गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा दुर्घटनाको कारण ‘तौल असन्तुलन’ रहेको उल्लेख छ । यद्यपि यही नै दुर्घटनाको कारण नहुन सक्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को नियम अनुसार प्रत्येक दुर्घटनाको कारण खोजी गर्न छानविन समिति बनाउनुपर्छ, उसको प्रतिवेदनलाई आईकाओमा पठाउनुपर्छ । त्यही व्यवस्था अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा अपरेशन र ग्राउण्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान नराखेकोले त्यही असन्तुलनले जहाज उडेको केही सकेन्डमै दुर्घटना भएको थियो ।
सौर्यको उक्त जहाज उडान भर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै दुर्घटनाग्रस्त भयो । जसमा विमानमा सवार अठाह्र जनाको ज्यान गयो । दुर्घटनामा विमान चालक मनिषरत्न शाक्यको भने घाइते अवस्थामा उद्दार भयो र उनी सुरक्षित भएका थिए । जहाज उडान भरेको बीस सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै जमिनमा रहेको कन्टेनरमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो । पोखराका लागि उडेको विमानमा विमान कर्मचारी र प्राविधिकहरु थिए । आयोग प्रतिवेदनले उड्डयन प्राधिकरणबाट स्वीकृत गराएको अपरेशन र म्यानुअलको पालना नगरिएका कारण दुर्घटना भएको उल्लेख गरेको छ । म्यानुअलमा जहाजमा राख्ने सामान जोख्ने, लोड गर्ने र सुरक्षित राख्ने भन्ने उल्लेख गरिएको हुन्छ र एयरलाइन्सले त्यसको पालना नगरेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायु सेवा कम्पनीहरुले लापरवाही गर्ने गरेको उल्लेख छ । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अनुगमन र नियमन नगर्दा ठूलो मानवीय र आर्थिक क्षति हुन पुगेको तर्फ उसले संकेत गरेको छ । विमानमा चढेका मानिस तथा लोड गरिएका वस्तुको तौल मापदण्डकै आधारमा हुनुपर्छ । यदि भारवहन क्षमताभन्दा बढी तौल भयो भने सबै यात्रा सुरक्षित नहुन सक्छ । त्यसका लागि विमान चालक एक्लै दोषी हुन सक्दैन । उडान सम्बन्धी सम्पूर्ण नियम र शर्तहरुको पालना गराउनेतर्फ उड्डयन प्राधिकरण जिम्मेवार हुन्छ र हुनुपर्छ । विमान कम्पनीहरुले नियमको पालना गरे–नगरेको उसैले अनुगमन गरेर नियमन पनि गर्नुपर्छ । त्यही नगरिँदा अनाहकमा धेरैको ज्यान जान सक्छ, आर्थिक तथा भौतिक क्षति हुनसक्छ ।
नेपाली आकाश असुरक्षित छ भन्ने समाचारलाई बल पु¥याउने गरी भएको सो दुर्घटनाको दूरगामी असर पर्यटन बजारमा पर्न थालेको त्यस क्षेत्रका जानकारहरु बताउँदैछन् । आयोगले औंल्याएका कमजोरीहरुलाई सबै विमान कम्पनीहरुले कडाइका साथ लागू गर्नुपर्छ । उडानका लागि अपनाउनुपर्ने विधि र शर्तहरुको पालना गराउन प्राधिकरण सचेत हुनुपर्छ । जहाजमा क्षमता र सञ्चालन म्यानुअलकै आधारमा भार निर्धारण गर्नुपर्छ । हाम्रा यातायातका माध्यमहरु असुरक्षित छन् । राष्ट्रिय राजमार्ग, आकाश मार्ग पनि असुरक्षित छन् । नियमनकारी निकायले पनि जिम्मेवार भूमिका निर्वाह गरेका छैनन् । यस्तोमा ‘भगवान’कै भर गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने बाटो भनेकै असल प्रयास हो । त्यसका लागि सरकार, प्राधिकरण, विमान कम्पनी र कर्मचारीको इमान्दार र निष्ठापूर्ण सेवामा ध्यान जानुपर्छ ।