नेपाली आकाश असुरक्षित कहिलेसम्म ?

0
10

भौगोलिक रूपमा नेपाल धेरैजसो पहाड र हिमालले भरिएको मुलुक हो । जल यातायात, सडक यातायात, रेल यातायात, रज्जु यातायात (केबल कार) लगायतका यातायातभन्दा हवाइ यातायात नेपालका लागि बढी उपयोगी हुन्छ । कम समय र सहज हुने भएकाले हवाइ यात्रालाई यातायातको सबैभन्दा सुरक्षित र सजिलो माध्यम मानिन्छ । तर, नेपालमा त्यस्तो छैन । देशले हवाइजहाज दुर्घटनामा परेको समाचार पटक–पटक व्यहोर्नु परिरहेको छ, यो कुरा साँच्चै चिन्ताजनक छ ।

हालै काठमाण्डौंमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १९ मध्ये १८ जनाको मृत्यु भएको थियो भने विमान चालक मात्र बाँचेका थिए । त्रिभुवन विमानस्थलको परिसरमा भएको विमान दुर्घटनाको घाउमा खाटा नबस्दै केही दिनअघि एअर डाइनेस्टीको रसुवाको स्याप्रुबेसीमा भएको हेलिकप्टर दुर्घटनामा चार चिनियाँ र एक नेपालीको मृत्यु भएको समाचार सुन्नुप¥यो । यसअघि २०२३ जनवरी १५ मा पोखराको सेतीघाटमा यति एयरको विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । यसअघि मे २९, २०२२ मा तारा एयरको विमानमा २२ जनाको मृत्यु भएको अर्को ठूलो दुर्घटना थियो ।

स्थिर मौसमका बीच काठमाण्डांै विमानस्थलमै सौर्य एअरलाइन्सको विमान दुर्घटना हुनुलाई हवाइ क्षेत्रमा लामो अनुभव भएका जानकारहरूले निकै नै अस्वाभाविक मानेका छन् । सामान्य अवस्थामै रहेको भनिएको जहाज कैयौँको ज्यान जानेगरी दुर्घटनामा परेपछि कतिपय विज्ञहरूले नेपालको उड्डयन संरचना कै समीक्षा आवश्यक रहेको टिप्पणी गरेका छन् । आश्चर्य र विरोधाभाषको कुरा यो छ कि विमानकै प्राविधिक एवम् इन्जिनियरहरू बसेर उडेको विमान दुर्घटना भयो, पक्कै पनि उनीहरू विश्वस्त भएरै उडेका थिए होलान्, तर उनीहरूको समेत ज्यान गयो । विमान बूढो हुँदैन भन्ने मान्यता अनुसार उड्डयन सुरक्षा सुनिश्चित हुने अन्तर्राष्ट्रिय अभ्यास भए तापनि विमानलाई नियमित रूपमा मर्मतसम्भार नगरिँदा अकल्पनीय दुर्घटना बेहोर्नुपर्ने हुन्छ । यहाँ बुझ्नुपर्ने कुरा भनेको हवाइ कम्पनीको मर्मतसम्भार क्षमता पनि हो ।

नेपालमा हवाइ क्षेत्रमा प्राविधिक क्षमता सोचेजति र चाहिए जति नभएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । कैयौँ विमान सेवाका उनीहरूको आफ्नो ह्याङ्गर समेत छैन । तर, उनीहरूले उडान अनुमति पाइरहेका छन् । प्रश्न छ—आफ्नो ह्याङ्गर नहुँदा पनि ठूलो क्षमतामा सञ्चालनको अनुमति किन दिइन्छ ? प्राविधिक पक्षमा कुनै सम्झौता गर्नुहुँदैन, तर नागरिक उड्डयन प्राधिकरणले यस विषयलाई गम्भीरतापूर्वक लिएको छैन । नेपालमा अर्को विमान सेवाको ह्याङ्गर देखाएर समेत उडान अनुमति दिइएको छ ।

