लोकतन्त्र दिवसको सान्दर्भिकता !

0
20

आज बैशाख ११ गते । आजको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालेको पनि डेढ दशक नाघिसक्यो । शासन व्यवस्थाको उन्नत रुपलाई नै लोकतन्त्र भनिएको छ । यस्तो लोकतन्त्र भनेको जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले जनताको, देशको सर्वाङ्गीण भलाइ र विकासका लागि सञ्चालन गर्ने शासन व्यवस्था हो । जनताको लामो संघर्षपछि एकतन्त्रीय, जहानीया राणा शासनको अन्त्य भएको दिन अर्थात् फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाउन थालिएको नेपालमा तद्उपरान्त भएका आन्दोलनहरुले बहुदलीय शासन पद्धति हुँदै परम्परादेखि शासन गर्दै आएको राजतन्त्रको अन्त्य भई जनप्रतिनिधिद्वारा सत्ता सञ्चालन गरेको दिनलाई लोकतन्त्र दिवसका रुपमा मान्न थालिएको हो । शब्दजाल वा शब्दावलीमा लोकतन्त्र, गणतन्त्र वा प्रजातन्त्र जे भनिए पनि सारमा ती सबै शब्दले जनताले वैधानिकरुपले छनौट गरेका आफ्ना प्रतिनिधिद्वारा जनइच्छा अनुरुप सञ्चालन गर्ने शासन पद्धति नै हो ।

नेपालको सन्दर्भमा पनि त्यही आकांक्षा अनुरुप पटक–पटक जनताले संघर्ष गरेका छन् । त्यसक्रममा कतिले शहादत समेत प्राप्त गरे । राणाहरुको १०४ वर्षीय पारिवारिक शासनविरुद्ध तत्कालीन राजा त्रिभुवन समेतको सहभागितामा सञ्चालन गरेको आन्दोलनले राणाहरुलाई विस्थापित गरेको थियो । जनताको संघर्ष र बलिदानबाट प्राप्त प्रजातान्त्रिक शासन व्यवस्था तथा त्यसको प्रतिफल २०१७ सालमा फेरि अपहरणमा प¥यो । निर्दलीय पञ्चायत व्यवस्थाको सूत्रपात भयो, जसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार ग¥यो, विकासका पूर्वाधारहरु पनि निर्माण भए । तर, जनताको स्वतन्त्रता र आत्मसम्मानको जगेर्ना हुने अवस्था नभएपछि वि. सं. २०४६ सालको जनआन्दोलन मार्फत फेरि जनता आन्दोलित भए ।

जनआन्दोलनले समेत जनभावना, चाहना र आकांक्षा पूरा गर्न नसकेपछि भएको २०६२÷०६३ को आन्दोलनले तत्कालीन शासन व्यवस्थाको अन्त्य गरी लोकतन्त्रको स्थापना ग¥यो । त्यही आन्दोलनको जगमा विघठित प्रतिनिधिसभा पुनस्र्थापित भयो, जनताद्वारा निर्वाचित संविधानसभा मार्फत संविधान निर्माण गरियो । त्यही संविधानलाई स्थायित्व प्रदान गर्ने क्रममा बितेका वर्षहरुको तुलना गर्न थालिएको छ । यद्यपि नयाँ शासन व्यवस्थाले पनि जनभावनाको सम्मान गरेको छैन । भ्रष्टाचार झन् बढेको छ, सार्वजनिक सेवाको प्रवाह झन खुम्चिएको छ, संवैधानिक अङ्गमाथि राजनीतिक हस्तक्षेप बढेको छ । परिणाममा लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन थालेको छ । राज्य सञ्चालनमा घट्दो संवेदनशीलता, सत्ता मोह र भ्रष्ट आचरण फेरि पनि जनविद्रोहको कारण नबनियोस् त्यसतर्फ मुख्य राजनीतिक दलहरु गम्भीर हुनैपर्छ । अनि मात्र लोकतन्त्र दिवसको सान्दर्भकिता पुष्टि हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here