सुरेन्द्र भण्डारी
झापा, झापाको बिर्तामोड–५ स्थित कृषिथोक रोड । तराईमूलका जस्ता देखिने केही महिला र केही तन्नेरीहरु यही रोडमा दिनहुँ बढार्दै गरेका भेटिन्छन् ।
मानिसको चहल–पहल हुनुभन्दा अगाडि नै उनीहरुले यो रोड बढारी सक्छन् । एकाबिहानै ब्रस नै लगाएर मसिनो गरी धुलो बढार्दै गरेको दृष्य हिँड्नेहरुले देख्छन् तर, उनीहरु को हुन् र किन यसरी दिनहुँ बाटो बढार्छन् कसैले हेक्का राखेका हुँदैनन् । बाटो बढार्दै गरेको पहिलोपटक देख्नेहरुले त झन् पसलेहरुले राखेको सफाई कर्मचारी भएको अनुमान लगाउँछन् ।
तर, उनीहरु न पसलेले राखेका सफाई कर्मचारी हुन् न त नगरका कर्मचारी नै । अखिर किन बढार्छन् त उनीहरुले यसरी दिनहुँ बाटो ? अनि सडकको मसिनो धुलो पनि किन उठाएका होलान् देख्ने जो कोहीलाई पनि लाग्न सक्छ । तर, सडकको यही धुलोमा सुनको सपना देख्ने भारतपश्चिम वंगालका नागरिक दिनहुँ सुन भेटिने आशामा सडक बढार्छन् ।
कृषिथोक रोड आसपासमा यहाँ केही सुन पसल पनि छन् । ग्रेस, दुर्गा भगवती इम्पेक्स शेरावली, हाम्रो ताप्लेजुङ, सुकर्म , न्यू मनकामना आदि ज्वेलर्स यहाँ सञ्चालित छन् । तिनै सुन पसलेले सडकमा मिल्काएको फोहोरमा उनीहरु सुन र चाँदीका स–साना टुक्रा भेटिने आशामा दिनहुँ पसलको बाहिरदेखि सडकसम्म नै बढार्छन् ।
बाटोमा रहेको धुलो बढारेर जम्मा पारिएको धुलो पखाल्दा सुन र चाँदी फेला पर्ने गरेकाले आफूहरुले वर्षाैदेखि यही काम गर्दै आएको भारतको पश्चिम बंगालस्थित शिलगढीकी जशोदा भिम्से बताउँछिन् । नाति र नातिनी बुहारीलाई लिएर आएकी उनी एकाबिहानै कृषि थोक रोडमा सडक बढार्दै गरेको अवस्थामा भेटिइन् । निक्कै उत्साहका साथ ब्रस लगाएर सडकको धुलो बढार्दै गरेकी उनले हामीसंगको कुराकानीका क्रममा तीन पुस्तादेखि आफूहरु यही काममा रहेको सुनाइन् । पहिला हजुरबा–हजुरआमाले वुवा–आमासँगै हामीलाई पनि सुन खोज्न ल्याउनुभयो । पछि आमावुवासंग आउन थाल्यांै, अहिले छोराछोरी र नाति नातिना पनि हामीसंगै सुन खोज्न आउँछन्– उनले उत्साहका साथ भनिन्– हाम्रो परिवार मात्र होइन सिलगढीबाट यहाँ सुन खोज्न आउने धेरैको परिवार यसरी नै चलेको छ । सुन खोज्ने हाम्रो पुख्र्यौली पेशा हो– उनले थपिन – मसँग अहिले नाति कृष्ण र बुहारी पनि संगै आएका छन् । हामीसबै जना मिलेर जम्मा पारेको धुलो पानीले पखाल्छौं र फेला परेका सुन र चाँदीका टुक्रा बेचेर जीवन निर्बाह गर्छाैं ।
