डिजिटल सेवामा चुनौती

0
9

विश्वमा सूचना प्रविधिले अभूतपूर्व प्रगति हासिल गरेको छ । सञ्चार र सूचना सम्बन्धी यो प्रविधिले विश्वलाई जोडेको मात्रै छैन, विश्वलाई एउटा गाउँ बनाएको छ । साढे तीन दशकमा भएको यो प्रगतिको विकास अहिले मानिसको दैनिकीसँग जोडिएको छ । जसले मानिसको जीवन नै डिजिटल सञ्चार तथा सूचना प्रविधिमा निर्भर भएको छ । बैंक, वित्तीय क्षेत्र, बिमा हुँदै हरेक व्यवसाय र क्षेत्रका लागि डिजिटल सञ्चार अभिन्न अङ्ग भएको छ । राज्यद्वारा प्रवाह गरिने हरेक सेवा डिजिटल प्रविधिद्वारा सञ्चालन र नियन्त्रण हुन थाले । विश्वको त्यही ज्ञान, सिप र प्रविधिको अभ्यास गर्दै नेपालले पनि सम्पूर्ण सेवाप्रवाहको क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने अभ्यास गर्न थालियो । तर, त्यही अभ्यास यतिबेला हाम्रा लागि चुनौती बन्न थालेको छ ।

डिजिटल नेपालको लक्ष्यका साथ अग्रसर नेपालका निम्ति साइबर अवरोध र सुरक्षामा समस्या पनि बढ्न थालेका छन् । त्यसले सिर्जना गरेका चुनौती र असुरक्षालाई सामना गर्न नेपाल प्रहरीले छुट्टै इकाइ नै गठन गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले डिजिटल प्रविधिको दुरुपयोग गरी अनलाइन ठगी बढेको भन्दै त्यसबाट बच्न सेवा प्रयोगकर्तालाई सजग गराइरहेको छ । डिजिटल सेवाका लागि खुलेका विभिन्न नामका सेवा प्रदायक एपको दुरुपयोग गरी धोकापूर्ण तरिकाले विभिन्न संस्थाको हवाला दिएर आधिकारिक व्यक्ति हुँ भन्दै कल गर्ने, ओटिपी माग्ने र झुक्याउनमा पारी उक्त वालेटमा भएको, बैंक खातामा भएको पैसा अन्यन्त्र सार्ने जस्ता अपराधका घटना बढ्दै गएका छन् ।

डिजिटल ठगीका घटना बढेसँगै सिआईबीले सार्वजनिक अपिल गर्दै सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, इमो, भाइबर लगायतको सुरक्षित प्रयोग गर्न अनुरोध गरेको छ । अपरिचित व्यक्तिको फोन नउठाउन, उठाए जवाफ नदिन, उनीहरुले पठाएका लिङ्क नखोल्न पनि सिआईबीले सचेत गराएको छ । त्यसो त नेपाल डिजिटल नेपालको लक्ष्यतर्फ उन्मुख छ । त्यसैले प्रविधिको प्रयोग, पहुँचलाई अब फिर्ता लान सकिँदैन । तर, त्यही हाम्रो दैनिकी र अभ्यास कतिका लागि घातक हुन थालेको छ । यहाँसम्मकी गलत मनशाय भएकाहरुका कारण राज्यद्वारा प्रवाह गरिने डिजिटल सेवामै अवरोध आउने, बन्द हुने जस्ता समस्या पनि चुनौतीको विषय बनिएको छ । प्रविधिको पछिल्लो विकासले हाम्रा कतिपय सेवा सहज भएका छन् । तर, सँगै आएका सम्भावित जोखिमले त्रास पनि बढाएको छ । त्यसैले डिजिटल सुरक्षाका लागि सम्बद्ध निकाय, सरकार थप जिम्मेवार हुनुपर्छ र प्रयोगकर्ता पनि सुरक्षित प्रयोगमा सजग हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here