भद्रपुर ।
भद्रपुरमा आदिवासी राजवंशी समुदायको कुल देउता ग्राम महाराज (ग्रामथान) मन्दिर स्थापना हुने भएको छ । भद्रपुर नगरपालिका–२ स्थित बहु–सांस्कृतिक र बहु–धार्मिक स्थलको रुपमा परिचित संयुक्त धार्मिक स्थल कमलधाप समितिले जग्गा उपलब्ध गराएसँगै त्यहाँ राजवंशी समुदायले ग्रामथान मन्दिर स्थापना गर्न लागेको हो ।
आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान भद्रपुरको तेस्रो स्थापना दिवसको अवसरमा शनिबार कमलधापमा प्राप्त जग्गाको रेखाङ्कन गरी पिलर र ब्यानर गाडिएको प्रतिष्ठानका सचिव विवेक राजवंशीले जानकारी दिए ।
विभिन्न जातजातिको साझा स्थलको रूपमा रहेको कमलधाप सांस्कृतिक परिपूरकताको अनुपम उदाहरण हो । एउटै क्षेत्रमा राई, तामाङ, गुरूङ, लिम्बू, ब्राह्मण, क्षेत्री, मगर, थामी, सन्थाल, नेवार, भुजेल, सुनुवार लगायतका विभिन्न गुम्बा, मन्दिर तथा धार्मिक आस्थाका प्रतीकहरू रहेका छन् ।
कमलधापमा सबै जातजातिको धार्मिक प्रतीकहरू भए तापनि राजवंशी समुदायको केही नभएकोले त्यहाँ ग्रामथान मन्दिर बनाउन लागेको प्रतिष्ठानका सचिव राजवंशीको भनाइ छ ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष नन्दलाल राजवंशीको अध्यक्षतामा भएको स्थापना दिवसमा संयुक्त धार्मिक स्थल कमलधापमा अध्यक्ष मानु तामाङ, सचिव अरुण श्रेष्ठ, समितिका पूर्व अध्यक्ष पृथ्वीबहादुर कार्की, मगर संघका अध्यक्ष पूर्णबहादुर मगर, मगर संघका प्रदेश कमिटी सदस्य चेतन मगर, ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशी, ६ नम्बर वडाध्यक्ष रतिया राजवंशी लगायतका प्रतिष्ठानका पदाधिकारी तथा सल्लाहकार सदस्यहरूको सहभागिता रहेको प्रतिष्ठानका सदस्य सञ्जीवकुमार राजवंशीले जानकारी दिए ।