माघ २ गतेदेखि अन्तर मावि पुरुष फुटबल प्रतियोगिता हुने

0
21
अर्जुनधारा ।
“नगर खेलकुदको पहिचान नगरको शान, विद्यार्थीहरुको क्षमता दक्षतामा वृद्धि विकास गर्ने हाम्रो अभियान” भन्ने मुख्य नारासहित यही माघ २ गतेदेखि नगरस्तरिय अन्तर माध्यमिक विद्यालय नकआउट पुरुष फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ ।
फुटबल खेलको माध्यमबाट दक्ष खेलाडी उत्पादनसँगै विद्यार्थीहरुबीच भातृत्व कायम गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिद्वारा सोमबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
      अर्जुनधारा–९ खरबन्दीस्थित गोलधाप युवा क्लबको संयोजनमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूह अन्र्तगतको “नमूना खेलमैदान”मा हुने समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
      प्रतियोगितामा प्रगति अङग्रेजी आवासिय विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय, स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, प्रतिभा नमूना माध्यमिक विद्यालय, भानु माध्यमिक विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय, शनिश्चरे माध्यमिक विद्यालय, एम्स एकाडेमी, ब्रीलीयन्ट पिपुल्स माध्यमिक विद्यालय, रुपरत्न मेमोरियल अङग्रेजी आवासीय विद्यालय, न्यू होप अङग्रेजी माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय सहभागिता रहेको छ ।
      प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ३० हजार र २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए । त्यसैगरी प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार एक हजार, फाइनल खेलका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जनही नगद पुरस्कार दुई हजार तथा एउटा अनुशासित विद्यालयलाई नगद पुरस्कार पाँच हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित तीन लाख २० हजार रुपैयाँ लाग्ने बताइएको छ । समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, रेफ्री संघका केन्द्रीय सदस्य प्रदीपकुमार बस्नेत, समितिका सल्लाहकार वीरबहादुर राईलगायतले प्रतियोगिताको विषयमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सदस्य सचिव लिङदेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here