झापा, झापाको बिर्तामोडमा संजिवनी इन्भेष्टमेण्ट कम्पनी स्थापना भएको छ । कम्पनीको उद्घाटन शनिवार कोशी प्रदेश सरकारका खानेपानी तथा सिंचाई मन्त्री एकराज कार्कीले गर्ने भएका छन् ।
विभिन्न क्षेत्रमा आबद्ध ११४ जनाले लगानी गर्दै बिर्तामोड – ४ मा यो कम्पनी स्थापना गरेका हुन् ।
कम्पनीको मुख्य कार्यालय बिर्तामोड ४ स्थित भद्रपुर रोडमा रहेको कम्पनीका अध्यक्ष याम कुमार चुडालले जानकारी दिए । कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा गत २०८१ असोज २२ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनीका अध्यक्ष चुडालले जानकारी दिए ।
कम्पनी समुद्घाटनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको जानकारी दिइयो ।
आगामी वर्षहरुमा राइट शेयर र आईपीओमार्फत कम्पनीको पूँजी वृद्धि गरिदै लैजाने र कम्पनीलाई सवल र सक्षम बनाई पुर्वको एक स्थापित कम्पनीको रुपमा स्थापना गर्न कम्पनीले विभिन्न उद्देश्य लिएको उनले जानकारी दिए ।
बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनीले बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य
मुनाफामूलक क्षेत्र, जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरु, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरुमा लगानी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, शैक्षिक, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवद्र्धन लगायतका क्षेत्रहरु, विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने, विभिन्न संघ, संस्था, कम्पनी तथा अन्य संगठीत संस्थाहरुले माग गर्ने वोलपत्रमा सहभागी भई ठेक्का पट्टाको कार्य गर्ने आदि कम्पनीको उद्धेश्य रहेको सञ्चालक सदस्य मिलन कोइरालाले जानकारी दिए ।
कम्पनीका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कम्पनी सचिव दिनेशकुमार सुवेदीले सञ्चालन गरेका थिए ।