रोल्पाली नेता कुलप्रसाद केसी ‘सोनाम’ माओवादी वृत्तमा युवा परिचालन र संगठन विस्तारमा कुशल मानिन्छन्। एकीकृत अवस्थाबाट टुक्रिएर बनेको नेकपा-माओवादीका पोलिटब्युरो सदस्य रहेका उनी सुर्खेत आएका बेला स्थानीय एक व्यापारीको घरमा ‘पाहुना’ का रुपमा भेटिए। नेकपा-माओवादी सैन्य संरचना निर्माण गरेर ‘सशस्त्र विद्रोह’ मा अग्रसर भइरहेका बेला नागरिकका लागि कलेन्द्र सेजुवालले केससिँग गरेको कुराकानी :
‘माओवाद’ नै बोक्नु थियो भने किन अलग पार्टी जन्माउनुपर्यो?
यसमा वैचारिक र राजनीतिक कारण छन्। माओवादी पार्टी दुइटा छैनन्, बरु एउटा असली माओवादी र अर्को नक्कली माओवादी भनेर बुझ्दा उचित होला। एउटाचाहिँ सही विचार र राजनीतिक कार्यदिशासहितको माओवादी, अर्को राजनीतिक कार्यदिशाबाट विचलित माओवादी हो। जनयुद्धको अवसान गर्ने माओवादी र जनयुद्धको ऐतिहासिक उपलब्धि रक्षा गर्ने माओवादी। नेकपा-माओवादी र एकीकृत नेकपा माओवादीबीचको अन्तर नै यही हो।
तपाईं आबद्ध माओवादी त निर्वाचन आयोगमा दर्ता पनि भएको छैन, यस्तो स्थितिमा तपार्इंहरूको पार्टीको वैधानिकता के?
दर्ता कसका लागि गर्नुपर्यो? किन दर्ता गर्नुपर्यो? यो नेपाली जनताबाट अनुमोदित, अन्तर्राष्ट्रिय समुदायबाट अनुमोदित पार्टी हो। अहिले चुनाव चिह्न ल्याउने कुनै कुरा भएको छैन। घोषितरुपमा निर्वाचन आयोगलाई जानकारी दिइएको छ। दर्ता गरेर कोही मालिकलाई, चार दलका बुख्याचाका नेताहरुलाई ‘हामी नयाँ भयौँ हजुर’ भनेर फेरि दाम ढोगेर चढाउन जानु छैन। अर्को कुरा, नेकपा-माओवादी भन्ने कुरा जनतामा मात्र हैन, राष्ट्रिय-अन्तर्राष्ट्रिय सबै ठाउँमा स्थापित छ। यही नै हो दर्ता भनेको।
त्यसो भए अब चुनाव भइहाल्यो भने सहभागी नहुने?
चुनाव हुनु अर्कै कुरा हो। त्यसको कार्यविधि बन्ला, पुराना नियम/कानुनले धान्ने हो कि होइन? पार्टी हुनका लागि के-के कुराहरु पूरा गर्नुपर्ने, उपयुक्त लाग्यो भने दर्ता गर्ने त्यतिबेलाको कुरा हो। फेरि नेकपा-माओवादी त पहिले पनि दर्ता छ। बरु, एनेकपा माओवादी पो दर्ता भएको छैन। उसले पछि संगठित भएको सूचना दिएको हो नि।
कतै फेरि जुट्नलाई उस्तै नाम र दर्ता प्रक्रियामा नगएको हो कि?
वैचारिक/राजनीतिक कार्यदिशा मिल्ने भए फुट्नुपर्ने जरुरी थिएन। फेरि मिल्नका लागि हामीले उठाएको विचार र कार्यदिशा गलत हुनुपर्यो, या त उहाँहरुले भन्दै आएको राजनीतिक कार्यदिशा र कार्यनीति गलत हुनुपर्यो। एउटाको पुष्टि नभएसम्म अहिल्यै मिलिहाल्ने सवाल हुँदैन।
माग र कार्यदिशाको हिसावले तपाईंहरु २०५२ सालको अवस्थामा फर्किएको होइन?
हामी फर्किएको होइन। एकीकृत माओवादी विचलित भएका कारण यो कुरा स्मरण गराइएको हो। तेस्रो विस्तारित बैठकदेखि जुन कार्यदिशाद्वारा सशस्त्र संघर्षको अपिल गरियो, पछि त्यही संघर्षले ल्याएको उपलब्धिको समीक्षा र संश्लेषण नगरी सशस्त्र संघर्ष विसर्जन गरियो। प्रचण्ड पक्ष र प्रवृत्तिले त्यो सही थियो भने त्यसको उपलब्धि के हो भन्ने पनि पुष्टि गर्न सक्नुपर्छ, नत्र हिजोको संघर्ष यही संविधान सभाका लागि थियो भन्न सक्नुपर्छ।
संविधान सभा त सबैको माग हैन र?
नयाँ जनवादी गणतन्त्र स्थापना नभएसम्म कसैलाई कुनै पनि किसिमको दिग्भ्रम हुनुहुँदैन। जातीय वा क्षेत्रीय आन्दोलनमा गएर टुङ्ग्याइनुहुँदैन। तत्कालीन प्रतिबद्धताको ९ बुँदा हेर्नुभयो भने जनयुद्धभन्दा अघिका हाम्रा प्रतिबद्धतामा को अडियो र को विचलित भयो भन्ने स्पष्ट हुन्छ। त्यसबाटै असल र गलत माओवादी पहिचान पनि हुन्छ।
नेकपा-माओवादीले सैन्य संरचना निर्माण गरेर फेरि सशस्त्र संघर्ष गर्न लागेको हो?
सैन्य संरचना निर्माण गर्ने कि नगर्ने भन्ने देश, काल र परिस्थितिले निर्धारण गर्ने कुरा हो। सामाजिक अन्तरविरोध यही तरिकाले हल नहुने भइसकेपछि यसको विकल्पमा जस्तोसुकै संघर्ष, प्रतिरोध, जबर्जस्त गठन हुने कुरा हो। त्यो हाम्रो इच्छाले निर्धारण गर्ने कुरा होइन।