जलवायु परिवर्तनले चट्टानहरू तताउँदछ, हिमालयलाई न्यानो बनाउँछ र हिऊँ र हिमनदी पगाल्दछ । यसको असरले अबको ३० वर्षमा नदीहरू सुक्नेछन् र खाद्य सुरक्षामा पनि चाँडै असर पार्नेछ । भारतका विज्ञहरुले जलवायु परिवर्तनले भारतमा पु¥याउने असरबारे व्यक्त गरेका विचार यहाँ चर्चा गरिन्छ । जुन विचार नेपालसँग पनि मिल्दोजुल्दो देखिन्छ ।
जीवित पर्वतहरू बिरामी छन् र यदि तिनीहरू मर्छन् भने तिनीहरूले लाखौँ मानिसहरूलाई आफूसँगै लैजान सक्छन् । यदि हामी हिमालयलाई लिभिङ इन्टिटी मान्दछौँ भने यसले आफ्नो खुट्टा गुमाइसकेको छ । र, अहिले जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र मानवीय गतिविधि बढेका कारण यसको पेटको बोसो मासिने गरेको छ, भारतको सिक्किमकी हिमनदीविद् स्मृति बस्नेत भन्छिन् । गर्मीयाममा पातलो बरफमुनि चट्टान तताउँदा हिऊँ पग्लनेक्रम बढेको र ३० देखि ४० वर्षभित्र हिमालयबाट निस्कने नदी सुख्खा हुन सक्ने उनी बताउँछिन् ।
भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो), हैदरावादस्थित इन्डियन स्कूल अफ बिजनेस र येल इन्भाइरोन्मेन्ट ३६० ले हिमालयलाई लिभिङ इन्टिटी स्टाटस प्रदान गर्नुपर्ने माग गरेका छन् । जसमा हिमाञ्चल प्रदेश (एचपी), उत्तराखण्ड, जम्मू र कश्मीर (जम्मू–कश्मीर) लगायत लगभग सबै हिमाली राज्यका ६० भन्दा बढी सामाजिक संस्थाका कार्यकर्ताहरूले हिमालयलाई लिभिङ इन्टिटी स्टाटस प्रदान गर्नुपर्ने माग गरेका छन् । यसले हिमालयलाई मानिसहरूले उपभोग गर्ने समान कानुनी अधिकार र सुरक्षा प्रदान गर्दछ, र हिमालय संकटमा तत्काल ध्यान आकर्षित गर्न मद्दत गर्दछ । भारतमा गङ्गा नदीलाई सात वर्षअघि लिभिङ स्टेटसको स्थान दिइएको थियो ।
गैरसरकारी संस्था हिमधाराका सहसंस्थापक प्रकाश भण्डारीले जलवायु परिवर्तन र विगत केही दशकमा भएका त्रुटिपूर्ण अभ्यासका कारण हिमाली क्षेत्रमा बढ्दो पहिरो, आकस्मिक बाढी जस्ता हिमाली विपत्ति बढ्दै गएको बताए । सन् २०१३ को उत्तराखण्ड बाढी विपत्ति र त्यसपछि हिमाचल प्रदेश र जम्मू–कश्मीरमा भएका त्रासदीहरू, हालसालै उत्तराखण्डको सानो शहर जोशीमठ डुब्दै छ भन्ने तथ्यसहित, बारम्बार प्रमुख चुनौतिको रूपमा देखा परेको थियो । विपत्तिपछि तुरुन्तै राम्रो अभ्यास र योजनाको बारेमा छलफल गरिएको भए तापनि चुनौतीहरूको सामना गर्न कुनै महत्वपूर्ण कार्य वा प्रभावकारी छलफल भएको छैन ।
हिमनदीहरू घट्ने विज्ञान :
दक्षिण भारतको हैदरावादस्थित इन्डियन स्कूल अफ बिजनेसमा भारती इन्स्टिच्युट अफ पब्लिक पोलिसीका सहायक सहप्राध्यापक तथा अनुसन्धान निर्देशक अञ्जल प्रकाशले गरेको अध्ययनमा हिमनदीहरू पछि हट्ने प्रवृत्तिबारे प्रकाश पारिएको छ । हिन्दूकुश हिमालय (एचकेएच) क्षेत्रमा करिब २१ करोड मानिस बसोबास गर्छन् भने एक अर्ब ३० करोड मानिस तल्लो तटीय क्षेत्रमा बसोबास गर्छन् र त्यहाँका नदी तथा खोला ताजा पानीमा निर्भर छन् । उनले इसरोको एक अध्ययनलाई उदृत गर्दै हिमालयका करिब ७५ प्रतिशत हिमनदीहरु डरलाग्दो दरले पछाडि हटेको बताएका छन् । यो रिट्रिटले तल्लो तटीय क्षेत्रमा पानीको बहावको परिवर्तनशीलता बढाउनेछ र पृथ्वीको सबैभन्दा बढी भीडभाड हुने बेसिनमा पानीको प्रयोगको दिगोपनालाई खतरामा पार्नेछ, उनले भने ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण यसको प्रभाव बढेको छ । हिउँदमा हिमपात, वर्षाको कमी र पछिल्लो दशकमा क्रमशः बढ्दै आएको तापक्रमले अधिकारकर्मीहरू चिन्तित छन् । सामान्यतया चिसो रहने हिमाली राज्यहरू सहित भारतभरि गर्मी बढिरहेकाले चिन्ता बढ्दै गएको छ । येल इन्भाइरोन्मेन्ट ३६०–मा प्रकाशित एउटा लेखमा चार सयदेखि सात सय वर्षअघिको लिटिल आइस एजको दौरान हिमालयका हिमनदीहरूको क्षेत्रफल अधिकतमभन्दा ४० प्रतिशतले खुम्चिएको छ भनी उल्लेख गरिएको छ । हिमालय क्षेत्रमा हिउँ पग्लनेक्रम विश्वका कुनै