रञ्जित रियार
झापा । शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा झापाको बिर्तामोड, अर्जुनधारा दमक लगायतका पालिकामा शिक्षकहरुले विरोध ¥याली निकालेका हुन् ।
उनीहरुले प्रहरी दमन अन्त्य गरिनुपर्ने र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका नारा लगाउँदै बिरोध जनाएका थिए । बिर्तामोडमा समेत शिक्षकले विरोध ¥याली निकालेका छन् । बिर्तामोडस्थित मुक्ति चौकमा उनीहरुले बिरोधसभाको समेत आयोजना गरे ।
सभामा शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, सचिव उमानाथ भण्डारीले सम्बोधन गरेका थिए । शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिको आयोजनामा २८ वटा बिद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, बालशिक्षक, शिक्षक आवद्ध संस्थाहरुको सहभागितामा नाराबाजीसहित नगर परिक्रमा गरी शनिश्चरे बजार ज्येष्ठ नागरिक चौतारीमा कोणसभा गरेका थिए ।
लामो समयसम्म शान्तिपूर्ण आन्दोलन गरिरहँदा सरकारले वेवास्ता गरी शिक्षकमाथि पानी तथा लाठीचार्ज गरी शिक्षा विधेयक ल्याउन आलटाल गरेको भन्दै आन्दोलन अब झन सशक्त बनाउने संघ नगर सचिव टंक न्यौपानेले बताए । अहिले आन्दोलनमा भएको समय शनिबार एवम् बिदाको समयमा समेत कक्षा सञ्चालन गरी भरणपोषण गर्ने प्रतिबद्धता शिक्षक नेताहरुले व्यक्त गरे ।
नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, बाल शिक्षक मिना श्रेष्ठ, पूर्व अध्यक्ष पुण्य सुबेदी, अन्टोका प्रदेश कोषाध्यक्ष कपिल तिम्सिना लगायतले बोलेका थिए । नगरमा केही बिद्यालय सञ्चालन रहेको खबर भएकोले तत्काल बन्द गर्न र बिद्यालय आउन समेत शिक्षकलाइ दवाब नदिन र आन्दोलनमा साथ दिन सम्बन्धित सबैलाई आव्हान गरिएको थियो । साथै आन्दोलनमा घाइते भएका शिक्षकहरुलाई स्वास्थ्य उपचारको ब्यवस्थापन गर्दै स्वास्थ्य लाभको कामना गरिएको र केन्द्रीय आन्दोलनमा आवश्यक परे जान समेत तयारी हुन नगर अध्यक्ष चन्द्र खत्रीले अनुरोध गरे ।
महासंघ सहअध्यक्ष अमर राउतले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव न्यौपानेले गरेका थिए । राजधानीमा जारी आन्दोलन थप चर्कदै गएको छ । सरकारले यतिका दिनसम्म शिक्षकका माग नसुनेपछि आन्दोलनलाई थप सशक्त बनाइएको शिक्षक महासंघले जनाएको छ ।