मोरङ,

‘प्रथम कोशी प्रदेश खेलकुद महोत्सव’ मङ्गलबारदेखि विराटनगरमा सुरु हुने भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही फागुन १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा प्रदेशका १४ जिल्लाका खेलाडीले विभिन्न ११ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो । प्रतियोगिताका खेलहरु मोरङ र झापामा खेलाइने छन् ।
प्रतियोगिताअन्तर्गत महिला फुटबल, एथलेटिक्स, कबड्डी, बाघचाल, टेबलटेनिस (महिला तथा पुरुष), कराते (महिला तथा पुरुष), तेक्वान्दो (महिला तथा पुरुष), सफ्ट टेनिस (महिला तथा पुरुष), मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल, डोरीतान प्रतियोगिता, बुद्धिचाल रहेका छन् ।
प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले कर्णाली प्रदेशमा आगामी चैत २३ गतेदेखि हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बढीभन्दा बढी पदक जित्नु तथा अन्तरराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १४ जिल्लाका खेलाडी समावेश हुने उक्त महोत्सवले प्रदेशमा रहेको खेलको शून्यतालाई अन्त्य गर्न योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले प्रदेशमा खेलको प्रवर्द्धन र पहिचान कायम राख्न महोत्सव उपयोगी हुने बताउनुभयो । महोत्सवको उद्घाटन र समापन विराटनगरको सहिद रङशालामा हुने बताइएको छ ।