नेपालको खराब वायु सुरक्षा अभिलेख र भविष्यवाणीको लागि लामो समयदेखि आलोचना भइरहेको छ । हालै भएका दुर्घटनाले हाम्रो आकाश कसरी सुरक्षित बनाउने भन्ने बहसलाई पुनः शुरु गरेको छ । छानबिन समितिको प्रतिवेदन र जीवित पाइलटको खुलासाले मात्र दुर्घटना किन भयो भन्ने ठोस जवाफ दिनेछ । नेपालका वायुयानहरू सन् २०१३ देखि युरोपेली सङ्घको हवाइ सुरक्षा कालोसूचीमा परेका छन् र सुरक्षा चिन्ताका कारण धेरै पर्यटकहरूलाई देश भ्रमण गर्नबाट रोकेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को कर्तव्य विभाजन र राष्ट्रिय उड्डयन क्षेत्रको पुनर्संरचना गर्न आह्वान गर्ने उड्डयन सम्बन्धी दुईवटा विधेयक २०२० देखि संसदमा विचाराधीन छन् ।

विधेयक पारित हुन नसकेमा उड्डयन क्षेत्रका लागि नराम्रो असर परेको खण्डमा पारित गर्न ठोस उपाय अपनाउनुपर्छ । विमान चालकलाई दोष दिएर समस्याको हल हुँदैन र यसबाट केही फाइदा हुँदैन । लाइसेन्स दिने सम्पूर्ण प्रक्रियाको निरीक्षण गर्ने, हवाइ सेवा प्रदायकहरूले पाइलटहरूलाई तालिम दिने र भर्ना गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण पनि उत्तिकै जिम्मेवार छ । विश्वव्यापी उड्डयन निगरानीकर्ताहरूले संस्थाको दोहोरो भूमिका माथि प्रश्न उठाएका छन् र सुरक्षित हवाइ यात्रा सुनिश्चित गर्न नेपाललाई संस्थालाई सेवा प्रदायक र नियामक दुई निकायमा विभाजन गर्न आग्रह गरेका छन् ।

नीति, नियम र नियमितताको कडा कार्यान्वयन आवश्यक छ । उड्डयन नियमहरू उल्लङ्घन गरेमा जरिवाना नाममात्र गरिन्छ । नियम उल्लङ्घन गरेमा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन । यो अवस्था र प्रवृत्ति परिवर्तन हुनुपर्छ । विमान चालकको आवधिक प्रशिक्षण आवश्यक छ । यस्तो पुनर्ताजगी तालिमले चतुरतापूर्वक र शान्तपूर्वक परिस्थितिलाई नियन्त्रणमा लिन र गल्ती नगर्न आवश्यक अनुभव प्रदान गर्दछ, जानेकै कुरा हो भन्दै कुनै पनि चालकले यस्तो प्रशिक्षण छोड्नु हुँदैन । नेपाली विमान चालकहरूलाई बढी एक्सपोजर र उचित तालिमको आवश्यकता रहेको छ । अर्को महत्त्वपूर्ण कुरा विज्ञहरूका अनुसार २०–३० वर्ष पुरानो विमान पुरानो हुँदैन र यसको सफ्टवेयर र हार्डवेयरलाई आवश्यकता अनुसार अद्यावधिक गरी प्रतिस्थापन गरिएमा यो उडाउन योग्य हुन्छ । तर, मर्मतमा ढिलाइ भएको वास्तविक समस्या के हो, पत्ता लगाउन अप्ठेरो हुन्छ ।

