ओएसिस एकाडेमीमा विद्यार्थीलाई सम्मान

0
61

शिवसताक्षी।

शिवसताक्षीको ग्रामीण क्षेत्रमा अवस्थित ओएसिस एकाडेमीमा आजको दिन एउटा विशेष उत्सवजस्तै रह्यो । २०८१ सालको परीक्षामा होल फस्ट भएका विद्यार्थीहरूलाई पुरस्कार र सम्मान गरिँदा विद्यालय हाता उत्साह र उल्लासले भरिएको देखिन्थ्यो । कहिल्यै विद्यालय नआउने अभिभावक पनि आज विद्यालयमा आएको शिक्षकले बताए ।

विद्यालय परिसरमै आयोजित कार्यक्रममा ओएसिस एकाडेमीका प्रिन्सिपल उदय प्रकाश राईले परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार र सम्मान गरे । नर्सरी देखि कक्षा ७ सम्मका हरेक कक्षाबाट टप थ्रीमा पर्ने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । पुरस्कार स्वरूप विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्रीहरू पाए ।

कार्यक्रममा सहभागी करिब तीन सय अभिभावकलाई विद्यालयले सेल रोटीको नास्ता दियो । रोटिको स्वाद र माहोल यस्तो थियो कि अधिकांश अभिभावकले “तिहारको झल्को आयो“ भन्दै प्रतिक्रिया जनाए ।

कार्यक्रममा झिलझिले माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भीमप्रसाद भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी थिए भने सोही विद्यालयका शिक्षक प्रेमवहादुर खड्काको सहभागिता थियो । कार्यक्रममा सहभागि सबैलाई स्वागत मन्तव्य मिना राईले दिएकी थिइन् । कार्यक्रमको सञ्चालन औएसिस एकाडेमीका शिक्षक राजेश खड्काले गरेका थिए ।
विद्यालयका प्रिन्सिपल राईले आगामी शैक्षिक सत्र २०८२ देखि विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीको दुर्घटना बीमा लागू गरिने बताए । अभिभावकहरूसँगको सहमतिमा “डेबोडर्स” सञ्चालन गरिने, बिहान बेलुकाको अतिरिक्त कक्षा चलाइने र कक्षा ५ देखि माथि अध्ययन गर्ने विद्यार्थीलाई सिलाई–कटाईको तालिमसमेत दिने योजना सुनाउँदा अभिभावकले तालि बजाएर प्रिन्सिपल राईको भनाईलाई समर्थन जनाए ।

व्यावहारिक शिक्षा, खेलकुद र अन्य अतिरिक्त गतिविधिमा समेत विद्यालयले विशेष जोड दिने र अबदेखि पूर्वप्राथमिक तहदेखि नै अभ्यास गराइने विद्यालय प्रशासनले जानकारी दियो ।


विद्यालय सञ्चालनको जिम्मा दुई वर्षअघि शिक्षासेवी उदय प्रकाश राईले लिँदा विद्यालयको स्वरूप नै फेरिएको अभिभावकहरूको भनाइ छ । पहिले हिलाम्मे मैदान र चुहिने छानाले हैरान भएका विद्यार्थी र अभिभावक अहिले कंक्रिट टायल र स्तरीय जस्तापाताको छानाले ढुक्क भएको बताउँछन् ।

कार्यक्रममा झिलझिले माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर खड्का, पत्रकार विनोद सापकोटा र अभिभावक डिल्लीराम अधिकारीले पनि बोलेका थिए । शैक्षिक गुणस्तर सुधारको लहरसँगै ओएसिस एकाडेमी अब ग्रामीण क्षेत्रकै एक उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै गएको संकेत आफुहरुले पाएको अभिभावकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here