बहुआयामिक व्यक्तित्व
सृष्टिकै सुन्दर सम्बन्ध हो– आमा । जसले हृदयलाई स्पन्दन गर्दछ । संसारमा पशुपंक्षी, स–साना जीवजन्तुको सृजना आमाकै गर्भबाट भएका हुन्छन् । हुन त नारी र पुरुषको सहवास र दुबैको सहयोगपूर्ण वातावरण नै गर्भस्थ शिशुले मानव आकार पाउने मूल आधार हुन् । अर्कोतिर प्रकृति आमाले दिने घाम, हावा, पानी र धर्ती आमाले विशाल छाती फुकाएर प्रदान गर्ने खाद्यान्न, फलफूल, सुगन्ध र सौन्दर्यले आन्तरिक र बाह्यरुपमा पोषण मिलेको हुन्छ जसरी एउटा कम्प्युटर हार्डवेयर र सफ्टवेयर मिलेर आफ्नो कार्यसम्पादन गर्छ त्यसरी नै संसारमा पनि दुई शक्ति (पुरुष र नारी)को अन्तरनीहित सम्बन्धले सृष्टिको पालना गरिन्छ ।
संरचनागत दृष्टिकोणमा आमा
नारीलाई शरीर, मन र भावनाको पक्षबाट नै प्रकृतिले पुरुषभन्दा फरक ढाँचामा निर्माण गरेको हुन्छ । बाह्य रुपमा शरीरको स्वरुप जति आकर्षक हुन्छ आन्तरिक रुपमा भावना त्यत्ति नै संवेदनशील हुन्छ । पुरुषको तुलनामा महिलाहरु आक्रमक स्वभावका हुँदैनन् । पुरुषहरुले महिलाको शरीर संरक्षण गर्नकै लागि प्रकृतिले फरक रुपमा बलियो बनाएका हुन्छन् । पुरुषहरुले महिलाले जस्तो मासिक स्राव (महिनावारी) व्यहोर्नुपर्दैन । महिनावारीले प्रत्येक पटक महिलाको स्वास्थ्य कमजोर भएको हुन्छ, यो कुरा अझ थोरै पुरुषले गहिरिएर बुझ्दछन् । यस्तो बेलामा अझ आराम र स्वस्थ हेरचाहको जरुरत पर्दछ जसले पीडा सहन गर्न सहजता प्र्रदान गर्दछ ।
आमाभित्र सूक्ष्मरुपमा गतिशील धैर्य, करुणा र मातृत्व भाव प्रकृतिका शक्तिशाली उपहार हुन् । साँच्चै भन्नुपर्दा बुवा बन्न जति सजिलो छ, आमा बन्न अति जटिल छ । आफ्नो शरीरमा अर्को आत्मासहितको एक मानव नौ महिनासम्म बोक्नु संसारकै सबभन्दा ठूलो परीक्षा हो । आमा बन्नु संसारकै ठूलो उपलब्धी हो । प्रत्येक पल आफ्नो शरीर, मन, भावना, चेतनालाई सजग र कोमल बनाउँदै कष्ट सहनु, जीवनको दैनिकी चलाउनु, महिलाको यो भन्दा ठूलो कर्म हुनै सक्दैन । ती सारा कष्ट, दुखाई, थर्काइ र अप्ठ्यारोपन शब्दमा व्यक्त गर्न सकिदैन । पलपल भोग्नुको विकल्प हुँदैन । ईश्वर बाहेक कसैले अनुभव गर्न सक्दैन नारीको आमा बन्ने गहन पीडा र जिम्मेवारीको यो पहाड ।
कतिपय परिवारमा बुझ्ने श्रीमान हुनाले केही राहत पाउँछन नत्र भने गहिरिएर संवेदना ग्रहण गर्ने चाहना नहुँदा धेरै महिलाहरुले दुःख झेल्नु परेको यथार्थ हाम्रो सामु छर्लङ्ग छ । प्रकृतिले नै शारीरिक, मानसिक, भावनात्मक र चेतनाको स्तरमा आमा बन्ने अद्भूत योग्यता कुँदेर नारीलाई सृष्टि गरेको हो । पुरुषहरुले युद्ध गर्न, कडा परिश्रम गर्न, देश–विदेश गएर आयआर्जन गर्नु जस्ता कारणले परिवारको ठूलो जिम्मेवारी निभाउँदा सुगठित स्वस्थ शरीरको जरुरत हुन्छ । सृष्टिको सामञ्जस्य र सन्तुलित निर्माणको लागि दुवैको भूमिका आ–आफ्नो क्षेत्रमा सबल बनाउन ईश्वरले सुन्दर सृजना गर्नुभएको हो ।
