झापा, झापाको बिर्तामोडस्थित बुट्टाबारी युनाइटेड क्लबले ‘तेस्रो बुट्टाबारी च्यालेञ्ज कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले बिहीबार बुट्टाबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी फागुन २० गतेदेखि प्रतियोगिता आयोजना गर्ने जनाएको छ । क्लबका अध्यक्ष हिमाल कन्दङ्वाले कोशी प्रदेशका ८ टिमको प्रतियोगितामा सहभागिता रहने जानकारी दिए ।
प्रतियोगितामा आयोजक बुट्टाबारी युनाइटेड क्लब, गाईघाट युनाइटेड, बिराटनगर सिटी एफसी, न्यू स्टार क्लब सुनसरी, रेडबर्ष फु्टबल क्लब इलाम, लेटाङ फुटबल क्लब मोरङ, शनिश्चरे फु्टबल क्लब झापा र बगान युथ क्लब झापाको सहभागिता रहने क्लबका सचिव रविन राईले जानकारी दिए ।
प्रतियोगिताका बिजेताले २ लाख २ हजार २ सय २२ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैंयाँ, आकर्षक ट्रफी पाउने छन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई १५ हजार, उच्च गोलकर्तालाई १० हजार १००, राइजिङ प्लेयर १० हजार र बेस्ट गोलकिपरलाई १० हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने कन्दङवाले जानकारी दिए ।
प्रत्येक दिनको प्लेयर अफ द म्याचलाई ३ हजार रुपैंयाँ प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख ५० हजार रुपैंयाँको बजेट निर्माण गरिएको क्लबले जनाएको छ । यसअघि झापा जिल्लाका क्लबको सहभागितामा प्रतियोगिता आयोजना हुँदै आएकोमा यो बर्ष कोशी प्रदेशका क्लबलाई सहभागी बनाउने योजना अघि सारिएको कन्दङवाले जानकारी दिए ।
बिर्तामोड नगरपालिका–६ को हरियाली खेल मैदानमा हुने प्रतियोगिता आयोजनाका लागि वडा नम्बर ६ ले २ लाख तथा बिर्तामोड नगरपालिकाले २ लाख रुपैंयाँ प्रदान गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि अन्य रकम स्थानीय दाताबाट ब्यवस्थापन गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा विर्तामोड नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष सूर्य प्रसाद कन्दङ्वा , झापा जिल्ला फुटवल संघका अध्यष भगीरथ आले मामा लगायतको आतिथ्यता रहेको थियो ।