बिर्तामोडमा रहेको सुन मार्केटसहित सुन पसल बरीपरि सबैतिर हामी बढार्दै सुन खोज्छौं– उनले भनिन् – हामी यहाँ मात्र होइन सुन खोज्नकै लागि हरेक सोमवार धरान पनि पुग्ने गरेका छौं । धरानमा सोमवार बजार बन्द हुन्छ । बिर्तामोड पनि सोमवार नै बन्द हुन्छ । हामी बाँडिएर काम गर्छाैं– उनले भनिन्– हाम्रो टिम सल्लाह गरेर कहिले यता हुन्छ, त कहिले उता जान्छ । एकाबिहानै सडकको धुलो बढार्दै गरेको धेरैले देख्छन् तर, हामी उनीहरुलाई वास्ता गर्दैनौं– हजुरआमासंगै सुन खोज्न बिर्तामोड आइपुगेका कृष्णले भने– हामीलाई कसले हेरेको छ, कस्ले छैन त्यसको पर्वाह हुँदैन । मनमा चाँहि हुन्छ, आज सुन कति भेटिन्छ ? धुलो बढार्ने क्रममा दिनमा एक जनाले पाँच आनासम्म सुन, चाँदी फेला पार्ने गरेको उनको भनाइ छ ।
सुन खोज्नकै लागि आफूहरु बिर्तामोडसहित सुरुङ्गा, बिराटनगर, इटहरी, दुहवी, लाहान, धरानसम्म पुग्ने गरेको उनी बताउँछन् । बिर्तामोडको सडक र आसपासका सुन पसल अगाडि बढारिएको धुलोमा सुन खोज्ने जशोदा र कृष्ण प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता धेरैले यही पेशालाई अंगालेर जिवीकोपार्जन गर्नुले पनि धुलोमा सुन भेटिँदो रहेछ भन्ने सावित हुन्छ ।
कर्णाली, विष्णुमती सहित नेपालका धेरै खोलानालामा सुन खोज्ने महिलाहरुको चुनौति र संघर्षपूर्ण कथा सुनिँदै आए पनि आफ्नै ठाउँ वरिपरि मेहनत गरेर सुन जम्मा गर्ने भारतीय नागरिकहरुले दिनहुँ राम्रो आम्दानी गरिरहेका छन् । झट्ट सुन्दा धुलो बढार्दा पनि सुन भेटिन्छ र ? अपत्यारिलो लाग्न सक्छ । तर, सुन पसलमा टुक्रिएको सुनचाँदीका टुक्रा धुलोमा मिसिने गरेका छन् । सुन पसलेले फोहोरका रुपमा सडकमा मिल्काएको त्यही बस्तुलाई एकीकृत गर्दै सुन खोज्नु हामीलाई चुनौतिपूर्ण काम जस्तो लागेपनि भारत पश्चिमवंगालका नागरिकको भने यो कर्म नै पुख्र्यौली पेशा बनेको छ ।
स्वदेशमा रोजगारी नपाएर विदेशिनेको लर्काे छ अहिले नेपालमा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक दुई हजार पाँच सयभन्दा बढी युवा विदेशिने गरेको सरकारी तथ्याङ्क छ । अझ त्योभन्दा धेरै स्थलमार्ग हुँदै भारत लगायतका देशमा कामको खोजीमा युवा पलायन भइरहेका छन् । तर, भारतका विभिन्न स्थानबाट सुन खोज्नेदेखि पानी पुरी बेच्न आउनेलेसम्म मासिक लाखौं रुपैयाँ कमाएर लाँदा समेत त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।
सडकपेटीमै बेचिने नरिवलको पानी र उखुको जुस, हिउँदको समयमा सडकपेटीमै बेचिने बदाम, सडक किनारमा ठेला राखेर बेचिने पानी पुरी, चटपटे र पकौडा होस् या त घुम्तीमा शैलुन खोलेरै किन नहोस् भारतीयले दिनहुँ मनग्य आम्दानी गरिरहेका छन् । उनीहरुले यस्तै काम गरेर मासिक लाखौं रुपैयाँ आम्दानी गर्दै सहज रुपमा परिवार चलाएका छन् ।