आमा र बच्चाको सम्बन्ध
आमा र बुवा बन्नलाई एउटा शिशुको जन्म हुनु आवश्यक हुन्छ । नारी सर्जक हुन् । चाहे धर्ती हुन् या पशुपंक्षी हुन् । शिशु जन्मने बित्तिकै काख र ग्रहण गर्न दूध आमासँग हुन्छ । गर्भमा रहेको शिशुले आमाकै पोषणबाट वृद्धि हुने अवसर पाउँछन् । एउटा महिला गर्भिणी हुनु भनेको निकै असहज र जिम्मेवारीको अवस्था हो जुन निभाउन र व्यवस्थापन गर्ने क्षमता महिलामा हुन्छ । गर्भदेखि नै प्रगाढ सम्बन्ध बनेको हुँदा जन्मपछि अझ मातृत्वभाव बढ्छ भने अर्कोतिर वात्सल्य फूले झैं फक्रिन थाल्छ । यसरी मातृत्व र वात्सल्य दुबै सँगसँगै हुर्किन्छन् । आफुलाई बिर्सेर अबोध शिशु कै पालनपोषणमा एउटी आमाको जीवन कटिरहेको हुन्छ । हेर्दाहेर्दै कसिलो सुगठित शरीरले रुप फेर्दै जान्छ । बच्चाका हरेक क्रियाकलापलाई मनोवैज्ञानिक रुपमा जानेर सहजीकरण गर्न प्रकृतिले नै ज्ञान दिएकी हुन्छिन् । आमा पहिलो गुरु हुन् । खान, बोल्न, हाँस्न, हिँड्न, निदाउन सबै महŒवपूर्ण क्रियालाई झर्को नमानि स्नेहले थुम्थुम्याउँदै सिकाउँछिन् ।
बच्चाको लागि संसार नयाँ हुन्छ । हरेक प्रश्न गरिरहन्छन् । आमाले झर्को नमानी सकारात्मक ढङ्गले सिकाउनुपर्दछ । बच्चा विविध समस्या र कारपणले रोएका हुन्छन, झगडा गर्छन । यसको मूल कारण गहिरिएर बुझेर उसको संवेदनालाई समाधान गर्न जागरुक भइरहनु पर्दछ । नत्र बच्चाहरुमा रिसाउने स्वभाव बढ्दै जान्छ । सम्बन्ध पनि टाढा हुँदै जान्छ । आमाबुवा दुबैले सूक्ष्म र सरल रुपमा बच्चाका क्रियाकलाप नियालेर समाधान गर्दा बच्चाहरुमा सकारात्मक प्रभाव पर्न गई पछिसम्म एकदम सुमधुर सम्बन्ध कायम भइरहन्छ । कतिपय आमा बच्चाले गरेको प्रश्न र झगडालाई नबुझी झम्टिने, कुट्ने र बेवास्ता गर्ने गरेको पाइन्छ । यो धेरै ठूलो गलत व्यवहार हो । जतिसुकै कामको दवाव परे तापनि सहज ढङ्गले लिनुपर्दछ । बच्चाहरु खुशी भएमात्र स्वस्थ ढङ्गले मानसिक विकास हुन्छ ।
परम्परागत रुपमा आमाको भूमिका
आमा संकल्प र समर्पणको अर्को नाम हो । बिहानदेखि बेलुकासम्म फुर्सद हुँदैन थियो तर पनि आर्थिक हिसाबले कमजोर नै थिए । बालकदेखि वृद्धको स्याहार, खानपिन, सरसफाई गर्दागर्दै आफ्नो जीवन बिताउन पाउँदा भाग्यशाली नै ठान्थे । अर्कोतिर घाँस, दाउरा, खेतीपाती, पर्म, हाटबजार, ढिक्की, जाँतो, अधिकांश समय बिताउनुपर्दथ्यो । त्यसबेला तीन पुस्तासम्म एकै परिवारमा बस्ने परम्पराले गर्दा आलोपालो र मिलीजुली काम गर्ने गर्दथे । घरमा आमा हुनु भनेको ढुक्क हुनु हो । घरमा चारैतिर सगुन र सुन्दर वातावरण बनिरहनु हो ।
