रमाइलो लाग्यो । मजाको हुनुहुदो रहेछ ।’
इन्बक्स पढी सकेपछि मैले म्यासेज टाइप गर्दै लेखँे ‘म मजाको होइन । तर, हजुर हेर्दा चाहिँ छुच्ची र घमण्डी लाग्ने तर साह्रै रमाइलो लाग्यो भेटेर ।’
उसको म्यासेज आयो– ‘घमण्डी रे ? (हाहा) मलाई सबैले प्रायः त्यस्तै भन्छन् हेर्दा नै छुच्ची परेकी छु । यसमा म केही भन्न सक्दिनँ ।’
‘राम्ररी बोल्नुहुदोरहेछ । खुशी लाग्यो हजुरलाई भेटेर । बोल्दै गर्नु है । शुभरात्री ।’
उताबाट तुरुन्त म्यासेज आयो– ‘होइन डिस्टर्ब गरेछु सरी है । गुडनाइट ।’
उसको त्यो म्यासेज पढेर म अलमल्ल परे । मैले उसलाई शुभरात्रि भनेर सुत्न लागेको थिए, तर उसले भने मलाई अर्कै आभाष हुने गरी कठोर तरिकाले बोले जस्तै भान भयो । म आफ्नो मोबाइलमा स्क्रिन लक खोल्दै फेरि मेसेन्जरमा गएर लेख्न थाले– ‘त्यसरी डिस्टर्ब भएको छैन । ८ः३० हुँदै रहेछ मैले पो हजुरलाई डिस्टर्ब गरे की ? सरी है ।’
हाँसेको इमोजी पठाएर उसले मलाई भनी– ‘अहिले सम्म त डिस्टर्ब भएको छैन अबबाट चाहिँ हुन्छ जस्तो लाग्न थाल्यो ।’
‘हजुर बुझिन नि मैले ।’
ऊ थप लेख्दै थिइ– ‘होइन अब चिनजान भएपछि बोल्नु पर्ने भयो अनि त्यसैले भनेको । कहिलेकाहीँ म्यासेज गर्दा हजुरलाई डिस्टर्ब त हुँदैन नि ?’
‘पक्कै हुँदैन । निर्धक्क बोल्दै गर्नु होला है ।’
मोबाइलमा म्यासेज टोन फेरि बज्छ म डिस्प्ले अन गर्छु– ‘पक्कै पनि । हस गुडनाइट ।’
दिन बित्दै जाँदा ऊ सँग संवाद पनि बढ्दै जान्छ । ऊ टाढाको भए पनि अहिले के छ– कसो छ भन्दै दैनिक सोध्ने एक असल मित्र जस्तो लाग्छ । समयको प्रवाह सँगै बग्दै गरेको हाम्रो सम्बन्ध एक मन मिल्ने सम्बन्ध कायम हुँदै गयो ।
दैनिक रुपमा कुराकानी हुँदै गर्दा उसको एक दिन म्यासेज नआउँदा पनि मन अशान्त हुने भयो । एक दिन उसले मलाई– ‘भेटघाट हुने कहिले हो ?’ लेखेर म्यासेज गरी । मैले– ‘मन त छ तर समयले मिलाउन चाहेको छैन होला’ भनी लेखि पठाएँ । उसको मुस्कान भरिएको मुहारमा त्यसदिन अँध्यारो छाएको थियो । उसले मलाई आफ्नो सेल्फी पठाइ । म हेरेर टोलाइरहे अनि लाग्यो ऊ आज खुलेर हाँसेकी छैन । सायद मेरो उत्तरले पो हो कि ? मैले पुनः म्यासेज बक्स खोले अनि टाइप गरे– ‘चाडै हुन्छ म तिमीलाई चाडै भेट्न आउँछु है ।’
उसले ट्वा परेर हेरेको इमोजी पठाई । मैले ‘सरि’ लेखेर पठाएँ । उताबाट म्यासेज आयो ‘तिमीलाई भेट्न मन नभएको रहेछ । ल बाई’
