फागुन मासको कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइने महाशिवरात्री पर्व देवादिदेव महादेवको पूजा, अर्चना उपवास, जागरण र भजन किर्तनमा समर्पित छ । हिन्दू धर्मशास्त्रमा उल्लेख भए अनुसार माता पार्वती र भगवान शिवको शुभ विवाह भएको महाशिवरात्रीको दिनलाई भगवान शिव र आदिशक्ति पार्वतीको दिव्य शक्तिहरु एक भएको खुशियालीमा धुमधामले मनाइन्छ । शिवको उत्पतिको नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, शुखरात्री, शिवरात्री चार रात्री मध्येको प्रमुख पर्व हो ।
महाशिवरात्री पर्व महादेवको शक्ति स्वरुप अग्निलिङ्ग उत्पती भएको दिन भएकोले महादेव शिवको प्राकट्य दिवसको रुपमा पनि मनाइन्छ । समुद्र मन्थनको समयमा निस्किएको हलाहल कालकुट बिष महादेवले सेवन गरी आफ्नो घाटिमा राखेर संसारलाई बिनास हुनबाट बचाउनुभएको दिन पनि आजै हो भन्ने मान्यता छ । भनिन्छ, सतिदेवीको देहावसान पछि शोकाकुल भोलेनाथले तान्डव नृत्य गर्नुभएको रातलाई शिव रात्रीको रुपमा चिनिन्छ ।
हिन्दू धर्मावलम्बीको आस्था र विश्वासको केन्द्र शिवरात्री पर्व एक वर्षमा १२ वटा पर्दछन्, जसमा सबैभन्दा प्रमुख महाशिवरात्री हो । भगवान शिवलाई महादेव, शंकर, शशिशेखर, त्रिलोकेश्वर आदिबाट चिनिन्छ । अति छिट्टै खुशी हुने र सोझो हुनाले शिवलाई आशुतोष भगवान र बाबा भोलेनाथ पनि भनिन्छ । हलाहल बिषको सेवनको उहाँको कण्ठ निलो हुन गएकोले निलकण्ठ भनिन्छ । कैलाशमा बाँस गर्ने, बाघको छालाको लुगा, सर्पको गहना लगाउने, मसानमा बाँस गर्ने, त्रिशूल लिएर डमरू बजाउने, भुत, प्रेत पिशाच र आफ्नो गणहरु अघि–पछि लगाएर साढेमा सवार हुने भगवान भोलेनाथ देवताको पनि देवता हुनुहुन्छ ।
दक्ष प्रजापतिकी पुत्री सतिदेवीको महादेवले छलपूर्वक विवाह हुन्छ । एकदिन दक्ष प्रजापतिले यज्ञको आयोजना गर्नुहुन्छ, जसमा महादेव र सतिदेवी बाहेक सबैलाई बोलाइन्छ । नारदमुनिबाट प्राप्त सूचना अनुसार नबोलाइए पनि सतिदेवी आफ्ना पितामाताको यज्ञ स्थानमा पुग्नुहुन्छ जहाँ आफ्नै पिता दक्षले आफ्ना स्वामी महादेवलाई नानाथरी भनी अपमान गरेको सहन गर्न नसकी अग्निमा हाम फाली देहत्याग गर्नुहुन्छ ।
सतिदेवीकी बियोगमा ततपश्चात महादेव सांसारिक मोह त्यागेर बैराग्य जीवन व्यतित गर्दै ध्यानमा लिन हुनुहुन्छ । सतिदेवीको पुर्नजन्म हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा हुन्छ भने महादेव स्वामी पाउन माता पार्वतीले कठोर तपस्या गर्नुहुन्छ । देवताहरुको उपदेश र माता पार्वतीको भक्तिको प्रभावले महादेव हजारौं वर्षपछि ध्यानबाट मुक्त भइ सांसारिक जीवनमा फर्कनु हुन्छ । र, धुमधामका साथ महादेव र पार्वतीको विवाह हुन्छ । तत्पश्चात मात्र सृष्टि स्थिति सुचारु भएको मान्यता छ ।
महाशिवरात्री पर्व शिवजीले बैराग्य त्यागेर गृहस्थ जीवनमा प्रवेश गरेको दिन अनि माता पार्वती र भोलेनाथको शुभ विवाह भएको दिनको रुपमा वर्णित छ । भगवान शिवको निराकारबाट साकार रुप भएको उपलक्ष्यमा शिवको तान्डव नृत्यको उपासना शक्तिको रुपमा शिवलिङ्ग प्रकट भएको उपलक्ष्यमा पनि यो पर्व मनाइन्छ । धर्मप्रेमीहरु भगवान भोलेनाथको आराधना र पूजन विधिविधानका साथ गर्दछन् र आशीर्वाद प्राप्त गर्दछन् । आज शिव मन्दिरहरुमा ठूलो संख्यामा भक्तजनको भिड लाग्दछ ।
शास्त्रमा वर्णन गरिएको छ कि देवता र दानवबीच भएको समुद्र मन्थनको क्रममा जब हलाहल बीस निस्कियो तब हाहाकार मच्चियो । किनकि त्यसले ब्रह्माण्ड नष्ट गर्ने क्षमता राख्थ्यो । सबै देवताहरुको आह्वानमा भगवान शिवले त्यस बीसलाई निल्नु भयो र आफ्नो कण्ठमा राख्नुभयो । अत्यन्त शक्तिशाली त्यस कालकुट बिषको प्रभावले भगवान भोलेनाथको कण्ठ निलो हुन गयो भने बिषको दर्दले महादेव पीडित हुनुभयो । शिवजीलाई आनन्दित बनाउन रातभर देवताहरुले नृत्य र संगीत बजाउनुभयो भने कतिले चिसो जलधारा प्रवाह गर्नुभयो ।
