झापा, रोजगार युवालाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न विदेश लैजाने भन्दै मोटो रकम असुलेर ठगी गर्ने क्रम बढ्दो छ ।
ठगीमा संलग्नहरुलाई प्रहरीले दिनहुँ झै पक्राउ गरे पनि यो क्रम रोकिएको छैन । बैदेशिक रोजगारीमा जानेहरुको संख्या बृद्धिसँगै ठगिनेहरुको संख्या पनि बढ्दो रहेको देखिन्छ । विदेश पठाउने मेनपावर कम्पनीको एजेन्ट बनेर त कतै मेनपावरको बोर्ड राखेर अवैधानिक ढंगले सञ्चालन भएका मेनपावरहरुबाट सर्वसाधारण ठगिने क्रम बढ्दो रहेको देखिन्छ ।
ठगी गर्नेहरुले पैसा लिएपछि सम्पर्कविहीन हुने गरेको र पीडितलाई लामो समयदेखि दुःख दिने गरेको पाइएको छ । यसैबीच दुई जनालाई अजरबैजान पठाइदिन्छु भनी ६ लाख रुपैयाँ ठगेर फरार २२ बर्षीय अनिल देवकोटा पक्राउ परेका छन् । गोर्खाको अजिरकोट–४ घर भई काठमाडौं–१६ बस्दै आएका उनले विदेश पठाउने भनी धेरै युवालाई ठगेको प्रहरीले जनाएको छ । हाल उनलाई अनुसन्धान र कार्वाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै एक व्यक्तिलाई सर्विया पठाइदिन्छु भनी छ लाख ५० हजार रुपैयाँ ठगेर फरार रहेका सिराहाको मिर्चैया–६ घर भई काठमाडौं किर्तिपुर–५ बस्ने २४ बर्षीय राजेशकुमार महरालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै अर्का एक व्यक्तिबाट युएई पठाइदिन्छु भनी तीन लाख ३० हजार ठगी गर्ने पद्मा शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी अछामको तुर्माखाद–८ घर भई ललितपुर–१७मा बस्दै आएकी थिइन् । अमेरिका जाने भन्दै ठगीमा पर्नेहरुको संख्या पनि बढ्दो छ ।
अमेरिका लगेर आकर्षक रोजगारी दिन्छु भनी ९२ लाख रुपैयाँ ठगेर फरार रहेका ३८ बर्षीय आदर्श केसीलाई प्रहरीले पक्राउ गरेको छ । रुकुमपश्चिम बाफिकोट–१३ घर भई काठमाडौं टोखा–४मा बस्दै आएका उनलाई काठमाडौंमै प्रहरीले पक्राउ गरेको हो । त्यस्तै युरोपको माल्टा पठाइदिन्छु भनी दुई जनाबाट चार लाख रुपैयाँ ठगी गर्ने ललितपुरको गोदाबरी–३ बस्ने २७ बर्षीया बिनीता पुरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । फ्रान्स पठाइदिन्छु भनी एक जनाबाट आठ लाख ठगी गर्ने ३८ बर्षीय इन्द्रकुमार रोकायालाई समेत प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रुकुमपश्चिम आठविसकोट–७का रोकाया भक्तपुरको जगातीमा बस्दै आएका थिए । त्यस्तै माल्टा पठाइदिन्छु भनी दुई जनाबाट १२ लाख आठ हजार ठगेर फरार ३२ बर्षीया तारा गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक चौरी देउराली– ६ घर भई ललितपुरको गोदावरी–३मा बस्दै आएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका सबै जना उपर अनुसन्धान भइरहेको बताइएको छ । उता कम्बोडिया पु¥याएर साइबर दास बनाउने गिरोहका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका २२ वर्षीय सन्देश शाही छन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले रातोपुलबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई कम्बोडियामा मासिक डेढ लाख रुपैयाँ कमाई हुने भन्दै त्यहाँ पु¥याएर साइबर दास बनाएको आरोप छ । परिवर्तित नाम २६ बबरमहल ३८४ लाई उनले काठमाडौंबाट नेपालगञ्जको नाका हुँदै भारतको लखनउबाट मलेशिया पु¥याएको र त्यहाँबाट कम्बोडिया लगेर साइबर दास बनाएको आरोप छ ।
कम्बोडिया पु¥याएपछि चिनियाँले सञ्चालन गरेको अवैध कम्पनीमा बन्धक बनाई क्रिप्टो करेन्सी कारोबारमा लगाउनुका साथै अनलाइन ठगीमा समेत लगाएको पाइएको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरले बताए । ती व्यक्तिलाई केटीको रुपमा प्रस्तुत गराएर एक महिनामा २० लाख भारु ठगी गर्नुपर्ने टार्गेट दिइएको र काम नगरे यातना समेत दिइएको बताइएको छ ।
पक्राउ परेका शाहीबिरुद्ध मानव बेचबिखनको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।