विपद् नियन्त्रणको खाँचो

0
12

विपद् भनेको कुनै स्थानमा आपतकालीन स्थिति सृजना भई जनधनको क्षति हुने अवस्था हो । यसले जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्छ र यो प्राकृतिक वा मानवीय गतिविधिका कारण उत्पन्न हुनसक्ने अवस्था हो । विपद् सर्वकालीक र सर्वदेशीय संकट हो, जसलाई न्यूनीकरण गर्न प्रतिकार्य योजनासहितको प्रतिबद्धता र प्रतिबद्धतासँगै क्रियाशीलता आवश्यक हुन्छ । यस्तो योजना व्यक्तिभन्दा पनि जिम्मेवार सरकारी वा गैरसरकारी संस्थाको हुनुपर्छ र जसले प्रतिकार्य र क्रियाशीलता देखाउन सक्ने क्षमता राख्दछ । विपद् सर्वदेशीय हुन्छ अर्थात् संसारको कुनै पनि देश वा भूगोलको कुनै पनि क्षेत्र यसको जोखिममा रहन्छ र हिजो, आज र भोलि पनि कुनै न कुनै प्रकारले घटित भएको थियो, हुँदैछ र हुन्छ ।

प्राकृतिक विपद्हरु कुनै शक्ति वा संस्था अथवा सरकारको खटनमा छैन । त्यहीकारण प्रत्येक वर्ष हामीले बाढी, पहिरो, कटान, डुवान, भूकम्प लगायतबाट ठूलो क्षति व्यहोर्नु परेको छ । त्यस्तै आगलागी, दुर्घटना जस्ता केही विपद्हरु छन् जो मानवीय असावधानीबाट हुने गर्छ । यसलाई त सचेत भएर, सजग र सावधानी अपनाएर न्यूनीकरण गर्न सकिन्छ, तर प्राकृतिक विपद्को नियन्त्रण सम्पूर्ण रुपमा मानिसको अधिनमा छैन । यसबेला नेपालको पूर्वी भेगमा वर्षा र बाढीजन्य विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति भइसकेको छ । वर्षा लाग्नै नभ्याई अति मूल्यवान जीवन लान सक्ने वर्षात्ले भौतिक संरचनादेखि बालीनालीमा पनि त्यत्तिकै क्षति गरिसकेको छ ।

त्यसो त कतिपय विपद्का लागि मानवीय गतिविधि नै जिम्मेवार रहेका छन् । नदीको दोहन, वन फँडानी र अतिक्रमण, भौतिक विकासका नाममा प्रकृतिबिरुद्ध उत्खनन् र लोकप्रिताका लागि गरिएका ‘डोजरे विकास’ विपद् निम्त्याउने प्रमुख कारण हुन् । वैज्ञानिक अध्ययन अनुसन्धानबिनै गरिएका त्यस्ता कार्यले जमिनको अवस्थितिमा परिवर्तन आउँदा बाढी र पहिरोमा परी अकल्पनीय क्षति व्यहोर्नु परेको छ । ओरालोतिर बग्ने पानीको धर्म हो । त्यही धर्मको पालना गर्ने क्रममा उसलाई अवरोध गरिँदा हुने क्षति न्यूनीकरण गर्ने जिम्मा मानिसको हो । चुरे क्षेत्रमा भइरहेको अतिक्रमण र वन विनाशले अन्नको भण्डार भनिने तराईमा कहिले पानीको हाहाकार हुने र कहिले डुबान, कटान बाढीले त्यत्तिकै क्षति गराइरहेको छ ।

झापाकै सन्दर्भमा यहाँको प्रमुख आर्थिक कारोबारको केन्द्र बिर्तामोडमा जम्मा एउटा अन्धुवा खोला छ । तीन दशक अघिसम्म अञ्जुलीमा उघाएर पानी खान सकिने उसको स्वरुप आज ‘छुन पनि घिन लाग्ने’ अवस्थामा पुगेको छ । उसको पवित्रता माथिको आक्रमण प्रकृतिको होइन र मानिस बाहेक कोही जिम्मेवार पनि छैन । त्यही खोलाले वर्षामा आयतन बढाउँछ र कतै डुवान तथा कतै कटानले क्षति गर्छ । अहिले स्वायत्त स्थानीय सरकार छ, चाह्यो भने उसले बेलैमा नदीको सरसफाई गरेर जलप्रवाहको अवरोध हटाउन सक्छ । जस्तो कि राजधानी काठमाडौंमा नगर प्रमुख बालेन्द्र साहले वर्षौंदेखि जम्मा भएको फोहर हटाएर पानीलाई स्वच्छ र अविरल बग्ने बनाइरहेका छन् । अब बिर्तामोडलाई पनि त्यस्तै समर्पित, प्रतिबद्ध र कर्मठ नेतृत्वको अग्रसरताको खाँचो छ, जसले यहाँको बाढीजन्य समस्याको समाधानमा योगदान दिओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here