मैले घडी हेरे रातिको ११ बज्न लागेको रहेछ । ऊ सँग बोल्दै गर्दा मैले भुसुक्कै बिर्सिएछु मेरो भोलि बिहानको कलेजमा प्रेजेन्टेसन छ अनि अब तयारी गर्ने याद आउँदै गर्दा यतिको नजिकको मान्छे अब घुक्र्याउँदै रिसाएर बाई भनी । मैले उसलाई धेरै म्यासेज गरे । रिप्लाई आएन । अनलाइन कल लागेन । मोबाइलमा कल गरे तर मोबाइल पनि स्विच अफ गरिछ । म कोलाहलमा बसेर उसलाई आधा घण्टा बढी मोबाइलमा ट्राई गरिरहे तर सम्पर्क हुन सकेन । ११ः३० भैसकेछ अनि म आफ्नो प्रेजेन्टेसन बनाउन ल्यापटप, नोटस अनि किताब निकालेर बसेँ ।
निद्रा त भाग्यो तर तनाबले गर्दा मैले ध्यान लाउन सकिनँ । प्रेजेन्टेसन बल्ल बल्ल तयार गरे तर मैले पहिला जस्तो राम्रो तयारी गर्न नसकेकोमा म आफैमा निराश भएँ । थकाई लागेको थियो र रातिको १२ः४५ मा म बेडमा सिरक तान्दै घुस्रीए । मोबाइल निकालेर स्क्रिन लक खोल्दै म म्यासेन्जरमा उसको आइडी नियाल्न थालेँ ।
उसको प्रोफाइल मैले खोलेर हेरेको रहेन छु । ऊ अहिलेसम्म अफलाइन नै रहिछ । उसको प्रोफाइल फोटो सधैँ आकर्षक लाग्थ्यो मलाई । कहिलेकाहीँ प्रोफाइल फोटो नियालेर निकै बेरसम्म हेरेको थिएँ । आज उसको फोटो एल्बममा गएर एक–एक फोटो नियालेँ । उसको धेरै फोटो मध्ये एउटा फोटो सार्है मन पर्यो । त्यो त्यही फोटो थियो जुन दिन उसको र मेरो भेट भएको थियो ।
मेरो मन भ्रममा र अन्योलमा समय काटिरहेको थियो । ऊ टाढाको तर मन मिल्ने साथी भएकाले मात्र पनि ऊ म सँग जोडिएकी थिइ । तर, आज एउटा सानो कुराले उसले मलाई निकै बिद्रोही बनाएकी छे । मेरो मन उकुसमुकुस पार्दै उसले मलाई जिस्काएकिछे । ऊ त निदाई होला मस्त तर म यता निद्रा खराब पार्दै रातभर जस्तो राम्ररी निदाउन सकिनँ ।
उसलाई बादलले छोप्दै थियो म पनि जमिनमा खाटमा ब्लेन्केटभित्रको सुरुङ्गमा पस्न थालेँ । न उनलाई मैले देखे न उनले मलाई देखिन । हामी छौ थाहा छ, तर अस्तित्वको कुन तहमा छौ कहिलेकाहीँ अनौठो लाग्छ मलाई । म अबेला कतिबेला निदाए पत्तो भएन ।
बिहान फोन आयो । आँखा मुस्किलले खुल्न मानेन । एक हातले आँखा मिच्दै म फोन समाउन लागेँ । हेर्दा थाहा भयो त्यही साथीले गरेकी रहिछ । ‘हेल्लो’ म फोन उठाउँदै बोल्न लागेँ ।
‘सरी यार । मैले फोन साइलेन्टमा पारेकी थिएँ । तिमीलाई म्यासेज गरेर निदाएछु । हातमा मोबाइल थियो खाटबाट झरेछ ।’
‘अ त्यही त तिमी रिसायौ जस्तो लाग्यो अनि म तिमीलाई धेरै कल÷म्यासेज गरेँ ।’
‘अरे सरी यार’ (लामो हाँसो हाँस्दै) ऊ थप भन्न थाली– ‘तिमी त सिरियस म्यान रहेछौ मैले त सोचेकै थिइन । हाम्रो भेटघाट गर्न कहाँ सजिलो छ त । म त थोरै नराम्रो लाग्यो अनि तिमीलाई फ्रस्टेसन पोखेकी मात्र हो । अनि भुसुक्क निदाएछु । सरी यार ।’
‘ठिकै छ त । तर मेरो निद्रा अनि ध्यान सबै भंग गर्यौ तिमीले । अनि आफू खुशी भएर मस्त निदायौ है ?’
