झापा ।
आगामी माघ ८ गतेबाट सञ्चालन हुने ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा सार्क राष्ट्रका व्यवसायीको सहभागिता रहने भएको छ ।
महोत्सव आयोजक मूल समितिका अध्यक्ष विशाल थापाले तीनै तहका सरकार (स्थानीय, प्रदेश, संघीय) को समेत समन्वयमा महोत्सव आयोजना गरिएको र महोत्सवमा सार्क राष्ट्रका व्यवसायीको सहभागिता रहने बताए ।
पूर्बकै व्यवसायी ‘हब’ झापालाई मान्ने गरिएको र त्यसमा पनि बिर्तामोडको महत्व अझ बढी रहेको भन्दै उनले बिर्तामोडमा आयोजना गर्न लागिएको महोत्सवले पूर्बी पहाडमा उत्पादन भएका वस्तुको समेत वजारीकरणमा सहयोग पुग्ने बताए ।
व्यवसायीको हितका लागि काम गर्दै आएको संघले यस अघिका वर्षमा पनि अन्तर्राष्ट्रिय व्यापार महोत्सवको आयोजना गर्दै आएको र यो महोत्सवले व्यवसाय प्रर्वद्धनसंँगै अर्थतन्त्रलाई चलायमान बनाउने संयोजक थापाको भनाइ छ । उनले एक लाख ५० हजार भन्दबढीले महोत्सवको अवलोकन गर्ने बताए । महोत्सव ११ दिन अर्थात माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा एक सय ५० वटा स्टल रहने बताइएको छ । जसमा एक सय १४ वटा ह्याङ्गर रहने संयोजक थापाको भनाइ छ ।
सबै ह्याङ्गर आधुनिक प्रविधिको रहने र अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिएका ब्लकलाई फिटिङ गरिने उनले बताए । हावाहुरी आउँदा समेत असर नपर्ने गरीका ह्याङ्गर महोत्सवमा रहने थापाको भनाइ छ ।
महोत्सवमा १४ वटा खानाका स्टल रहने छन् । जसमा सातवटा नन भेज र सात वटा भेज स्टल रहने छन् भने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका लागि समेत स्टल रहने बताइएको छ । वाल उद्यान, सहितको व्यवस्था महोत्सवमा रहने बताइएको छ ।