झिलझिलेमा राजावादीहरूको मसाल जुलुस, प्रहरी बन्यो मुकदर्शक

0
92

झिलझिले ।

सोमबार साँझ झापाको झिलझिलेमा राजावादीहरूले मुलुकका प्रधानमन्त्री तथा सरकारविरुद्ध मसाल जुलुससहित चर्को नाराबाजी गरेका छन् । झिलझिले बजारको दक्षिणी क्षेत्रबाट सुरु भएको करिब ३०–३५ जना राजावादीहरूको जुलुसमा प्रहरीले कुनै हस्तक्षेप गर्न सकेन । राजाबादीले गणतन्त्र विरुद्ध नाराबाजी गरिरहँदा प्रहरी मुकदर्शक थिए ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केपी चोर देश छोड, गणतन्त्र धोका हो, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आउ, देश बचाउ, नेपाल सरकार मुर्दाबाद, गणतन्त्र मुर्दाबाद जस्ता नाराहरू लगाउँदै झिलझिलेको न्युरोड हुँदै इलाका प्रहरी कार्यालयअगाडि पुगेर प्रदर्शन गरेका थिए । मसालसहितको जुलुस अघि बढे पनि प्रहरीले हस्तक्षेप गर्ने कुनै प्रयास गरेन ।

प्रदर्शनस्थलमा खटिएका सुरक्षाकर्मीहरू प्रदर्शनकारीकै सङ्ख्यामा थिए । उनीहरू एक हातमा डन्डा, अर्को हातमा प्लास्टिकको सुरक्षा कवच (शील्ड) र टाउकोमा हेल्मेट लगाएर तैनाथ थिए । तर, राजावादीहरूले खुलेआम नाराबाजी गर्दा समेत प्रहरीले उनीहरूको हातबाट मसाल खोस्ने कुन आँट गरेन । बरु केही सुरक्षाकर्मीहरू मोबाइल निकालेर भिडिओ तथा फोटो खिच्नमै व्यस्त देखिए ।

प्रदर्शनको केही समयपछि आन्दोलनकारीहरूले आफैंले मसाल सडक किनारमा फालिदिए । उनीहरूले १५ गते काठमाडौँमा भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताहरूको निशर्त रिहाइको माग पनि गरेका छन् ।

देशका विभिन्न भागमा राजसंस्थाको समर्थनमा राजाबादीहरुले नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् । झिलझिलेमा राजाबादीहरुको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्थामा स्थानियबासीले प्रश्न उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here