परम्परागत रुपमा समाजले हेर्ने दृष्टिकोण
छोरी जन्माउने आमाभन्दा छोरा जन्माउने आमालाई घरपरिवारभित्रै फरक व्यवहार गरिन्थ्यो । छोरा नपाएकै कारण सौता हाल्ने असह्य वेदना आमाहरुले आँफैभित्र दबाएर बाँच्नुपर्ने अवस्था थियो । समाजभित्र एकल महिला आमाहरुलाई सम्मानजनक दृष्टिले हेरिँदैन थियो । कतिपय आमाहरुले सन्तान जन्माएपछि मृत्युवरण गरेका घटना प्रशस्त सुनिन्थ्यो । बोक्सीको आरोपमा गरिब, दुःखी र असहाय आमा आजपनि कुण्ठित र पीडित छन् । सूक्ष्मरुपले विश्लेषण गर्दा शिक्षा, स्वास्थ्य (प्रजनन)को पर्याप्त ज्ञान नभएका कारण आमाहरुको स्वास्थ्य धेरै जोखिममा थियो । तुलनात्मक रुपमा अहिले केही सुधार भए पनि दुर्गम पहाडी जिल्लाहरुमा आमा बन्नै नपाइकन ज्यान जाने गरेका थुप्रै घटनाहरु बारम्बार सुन्नु परिरहेकै छ । यसरी हेर्दा आमा बन्न कति गाह्रो रहेछ सजिलै बुझ्न सकिन्छ । अर्कोतिर सुविधा सम्पन्न अस्पतालमा पनि हेलचेक्रयाइका कारणले बच्चा र आमा दुबैको ज्यान खतरामा परेको उदाहरण हाम्रै वरिपरी विद्यमान छन् । श्रीमानको मृत्युपछि स–साना सन्तानहरुको भरोसामा जीवन अर्पण गर्ने आमाहरु साँच्चिकै महान् छन्, त्यागी छन् । आफ्ना खुशी सन्तानको खुशी मै पाउने त आमा नै हुन् ।
वर्तमान अवस्थामा आमाको स्थान
नारीहरुले नारी भएकै कारण मौलिक हकबाट वञ्चित हुनु परेको इतिहास सर्वत्र छ । म पनि पुरुष जस्तै मान्छे हुँ । बाँच्न अधिकार र सुरक्षा चाहिन्छ भनेर कति संघर्ष गर्नुप¥यो । विश्वव्यापीरुपमा गरिएका ध्यmभल ब्अतष्खष्कत का आन्दोलनहरुले नै महिलाको जीवनयापन गर्न आज केही सहजीकरण गर्न सकेका छन् । पुरुषभन्दा असमान ज्याला, भोट दिने अधिकार, आर्थिक उपार्जन गर्न नपाउने, पढ्नै नपाउने जस्तो भेदभावपूर्ण दृष्टिकोण र व्यवहारले कष्टकर जीवन भोगिरहेका र अस्तित्व प्रति जागरुक महिलाहरुले गरेको त्यागबाट नै आजको स्थितिमा धेरै राहत मिल्दै गएको छ । संयुक्त राष्ट्रसंघको बडापत्रमा पनि जैविक विभिन्नता बाहेक महिला र पुरुष समान हुन भन्ने पारित भयो । महिलाबिरुद्ध हुने घरेलु हिंसाको पनि अन्त्य गर्न हस्ताक्षर भएपछि तुलनात्मक रुपमा धेरै परिवर्तन भएको छ ।
हिजोको तुलनामा आज आमाहरुले सम्पत्ति र व्यापारका निर्णय प्रक्रियामा सहभागिता जनाउन पाएका छन् । आय–आर्जन स्रोतमा महिलाको पहुँच वृद्धिसँगसँगै पुरुषको प्रधानता भन्ने सोचमा क्रमशः परिवर्तन आएको छ । समान अवसर दिएमा दुबै सक्षम छन् भन्ने कुरा शासनको बागडोर देखि अन्तरीक्षको यात्रासम्मलाई साक्षात्कार गर्न सकिन्छ । राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिताले महिलाका हक–अधिकार र समस्याका बारेमा सुनुवाई हुने मौका पाएका छन् । छोराछोरी समान हुन भन्ने विचारले प्रभावकारिता देखाइरहेको सन्दर्भमा आमा र बुवाको सम्बन्ध पनि सुधार भएकै हो । यति हुँदाहुँदै पनि आधुनिकता, विश्वव्यापीकरण, परसंस्कृतिकरण, बसाइसराइँ, रोजगारी, व्यापार, व्यवसाय र पर्यटन जस्ता कारणले देश, समाज परिवारलाई प्रत्यक्ष प्रभाव पारेको छ ।