‘अरे यार सरी । खुशी भएर म सुतिन तर निद्रा देवीले तिमीलाई जाँच गरेको होला । यसमा मेरो दोष केही छैन ।’
‘छाडिदेउ धन्यवाद मलाई उठाएकोमा । आज मेरो प्रेजेन्टेशन छ । म त अबेर निदाएपछि सायद यति चाडै उठ्ने थिइन होला ।’
‘ल उठ अब फ्रेश हौ । आज तिम्रो दिन शुभ रहोस् ।’
‘धन्यवाद । सुनन साची…’
‘अ भन’
‘म तिमीलाई भेट्न आउने सोच्दैछु ।’
‘किन एक्कासी ? तिम्रो यता केही काम थियो ?’
‘रातभर त्यही सोचेर बस्दाबस्दै एक पटक तिमीलाई भेट्ने सोचेको हुँ । सायद तिमीले अन्जानमा भने पनि हामी भेट्न जरुरी सम्झेँ ।’
‘धैत पागल । कहाँ तिमी दुई सय किलोमीटर टाढा आउँछौ त । मैले पत्याइनँ ।’
‘साच्चै म तिमीलाई भेट्न आउँछु अर्को हप्ता ।’
‘आर यु सिरियस ?’ –ऊ सोध्छे ।
‘भेट्न मन छ कि छैन त्यति भन न ?’ म आत्तिएर प्रश्न गरे उसलाई ।
‘ओके मनबाट भेट्न मन छ । चाडै आउ ।’
‘हुन्छ । अब शनिबार भेटौला अर्को हप्ता ।’
‘ल इडियट अब क्लास छुटला तिम्रो । हतार गर ।’
‘हुन्छ । मैले फोन राखे है । लभ यु ।’
‘लभ यु टु ।’
(फोन काटिन्छ)
मैले भावनामा डुब्दै उसलाई आज पहिलो पटक लभ यु भनेछु । तर, उसले मलाई पनि आफ्नो भाव देखाई । मेरो ओठको हाँसो कम भएन । म हतार–हतार फ्रेश हुन बाथरुम छिरे । अनि तयार भएर कलेजलाई निस्किएँ । बेलुका उसको म्यासेज आयो– ‘हाउ वाज योर प्रेजेन्टेसन ?’
‘मेरो सफ्ट कपि राम्रो तयार थिएन, तर मैले क्लासमा सबैभन्दा राम्रो प्रेजेन्टेशन दिएर स्याबासी पाएँ ।’ –मैले उत्तर फर्काएँ । हामी अनि अन्य गफगाफ गर्दै लामो समय ब्यस्त रह्यौ ।
दिन बित्दै गयो अनि म उसलाई भेट्ने दिन नजिकै आएकोमा मख्ख थिएँ । शुक्रबार बिहान मैले उसलाई म्यासेज गरेँ– ‘मैले आज बिदा लिएको छु । तिमीलाई के मन पर्छ ? म लिएर आउँछु । म्यासेज मी है ।’
‘मलाई केही चाहिँदैन । तिमी राम्ररी आउ ।’
‘हस हुन्छ ।’
म आफ्नो ब्याग प्याक गरेर गन्तव्यतर्फ निस्किन तयार भएँ । गन्तव्य छोटो थिएन दुई सय किलोमिटर पर मलाई जानु थियो । ऊ सँगको त्यो अनौपचारिक भेटलाई पहिलो पटक औपचारिकता दिनु थियो । ऊ टाढाकी भए पनि मेरो मन मिल्ने साथी भैसकेकी छे । त्यसैले पनि उसलाई भेट्न मेरो मन आतुर भएको छ । मैले उसको लागि हिजो एउटा लेडिज चश्मा किन्दिएको छु । आशा छ उसले मन पराउनेछे ।
मेरो बाहिर ठडिएको बाइक सफा गरेर म त्यसमाथि सवार भएँ । हेल्मेट लगाउँदै क्लिप लाएँ । अनि मोबाइल निकालेर उसलाई म्यासेज टाइँप गरेँ– ‘प्यारो मान्छे, म आउँदै छु है । म निस्किएँ यहाँबाट ।’
उसको म्यासेज रिप्लाई आयो– ‘प्यारो मान्छे । वेल्कम तिमीलाई यात्रा शुभ रहोस् । चाडै भेटौला ।’ मोबाइल गोजीमा हाल्दै मैले चाबी अन गरे अनि बाइक स्टार्ट गरेँ । इञ्जिनको आवाज आयो… उसलाई भेट्न अब धेरै समय नलाग्ला मनकी साथी म आउँदै छु ।