यसरी कालकुट बिसको बिनासबाट संसारलाई बचाउनुभएको प्रसङ्गबाट शिवरात्रीमा जाग्राम बस्ने र भजनकिर्तन गर्ने प्रचलन छ । ब्रम्हाको रुद्र रुपमा मध्य रात्रीमा भगवान शिव प्रकट हुनुभएको थियो र यही दिन तान्डव गरेर आफ्नो तेस्रो नेत्र खोल्नुभएको थियो । त्यही नेत्रको ज्वालाले संसार भष्म गर्नुभएको थियो भन्ने प्रसङ्ग शिवपुराणमा पढ्न पाइन्छ । आजको दिन कुनै न कुनै रुपमा महादेव पृथ्वीलोकमा उपस्थित हुनुहुन्छ र आज गरिएको उपवास, जागरण र पूजनले मानव शरीरमा सुस्वास्थ्य, दिर्घायु र आरोग्यता प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।
शिवरात्रीको विषयमा अर्को प्रसङ्ग छ कि– सृष्टिको शुरुवातमा ब्रम्हाजी र विष्णुजीको बीचमा को शक्तिशाली भन्ने विषयमा बहस शुरु भयो । धेरै समयसम्म कायम शक्तिको यस विवादको कुनै निचोड आएन । एकदिन दुबैको बीचमा अग्निको विशाल स्तम्भ आकारको आकृती देखाप¥यो जसको शुरु र अन्त्य पत्ता लगाउन सम्भव थिएन ।
बिष्णुुजीले कछुवाको रुप धारण गरी समुद्रमा जानुभयो भने ब्रम्हाजीले पंक्षी रुप धारण गरी आकाशमा गएर विशाल आकृतिको शुरु र अन्त्य पत्ता लगाउन हरसम्भव प्रयास गर्नुभयो । अन्त्यमा दुबैले प्राथना गरी आफ्नो स्वरुप दर्शन दिनका लागि अनुरोध गर्दा त्यस अग्निको ज्वालाबाट महादेव प्रकट हुनुभयो र आफ्नो ज्योर्तिलिङ्गको दर्शन दिनुभयो । महादेवको शक्ति तेज र विशलता अघि ब्रम्हाजी र बिष्णुजी बीचको शक्तिको होडबाजी समाप्त भएको यश पावन पर्व शिवरात्री थियो ।
विज्ञानका अनुसार पनि शिवरात्रीमा ग्रहको स्थिती विशेष प्रकारको हुने भएकोले मानव प्रजातिमा ऊर्जाको एक शक्तिशाली प्राकृतिक लहर बन्न जान्छ । जसले भौतिक र आध्यात्मिक रुपमा लाभ प्रदान गर्दछ । वैज्ञानिक तथ्य छ कि आज पृथ्वीको उत्तरी धु्रव यस्तो तरिकाले रहन्छन् कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्व आकर्षणको असाधारण प्रभाव रहन जाने प्रमाणित छ । यसै शक्ति, आकर्षण र जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई रातभरी जाग्राम गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अत्यन्त कमजोर हुन्छन् । भगवान शिवले चन्द्रमालाई आफ्नो निधारमा धारण गर्नुभएको थियो । त्यसैले भगवान शिवको पूजा उपासनाले व्यक्तिको चन्द्रमा मजबुत हुन्छ र इच्छा शक्ति दृढ़ भई अदम्य साहसको सञ्चार हुन्छ । यस दिनमा श्रद्धापूर्वक रुद्राभिषेक, महामृत्युञ्जय जाप शिव चालिसा पाठ र ॐ नम शिवाय को मन्त्रोउच्चारणले विशेष फलको प्राप्ती भई मनोकामना पूर्ण हुन्छ भन्ने मान्यता छ ।
राजधानी काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर हिन्दुहरुको अत्यन्त पवित्र तिर्थस्थल मानिन्छ । भारत लगायत विश्वका विभिन्न स्थानबाट ठूलो संख्यामा तिर्थालुहरुको उपस्तिथि देख्न पाइन्छ । सम्पूर्ण शिव मन्दिरहरुमा आज महादेवको पूजा गरिन्छ र रात्रीमा आगो÷धुनि बालेर जाग्राम गरिन्छ साथै भोलेनाथको प्रिय प्रसादको रुपमा भाङ पनि सेवन गर्ने गरेको पाइन्छ । रात्रीको चार प्रहरमा शिबलिङ्गको अभिषेक दूध, दही, मह, घ्यू र गंगाजलले गरिन्छ । बेलपत्र धतुरो अबिर गुलाल अर्पित गरिन्छ ।
शिवरात्रीमा महिलाहरु आफ्नो पति र परिवारको सुखी जीवनको मंगल कामना गर्छन् भने अविवाहितहरु आदर्श पतिको रुपमा भगवान भोलेनाथ जस्तो पतिको कामना गर्दछन् । महाशिवरात्रीको दिन सम्पूर्ण दिनदुखी र कष्ट पूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिव र शक्ति स्वरुपा माता पार्वतीको पूजा, आराधना, स्मरण र जपध्यानले पाप मोक्ष भई मृत्युपश्चात् कैलाश पद पाइन्छ भन्ने विश्वास गरिन्छ ।