अर्को बुझ्नै पर्ने विषय के छ भने बच्चाहरु आमासँग बढीसमय बिताउने भएकोले बच्चाको चरित्र निर्माणमा धेरै भूमिका हुनुपर्छ । वर्तमान समयमा सूचनाको अत्यधिक संग्रह इन्टरनेटको प्रयोगबाट हुने भएकोले बच्चाहरुलाई उमेर अनुसार चाहिने सही सूचना ज्ञान दिनै पर्छ । मोबाइल, टि.भि.को दुरुपयोगबाट जोगाउनुपर्छ । अहिले मानसिक विचलन बढ्दै गइरहेको छ । बच्चाहरुलाई आध्यात्मिक र भौतिक ज्ञान दुवै सन्तुलित रुपमा प्रदान गर्नैपर्छ । बच्चाहरु खुशी भएमात्र आमाबुवालाई खुशी दिन सक्छन् । गल्ती आफू गर्ने अनि दोष बच्चालाई दिने बानीले आँफै खाल्डामा परिन्छ । बच्चाको पढ्ने, खेल्ने, खाने, घुम्ने समय तोकेर व्यवस्थापन गर्नुपर्छ । पाँच वर्ष माथिका बच्चालाई ध्यान सिकाउन सके तिक्ष्ण बुद्धिका साथै ज्ञानी बन्दै जानेछन् ।
संविधान, कानून, नियम आफैंमा केही होइनन् प्रयोग नगरेसम्म । आमाहरुको दोहोरो दायित्व बढ्दै गएको सन्दर्भमा बुवाहरुले गर्नसके जति सबै काम सघाएर सम्बन्ध गाढा बनाउन सकिन्छ । बुवाआमाको व्यवहारबाट बच्चाले सिक्दै जाने भएकोले सकारात्मक ऊर्जा बढाउने व्यवहार देखाउनुपर्छ । एकअर्काप्रति प्रेम र सम्मानले परिवार सुन्दर बन्छ । आर्दश परिवार निर्माणमा पुरुषहरु धेरै सहयोगी हुनु अनिवार्य छ । आमा हाँसेको घर शक्तिशाली हुन्छ । आमाबुवा बनेर मात्र हुन्न असल आमा–बुवा बन्न नसकेसम्म सन्तानको सही ढंगले शारीरिक र मानसिक विकास गर्न सकिँदैन । बिरुवाको जरा जति बलियो हुन्छ, त्यति फल लाग्ने गर्दछ । बच्चाको रुची, बानी जान्न सक्ने अभिभावकले नै सही निर्देश गर्न सक्दछन् ।
हामीले जन्माएर हुर्काएको बच्चाले आउँदो समयसँग जुध्दै सफलता हासिल गर्न सक्छन कि सक्दैनन् ? आफूभन्दा अझ सशक्त, दक्ष, ज्ञानी कसरी बनाउने यस बारेमा चिन्तन गर्दै व्यवहारमा उमेर अनुसार ज्ञान सिक्ने अवसर दिनु दुबैको कर्तव्य हो । बच्चाले बुढेसकालमा कमाउँछ, पाल्छ भन्ने सोचले मात्र पुग्दैन । ऊ खुशी छ कि छैन, छैन भने किन छैन ? बेलैमा जान्नुपर्छ । कुलतमा लाग्न सक्छन् संगत खराब हुनसक्छ । आमाको मातृत्व र बुवाको सुरक्षा दुबै छाताको रुपमा रहनु पर्दछ । समान सहभागिता भएमा त्यो परिवार असाध्यै प्रेरणादायी बन्छ । आजको सम्बन्धविच्छेद जस्तो घृणित चलनले बच्चाहरुमा कस्तो विचलन आएको छ । अमेरिकामा बन्दुक बोक्ने कलिला हातहरुलाई हेरे पुग्छ । आमाहरुप्रति संवेदनशिल बनौं, आफू पनि सम्मानित बनौं, सुन्दर सृष्टि बनाऔं ।