साउदी अरबको गृहमन्त्रालयले गैरकानूनीरुपमा त्यहाँ बस्दै आएका बीस हजारभन्दा बढी अवैध कामदारहरु पक्राउ परेको जनाएको छ । मन्त्रालयका अनुसार साउदी सुरक्षा बल र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त सुरक्षा अभियानका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरु मध्ये रेसिडेन्सी ऐन उल्लंघन गर्नेहरु बढी छन् । त्यस बाहेक सीमा सुरक्षा ऐन र श्रम कानून उल्लंघन गर्नेहरु छन् । सीमा पार गरेर साउदी प्रवेश गर्नेहरु करिब साढे सात सय जना रहेको मन्त्रालयले जनाएको छ ।
संयुक्त सुरक्षा अभियानका क्रममा अवैध कामदारलाई ओसारपसार गर्ने, आश्रय तथा रोजगारी दिनेहरु पनि पक्राउ परेका छन् । साउदीमा कानून उल्लंघन गर्नेलाई पन्ध्र वर्षसम्मको जेल सजाय, दश लाख रियालसम्म जरिवाना तथा यस्ता अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत हुने कानून व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार साउदी सरकारले सुरक्षा अभियान अन्तर्गत कानून उल्लंघन गर्नेलाई पक्राउ गरी कारवाही गर्ने कार्य तीव्ररुपमा अघि बढाएको छ । साउदी सरकारको यस्तो कारवाहीमा त्यहाँ गैरकानूनी रुपमा कार्यरत नेपाली पनि पक्राउ परेका छन् । भिसाको म्याद सकिएर पनि लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी अभियान चलाउँदा नेपाली पनि पक्राउ परेको बताइएको छ ।
साउदी सरकारको तीव्र कारवाहीका क्रममा सयौं नेपाली पक्राउ परेका छन् । साउदीमा हाल छ सयभन्दा बढी नेपाली जेल जीवन बिताइरहेका छन् । साउदीमा गैरकानूनी रुपमा बस्दै आएका करिब डेढ सय जना नेपालीले बर्हिगमन भिसा पाएका छन् । जेलमा रहेकाहरुको अवधि पूरा भएपछि कानूनी प्रक्रिया मार्फत त्यहाँको सरकारले बर्हिगमन भिसा दिने गरेको छ । नेपालीहरु त्यहाँका विभिन्न कम्पनीमा आवासीय अनुमतिबिनै बस्ने गरेका, भिसा नवीकरण नगरेका पाइएकोले त्यहाँस्थिति नेपाली दूतावास मार्फत अनुरोध गरिँदा साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्दै आएको छ ।
पछिल्लो समय साउदी पुगेका नेपाली कामदारले नेपालमा गरिएको सम्झौता अनुसारको तलब नपाउने, पाए समयमा नदिने कारणले अर्को कम्पनीमा गैरकानूनी तरिकाले काम गर्ने गरेका छन् । अझ कतिपय मदिरा बनाउने, बिक्री गर्ने व्यापारमा संलग्न हुने र मदिराको ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ पर्न थालेका छन् । यस्तो अवस्थामा पक्राउ परेकाहरुलाई सहजै बर्हिगमन गराउन पनि गाह्रो हुन्छ । अनेक समस्या र चुनौतीका बावजुद नेपालीको बाध्यता बनेको वैदेशिक रोजगारी अहिले पनि पहिलो रोजाइमा पर्ने गरेको छ । उर्वर जमिन बाँझो राखेर, परिवारलाई छाडेर जानुपर्ने बाध्यता देशको राजनीतिक अस्थिरताका कारण उत्पन्न भयो । भएका उद्योग धन्दा बेचियो, रोजगारीको अवसर शून्य भयो, सरकार बिप्रेषणमा रमायो परिणाममा सर्वसाधारणले सास्ती भोग्नुप¥यो । यसले आफूसँगै देश, समाज र भावीपुस्तालाई नोक्सान गरिरहेको छ । तसर्थ, स्वदेशमै रोजगारी सृजना गर्न र उद्यमशील बनाउने सरकारको भूमिका अनुभूत गर्ने वातावरण बन्नु पर्दछ ।