हाम्रो जस्तो ढिलो नियामक प्रणाली भएको देशमा, यस्तो कुराले ठूलो नोक्सानी हुन्छ, जो हामी बेहोरिरहेका छौं । सुन्दा निराशजनक सुनिए पनि भन्नुपर्छ नेपाली आकाश असुरक्षित रहेको छ । विमानस्थल परिसरमै दुर्घटना हुँदा समेत समयमा उद्धार गर्न नसक्दा विमान चालक बाहेकका सबैले मृत्युवरण गर्नुप¥यो । विमानका चालकलाई भने जीवितै उद्धार गरिएको छ । अन्तर्राष्ट्रिय विमान स्थल परिसरभित्रै भएको दुर्घटनामा त समयमा उद्धार गर्न सकिएन भने विकट भू–बनोट भएका खोँच, गल्छी, भिरालो र यातायातका साधन जान नसक्ने स्थानमा भएका दुर्घटनामा उद्धार गर्न सकिने कुरै भएन । त्यसै पनि नेपाली आकाश असुरक्षित रहेको अन्तर्राष्ट्रिय निकाय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले प्रतिवेदनमा उल्लेख गरिसकेको छ ।

अब थप ढिला गर्नुहुन्न । हवाइ दुर्घटनाका कारणहरुको पहिचान गरी न्यूनीकरणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ । सरकार सत्ता बचाउने र हत्याउने काममै व्यस्त रहँदा निरपराध मानिसले जीवन गुमाउनु परिरहेको छ भने बर्सेनि अर्बौं रुपैयाँ क्षति व्यहोर्नु परेको छ । मानिसको जीवनको त मूल्य नै हुँदैन । अमूल्य छ मानिसको जीवन । सरकारकै गैरजिम्मेवार र असंवेदनशील व्यवहारका कारण सम्बद्ध पक्ष पनि उदासिन देखिएको छ ।

नत्र त पोखरामा गएर मर्मतसम्भार गर्नुपर्ने जहाज उडानका लागि योग्य छ÷छैन नहेरी त्यति ठूलो सङ्ख्यामा यात्रु बोकेर उडान भर्न कसरी सम्भव हुन्थ्यो ? प्राविधिककै टोली हुनु त कति दुःखलाग्दो कुरा छ ? के हाम्रो यो बर्सेनि जस्तै हवाई दुर्घटनाको त्रासदी व्यहोर्न बाध्य नियति नै हो ? अनुत्तरित छन् प्रश्न, तर प्रश्न पटक–पटक आउने गरेको छन् । हाम्रो विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, आवश्यक सूचना, उपकरणको अभाव जस्ता कारणले विगतमा पनि ठूल्ठूला हवाइ दुर्घटना भएका छन् । त्यसैगरी विमानको नियमित परीक्षण, मर्मत नगरिँदा, पुराना जहाजको प्रयोग, मानवीय त्रुटि तथा व्यवस्थापन र सरोकारी निकायको लापरबाहीले पनि कतिपय दुर्घटना भएका छन् ।

नेपाली आकाशमा भएको यो १५२औं दुर्घटना हो । विमान सेवा प्रारम्भ भएको सत्तरी वर्षमा धेरैले ज्यान गुमाइसकेका छन् । हवाइयात्रा आफैंमा जोखिमपूर्ण र संवेदनशील हुन्छ । छिट्टै पुग्न सकिने र स्थल यातायातको अभाव भएको ठाउँमा त यो निर्विकल्प माध्यम नै हो । त्यसैले यस क्षेत्रलाई सम्बन्धित निकायले नियमन गरेर सुरक्षित बनाउनु पर्दछ । होइन भने बाह्य पर्यटक भित्र्याउने नेपालको सपना पनि पूरा हुँदैन र नेपाल आउन खोज्ने विदेशीहरूले आफ्नो योजना बदल्न सक्छन् । यस्तो अवस्था हाम्रा लागि सुखद् हुँदैन । यसतर्फ सरकार सचेत र जिम्मेवार बन्न आवश्यक छ । यदि हामीले हाम्रा विमानहरूलाई उडानका लागि सुरक्षित बनाउने हो भने नियमलाई कडाइका साथ लागू गर्ने कुरामा कुनै ‘यदि’ र ‘भए पनि’ वा अलिकति पनि लापरवाही हुनुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here