गत असार २८ गते चितवनको सिमताल क्षेत्रमा पहिरो खसेर भएको दुर्घटनामा त्रिशूली नदीमा खसेका दुईवटा बस अझै भेटिएका छैनन् । सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले बेपत्ता भएका यात्रु तथा त्रिशूलीमा खसेका बसको अवस्था पत्ता लगाउन नसक्दा भारतीय पक्षको सहयोग लिइएको थियो । भारतको राष्ट्रिय विपद् प्रतिकार्य फोर्स (एमडीआरएफ)का विज्ञसहितको टोली विशेष उपकरणसहित यही साउन ५ गते नेपाल आएको थियो । रुपन्देहीको बेलहिया नाका हुँदै आएको बाह्र जनाको टोली पनि आठ दिन निरन्तर खोजी गर्दा बस फेला पार्न नसकी फिर्ता भएको छ । उक्त प्रविधियुक्त भारतीय टोलीले प्रयोग गरेको उन्नाइस केजीको चुम्बक पनि त्रिशूलीमा हराएपछि उनीहरु रित्तै फर्किएका हुन् । यद्यपि हराएको चुम्बक टोली गएको भोलिपल्ट नै भेटियो ।
राष्ट्रिय राजमार्ग अझ राजधानीसँग जोड्ने सडकको नै यस्तो दुर्दशा छ भने अन्य ग्रामीण सडकहरुको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । अझ दुई–दुई वटा बस नै नभेटिनु र बसमा सवार अड्तीस जनाको अवस्था अज्ञात हुनुले हाम्रो प्रतिरक्षा र उद्धार क्षमताको प्रतिविम्बन गर्दछ । हामी कहाँ जटिल भू–बनोट छ र विकासका नाममा अवैज्ञानिक ढंगले भौतिक संरचनाहरु निर्माण गरिँदैछ । स्वार्थकेन्द्रित योजना, जटिल भू–बनोट, अव्यवस्थित विकास तथा सडकको दूरावस्था जस्ता कारणले वृद्धि भइरहेको दुर्घटनालाई न्यूनीकरण गर्न सकिएन भने यसबाट हुने क्षति कम गर्न सकिन्नँ ।
दुई वटा बस एकसाथ बेपत्ता भएको केही दिनमै देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । केपी ओली नेतृत्वको सरकार बनेको हप्ता दिनमै भएको सो दुर्घटनामा अठाह्र जना विज्ञ तथा प्राविधिकहरुले ज्यान गुमाए । स्थिर मौसमका बीच विमानस्थलमै भएको दुर्घटनालाई जानकारहरुले अस्वभाविक मानेका छन् । विमानस्थलहरुको सञ्चालन र व्यवस्थापन गर्न नेपालमा ‘क्यान’ नामक संस्था क्रियाशील छ । उसैले विमानसेवा, विमानस्थल र उडानको नियमन गर्छ । नागरिक उड्डयन प्राधिकरण विमान सेवाको क्षेत्रमा काम गर्ने संस्था हो, जसको ध्यान केवल पूर्वाधार निर्माणमा मात्रै देखिएको विज्ञहरुको भनाइ छ । जसका कारण उड्डयन सुरक्षा प्रणाली कमजोर भएको टिप्पणी गरिन्छ । त्यसैले विगतका हवाई दुर्घटनालाई मानवीय त्रुटि देखाएर बिर्सने बानी परेको मानसिकतालाई सुधार्न राजनीतिक नेतृत्वले अघि सर्नु पर्दछ । होइन भने यस्ता त्रासदीहरुको निरन्तरता कायम रहन्छ ।