मलेशियामा अवैधानिक रुपमा रहेका थुपै्र नेपाली कामदारलाई पक्राउ गरेको समाचार प्रकाशित भएको छ । त्यसो त खाडी मुलुकहरुमा अवैधानिक कामदारका रुपमा रहेका नेपाली पक्राउ परेका समाचार नियमित जस्तै आउने गरेको छ । पछिल्लो समय अमेरिकाको ट्रम्प प्रशासनले पनि आप्रबासीहरुलाई उनीहरुको देश फर्काउने कार्य अभियानकै रुपमा गर्दैछ । जसका कारण अवैध बाटोबाट त्यहाँ पुगेका र लुकिछिपी काम गरिरहेका नेपालीहरु बलपूर्वक लखेटिन थालेका छन् ।
खासगरी खाडी देशहरुमा कामदारका रुपमा जाने नेपालीको ठूलो संख्या छ । भने जस्तो काम र दाम नपाउँदा अर्को ठाउँमा जाने, श्रम तथा शारीरिक शोषणमा पर्ने जस्ता घटना प्रायः भइरहेका छन् । अरुको देश सामाजिक, सांस्कृतिक एवम् पारिवारिक दृष्टिले पनि असहज नै हुन्छ । अनि पनि लाखौं नेपालीको रोजाइ विदेश भइरहेको छ ।
नेपालीको विदेश मोह केबल लहड होइन । जहाँ रोजगारी हुँदैन र सुरक्षा पनि पाइँदैन त्यहाँ नबस्नु नै उत्तम हुन्छ– यो हाम्रो सांस्कृतिक मान्यता नै हो । जहाँ जन्मेर–हुर्केर र देशमै बसेर सुरक्षाको अनुभूति गर्छु भन्ने वातावरण हुँदैन त्यहाँको बासभन्दा त जंगलकै बास उत्तम हुन्छ । रोजगारी राज्य सरकारले प्रत्याभूत गर्दैन, आर्थिक तथा सामाजिक सुनिश्चितता प्रदान गर्न सक्दैन र भविष्यप्रति आस्वस्त हुने अवस्था पनि दिन सक्दैन त्यहाँ जन्मिने निराशा नै हो । यही निराशाले कतिलाई विद्रोही बनाउँछ भने धेरैलाई आप्रवासनको कठोर निर्णय लिन बाध्य बनाउँछ ।
त्यही बाध्यता भोलिका लागि नागरिक बिनाको नेपालको संकेत देखिन थालेको छ । सरकार आर्थिक, भौतिक, शैक्षिक लगायतका सेवाहरुको उपलब्धता सुदृढ भएको दाबी गर्छ । यी सबै पूर्वाधारको सम्पन्नतापछि नागरिकलाई अधिकार सम्पन्न सार्वभौम बनाएको डिङ हाक्छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता आदि सरकारमा बस्नेहरुको ओठे र जिब्राको टुप्पोमा झुण्डिएको हुन्छ र त्यसको उपयोग तथाकथित राज्य सञ्चालकहरुका लागि हुन्छ । देश भ्रष्टाचारमा चुलुम्म डुबेको छ, अनियमितता चरममा छ, अनि पनि आफूलाई सर्वज्ञ ठानेर आफैंलाई मपाइँ भनिरहेको अगुवाहरुलाई ‘स्वामी’ मानेर बस्नु परेको छ ।
विदेश जाने कारण शिक्षा भनिए पनि जानेहरु धेरै उतै हराउँछन् । केबल पढ्ने मात्र होइन, पढिसकेका डाक्टर, नर्स, इञ्जिनियर वा प्राविधिकहरु पनि देश छाड्ने लहरमै छन् । कामदारमा जाने अर्धदक्ष छन् वा अदक्ष अथवा विज्ञ पाए कोही स्वदेश फिर्नेवाला छैनन् । त्यहीकारण देशमा तीनै वर्गका कामदारहरुको अभाव हुन थालेको छ ।
देशमा वातावरण निर्माण गरेर युवालाई स्वदेशमै टिकाउने लक्ष्य सरकारको हुनुपर्छ । तर, सरकार सत्ता लिप्साभन्दा पर जानै इच्छुक छैन । रोजगारी, स्वरोजगारी र उद्यमशीलताको वातावरण बनाएर युवालाई आकर्षित गर्नुपर्ने सरकारले हो । तर, सरकार सुशासन, गणतन्त्र, लोकतन्त्रको मन्त्र जपेर बसेको छ, जसका कारण अभाव, अव्यवस्था, असुरक्षा र अन्याय बढेको छ । देशको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताप्रति असंवेदन सरकारको मनोदशा बलियो बन्दै गएको छ । त्यसले जनतालाई दिने निराशा, वितृष्णा नै हो । त्यसैले यदि सरकारले आफूलाई सरकार ठान्छ भने यस्तो निराशालाई चिर्ने आशा जगाउनुपर्छ । होइन भने हाम्रो भविष्य भूगोलको सीमाभित्रै हराउने छ ।