पनि हिमाली क्षेत्रको भन्दा तीव्र गतिमा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु न्यायमा काम गर्ने ऊर्जा विज्ञ, हरित अभियन्ता र अनुसन्धाता सौम्या दत्ताले जलवायु परिवर्तनले हिमालयी नदीहरूको पानीमा निर्भर रहेका भारतीय राज्यहरूका लागि गम्भीर असर पार्ने बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा हिमालयबाट निस्केका दुई सयभन्दा बढी खोलानाला सुकेका छन् र पछिल्ला केही दशकमा हिमालयको हिमनदीमुनिको २५ प्रतिशत क्षेत्र घटेको छ । पछिल्ला वर्षहरूमा पश्चिमी हिमालय क्षेत्रमा १.६ डिग्री सेल्सियस र पूर्वी हिमालय क्षेत्रमा १.४९ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ ।
खाद्यमा प्रभाव :
यसको असर भारतको पञ्जाब, हरियाणा, उत्तर प्रदेश र पश्चिम बङ्गालमा देखिनेछ । भारतले तीन सय ३० मिलियन टनभन्दा बढी खाद्यान्न उत्पादन गर्दछ । जुन विश्वव्यापी कुल अनाज उत्पादनको ११% हो । उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गाल उच्च, मध्य र तल्लो गङ्गा नदी बेसिनमा पर्दछन् र भारतको कुल खाद्यान्न उत्पादनमा ३०% योगदान गर्छन् । कम हिमपात र वर्षाको गतिविधिले खाद्यान्न उत्पादनमा कमी ल्याउनेछ र भारत र विश्वव्यापी रूपमा खाद्य असुरक्षा बढ्ने छ । किनकि भारत अनाजको दोस्रो सबैभन्दा बढी निर्यातकर्ता हो ।
पञ्जाव, हरियाणा, उत्तर प्रदेश र पश्चिम बङ्गालका किसानहरू जो सिँचाइका लागि नदीको पानीमा निर्भर छन्, भविष्यमा अहिलेका तीन बालीको साटो दुई बाली मात्र फलाउन सक्नेछन् । निकट भविष्यमा सिँचाइका लागि पानी प्रत्येक वर्ष अप्रिलसम्म उपलब्ध हुनेछ र त्यसपछि तीव्र अभाव हुनेछ । जुन चिन्ताको प्रमुख कारण हुनेछ । अर्कोतर्फ, पहाडी राज्यहरूले फलफूल उत्पादनमा कमीको सामना गरिरहेका छन् । प्रमुख स्याउ उत्पादक जम्मू–कश्मीर र एचपीको उत्पादनमा निरन्तर गिरावट आएको छ । सन् २०२२÷०२३ मा हिऊँ नपर्दा धानबालीमा नराम्रो असर परेको थियो । हिमाचल प्रदेशको राजधानी शिमलाको चोपालका स्याउ उत्पादक भाग्य सिद्धोलीका अनुसार यो वर्ष पनि यो क्रम जारी रह्यो र उत्पादन कम हुने डरले सताएको बताए ।
भूजल पुनर्भरणमा प्रभाव :
हिमनदीहरू घट्दै जाने प्रवृत्तिले हिमालय क्षेत्रमा ‘भूजल पुनर्भरण’मा पनि असर पार्न सक्छ, किनकि हिमनदीहरू यसको मुख्य स्रोत हुन् । निर्देशक प्रकाशले आफ्नो अध्ययनमा भनेका छन्, फेदीमा, जहाँ धेरै वर्षा हुन्छ, त्यहाँ भूमिगत पानी प्रचुर मात्रामा पाइन्छ । यद्यपि, हिलो र चट्टानी सतहको कारण, वर्षाको ठूलो प्रतिशत बाहिर निस्कन्छ । यसले गर्दा जमिनमुनिको सतहबाट कम पानी भूमिगत पानीमा जान्छ । अनुकूल परिस्थितिमा मुहानहरूबाट भूमिगत पानी बाहिर निस्कन्छ र सम्पूर्ण हिमालय श्रृंखलाका ग्रामीण र सहरी बस्तीहरूमा पानीको मुख्य स्रोत बनेको छ ।
यसको समाधानको रूपमा अनुसन्धाता दत्ताले बाली लगाउने तरिका वा रोपाइँको समयमा परिवर्तन गर्न आह्वान गरेका छन् । उनले उत्तर प्रदेश, पश्चिम बङ्गाल र बिहारजस्ता प्रमुख खाद्यान्न उत्पादक राज्यहरूको तुलनामा पश्चिमी हिमालय क्षेत्रको अवस्था अझ गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।
उनले जल जीवन मिसन (जसले प्रत्येक घरमा पिउन योग्य धाराको पानी उपलब्ध गराउने प्रयास गर्दछ), दिगो कृषि अभ्यासको राम्रो कार्यान्वयन गर्न र विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको लागि खाद्य सुरक्षा सुनिश्चित गर्न भारतमा प्रचलित आधुनिक र परम्परागत खेती विधिहरू बीच मध्य मार्ग खोज्नुपर्ने आवश्यकतालाई पनि सुझाव दिएका छन् ।
नेपाल पनि उही रेन्ज र स्थितिमा रहेको छ । भारतीय विज्ञहरुका विचारबाट नेपालका विज्ञहरुले पनि केही मार्गदर्शन प्राप्त गर्न सक्दछन् । जसले नेपालका लागि जलवायु सम्बन्धी राम्रो काम गर्न सहयोग पुग्ने देखिन्छ । (सामग्रीहरु अध्ययनबाट)