अर्जुनधारा, “समग्र झापाको विकासका लागि हामी झापाली” भन्ने मुख्य नारासहित सन् २०१५मा स्थापना भएको झापाली समाज इजरायलले अर्जुनधारा नगरपालिकाका अपाङ्गता भएका व्यक्तित्वहरुलाई बिहीबार सहायता सामग्री उपलब्ध गराएको छ ।

अर्जुनधारा–८स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयोजनमा नेपालीहरुको साझा पर्व होलीको अवसरमा आयोजित कार्यक्रममा आठ जना व्यक्तित्वलाई उक्त सामग्री उपलब्ध गराएको हो ।
समाजले “जन्मदिनको उपहार सामाजिक कार्यमा” भन्ने अभियानमार्फत् ठाकुरसिंह गुरुङलाई एक थान व्हील चेयर, थर्के धिमाललाई एक थान वाकर, केवल बाँनियालाई एक थान वैशाखी, गंगाराम कुरुम्वाङलाई एक थान वैशाखी, मिलन दाहाललाई एक थान वैशाखी, लीलाजंग थापालाई एक थान वैशाखी, मानकुमार श्रेष्ठलाई एक थान सेतो छडी र पवन अधिकारीलाई एक थान एयर कुशन उपलब्ध गराएको छ ।
फागुन महिनामा समाजकी अध्यक्ष मुना सिटौला अधिकारी, सह–कोषाध्यक्ष मदन आचार्य, महिला विभाग प्रमुख जानुका चापागाईं, युवा संयोजक तथा कार्यक्रम संयोजक विज्ञान नेपाल, सदस्यद्वय राजिप कठेत र विशेष डाँगीको जन्मदिन परेको बताइएको छ ।
समाजका अभिभावक भीमबहादुर कठेतको अध्यक्षता र अर्का अभिभावक पर्शुराम कठेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरिएको थियो । प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष डिल्ली घोर्साईंले स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष दीपेन्द्र काफ्लेले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन् ।
सोही कार्यक्रममा अर्जुनधारा–९ निवासी रामप्रसाद सापकोटाले पनि संस्थालाई एक थान व्हील चेयर उपलब्ध गराएको छ । उक्त व्हील चेयर संस्थाका अध्यक्ष घोर्साईंलाई दाता सापकोटाले हस्तान्तरण गरेका थिए ।