सबै आमाहरुको सम्झना

0
13

अनेक चाडपर्व, संस्कृति र परम्पराले नेपाल समृद्ध छ । अरु कुनै क्षेत्रबाट अग्रणी हुन नसके पनि यीनको विविधता र फरक–फरक महŒवका कारण विश्वकै आँखामा परेका नेपाल जातीय, भाषिक र धार्मिक दृष्टिले सम्पन्न छ । सम्पन्नताको त्यही आधारहरु मध्ये प्रत्येक वर्ष बैशाख महिनाको कृष्ण पक्षको औंशीमा पर्ने मातृऔंशी अर्थात् मातातीर्थ औंशी वा आमाको मुख हेर्ने दिनको छुट्टै महिमा छ । वैदिक धर्म र संस्कृतिमा माता अर्थात् आमालाई स्वर्गभन्दा ठूलो स्थान दिइएको छ । जिवित देवताहरु मध्ये पहिलो तहमा राखिएको आमाको आफ्ना सन्तानप्रतिको सेवा, समर्पण र संघर्षमय भोगाइको अनुभूत गर्दै विशेष श्रद्धा अर्पण गरिन्छ ।

हामीलाई नौ महिनासम्म गर्भमा राखेर जन्माएको कलिला गोडामा उभिन र हिँडन सिकाएको, बोल्न र परिवार अनि समाज चिन्न सिकाएको, अमृत समानको स्तनपान गराएको लगायतका कष्ट, सेवा र त्यागको स्मरणमा विशेष सम्मान गर्ने दिन हो– मातृ औंशी । हामीलाई धर्तीमा टेकाउने र संसार देखाउने आमाको प्रशंसा र वर्णन गरेर सकिँदैन । दया, प्रेम, करुणा र वात्सल्यकी खानी आमाको काखभन्दा अर्को कुनै सुख हुँदैन र अन्त कतै त्यस्तो निश्चिन्तता पनि पाइँदैन । यी र यस्ता थुपै्र कारणले आमालाई हामी मानव जातिकै पहिलो गुरुआमा पनि भनिएको हो । आमाले आफ्ना सन्तानप्रति समर्पण गरेको निःस्वार्थलाई कुनै भौतिक सुख र सेवा पनि तुच्छ हुन्छ । त्यहीकारण आमालाई सबै तीर्थभन्दा ठूलो तीर्थ मानिन्छ । हाम्रो लौकिक र अलौकिक दुबै संसारमा रहेका तीर्थ स्थलहरु हुन् वा तेत्तीसकोटी देवी–देवता सबै आफ्नी जन्मदायिनी आमा नै समाहित हुन्छ ।

विश्व विजयको महŒवाकांक्षा बोकेका महान योद्धा नेपोलियन बोनापार्टले समेत भनेका थिए– मलाई एक असल आमा देऊ, म तिमीलाई सिङ्गो देश दिन्छु । अमेरिकी राष्ट्रपति लिङ्कनले पनि आमाको महिमालाई उजागर गर्दै भनेका थिए– जसका साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरीब हुन सक्दैन । हाम्रा दर्शन र शास्त्रहरुले आमाको महिमाको गायन यति धेरै गरेका छन्– धर्म, कर्म सिकाउने गुरु, शिक्षा दिने गुरुभन्दा दश गुणा, धर्म कर्म सिकाउनेभन्दा सय गुणा माथि बुवाको स्थान हुन्छ र बुवाभन्दा आमाको स्थान एक हजार गुणा माथि हुन्छ । त्यही भएर हाम्रो शास्त्रीय मत मै भनिएको छ– मातृदेवो भवः । आमा अर्थात् मातृशक्तिलाई हाम्रो धर्ममा आद्यशक्ति मानिएको छ । सृष्टिस्थिति र लय आद्यशक्ति भगवतीकै कृपाले मात्र सम्भव हुन्छ । त्यहीकारण हाम्रा धार्मिक ग्रन्थहरुमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई सर्वोच्च स्थान दिइएको छ ।

आमा ती तीनवटै मातृशक्तिकी प्रतिमूर्ति हुन् । त्यसैले तिनीहरु जसले आजसम्म मातृवात्सल्य प्राप्त गरिरहेका छन्, ती सर्वाधिक सुखी र सम्पन्न छन् । त्यसैले जिवित देवी आमाको पूजा र सेवा नित्य गर्नुपर्दछ । मातृ वियोगमा रहेकाहरुले पनि आजको दिन आमाको सम्मानमा परोपकारका कामहरु गर्नुपर्दछ । दिवंगत आमाहरुको सम्झना र सम्मानमा आज देशका कतिपय स्थानमा विशेष पूजाआजा गरिन्छ । त्यस्ता स्थलमा गरिने कार्यले दिवंगत आमाहरुले मोक्ष पाउने विश्वास गरिन्छ । जसले आज पनि आमाको स्पर्श, वात्सल्य, स्नेह र करुणाको मुधरस पाइरहेका छन्, तिनीहरुलाई आजको दिनले आमाप्रतिको श्रद्धा अझ बढाओस् । असल सन्तानले मात्रै आमाको ओठमा मुस्कान भर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here