झापा । आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले झण्डै १८ अर्ब रूपैयाँ (१७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँ) अवैध कारोबार गरेको अधिकारीहरूले बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
उनीहरू विदेशबाट हुने रेमिट्यान्स आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार (भन्सार, चोरीपैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको जनाइएको छ । ती व्यक्ति तथा समूहले गैरकानूनी कारोबारबाट प्राप्त गरेको रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नुका साथै ‘मनी म्युल’ हरुलाई परिचालन गरेको पाइएको छ ।
विभिन्न रेमिट्यान्स भुक्तानी गर्न अनुमति लएका मनी ट्रान्सफरहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ‘ई मनी’ बनाइ सो रकमलाई रेमिट्यान्स बापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरी रेमिट्यान्स बापतको रकम हिसाब मिलान गरेको देखिएको छ