अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित टेक–मान रंगशाला र छिमेकी पालिका बुद्धशान्ति गाँउपालिका–२स्थित विन्दुली जोड्ने बिरीङ खोलामा झोलुङ्गे पुल निर्माणको कार्य शूरु भएको छ ।
शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभाग अन्र्तगत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीको संयुक्त प्याकेजको बजेटबाट उक्त पुल निर्माणको कार्य शुरु भएको आयोजनाका प्राविधिक इन्जिनियर राजेन्द्र गौतमले जानकारी दिए ।
इस्टिमेट अनुसार आगामी आर्थिक वर्ष ०८२÷०८३को पुस मसान्तसम्म निर्माण सम्पन्न हुने पुलको लम्बाइ १६०.६० मिटर रहेको छ । एक पटकमा तीन सय जना मानिस आवतजावत गर्न सक्ने क्षमताको उक्त पुल एन टाईप मोडलको हुने इन्जिनियर गौतमले जानकारी दिए । पुल निर्माणको जिम्मा काठमाडौंस्थित बी लामा–डी गौतम जेभीले प्राप्त गरेको बताइएको छ ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका अनुमानित १३ सय घरधुरी बढीका मानिसहरु प्रत्यक्ष लाभान्वित हुने टेक–मान रंगशाला विन्दुली झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष विष्णु चौलागाईंले जानकारी दिए ।
यता झोलुङ्गे पुल निर्माण क्षेत्रमा बुधबार एक कार्यक्रमकोबीच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । पुल निर्माण समितिका अध्यक्ष चौलागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा–१का वडाध्यक्ष उपेन्द्र बस्नेतले भूमिपुजन गरेका थिए ।
कार्यक्रममा वडा सदस्य मदनकुमार लिमेल मगर, बुद्धशान्ति–२ का वडा सदस्य अमिर श्रेष्ठ, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईं, टेक–मान रंगशाला व्यवस्थापन समितिका अध्यक्ष सूर्य लोहार, नमूना बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर निरौला, सयपत्री युवा क्लबका अध्यक्ष पवन खनाल, ज्येष्ठ नागरिक संरक्षण समितिका अध्यक्ष कालीबहादुर थापा, इनरव्हील क्लब अफ अर्जुनधाराकी सचिव प्रभा नेपाललगायतको सहभागिता रहेको थियो ।
समितिका सचिव युवराज लोहारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य श्रीप्रसाद नेपालले गरेका थिए ।






























