विनोद सापकोटा
झापा।
बिहानीको चिसो हावामा ४/५ महिला र पुरुष अगल अलग हुलमा स्थानिय बनियानी खोलातिर अघि बढ्दै थियो । महिलाले एउटा हातले लुगा थामेका थिए । अर्को हातमा पानीको बोतल थियो । महिला र पुरुषको एक अर्कासँग आँखा जुध्दैनन् थियो । रिमरिम उज्यालो हुदै थियो । त्यै उजेली रातलाइ माद्यम बनाएर शौचका लागि उनिहरु खोला तर्फ अघि बढेको रहेछ ।
विहीबार विहान स्थानीय वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन सहित केही सामाजिक अभियन्ता संगै पुर्वाञ्चल दैनिकको टोली संचारका सामग्री क्यामेरा, डायरी र बल पेन बोकेर त्यता तिर लागेको थियो । बस्तिको रिपोटिङ त्यहाँको विकटता, शैक्षिक स्तर, शुरक्षित आवास र शौचालय, स्वास्थ्य लगायतका विषयमा केन्द्रित थियो ।
बस्ति पुग्ने वित्तिकै हाम्रो क्यामेराले दुई वटा बालबालिका टुयुवेलमा खेल्दै गरेको तस्विर कैद गर्यो । उनिहरु कुपोषणबाट शिथिल बनेका रहेछन् । एका विहानै सन्थाल बस्तिमा ५—६ वटा मोटरसाइकलमा वडा अध्यक्ष संगै नयाँ अनुहारका युवा आएपछि नजिकैका छिमेकी पनि बस्तीमा आएका थिए । बस्तिका बासिन्दालाई समुहमा गएका युवाले जिज्ञासा राखे । उनिहरुको जिज्ञासा बस्तीमा पुगेका छिमेकीले धमाधम दिए ।
शिवसताक्षी नगरपालिका–८ को यो सानो सन्थाल बस्तीमा कुनै पनि घरमा सुरक्षित शौचालय छैन । घरमा शौचालय नभएपछि सार्वजनिक शौचालय हुने कुरै भएन । सन्थाल बस्तीका महिला पुरुष खोलाको किनार, बगरका बुट्यानमा लाज छेकेर शौच गर्छन् । बनियानी खोला उनिहरुका लागि शौचालय बनेको रहेछ ।
१३ घरका करिब ५५ जना बासिन्दाले घरमा नभएर प्रकृति अर्थात खुल्ला आकाश मुनि शौच गर्छन । शिवसताक्षी नगरपालिका खुला दिशामुक्त नगर हो । अभियानका बेलाका पोस्टर अझै मक्किइ सकेको छैन । तर हाइवे र वडा कार्यालयदेखि ३ किलोमिटरकै बस्तिमा यतिका मानिसले शौच गर्न खुल्ला आकास मुनी नै बस्नु पर्ने यथार्थ धेरैलाई विश्वास गर्न कठिन लाग्छ ।
“रातको बेला खेतको कान्ला, झाडी र खोलाको अँध्यारो कुर्नुपर्छ” स्थानीय विजय ऋषिदेव भन्छन्,“कतिपय अवस्थामा त जेठाजु र बुहारी एउटै ठाउँमा शौच गरिरहेका हुन्छन् । यस्तो दृश्य त निकै लाजमर्दो हुन्छ ।” ‘खुला शौचका कारण जेठाजु बुहारीमा न मर्यादा बाँकी रहेको छ न त सम्मान नै ।’
वडाध्यक्ष सन्तकुमार फेउदिनले ढिलै भए पनि समस्या चै बुझेका रहेछन् । “हामीलाई यत्रो समस्या छ भन्ने थाहा नै थिएन । अब नयाँ कार्यक्रम ल्याउनेछौं ।” तर स्थानीय बासिन्दाले भने पार्टीका नेता र जनप्रतिनिधिको यस्ता प्रतिवद्धता धेरै सुनिसकेका छन् । “चुनावका बेला आउने नेताहरूले शौचालय, बिजुली, पिउने पानी, साक्षरताको बाचा गर्छन् । चुनाव सकिएपछि फर्केर पनि हेर्दैनन्,” बुधिनी ऋषिदेव भन्छिन् ।
शिक्षाको अवस्था पनि उस्तै दयनीय छ । बस्तीका अधिकांशले कक्षा ५ भन्दा माथि पढेका छैनन् । युवायुवतीहरू किशोरावस्थामै ट्याक्टरमा लोड अनलोड र खेतमा मजदुरी गर्छन् । कक्षा १२ उत्तीर्ण गरेकी एकमात्र युवती, उनि माइतीतिर पढेकी थिइन् । विवाहपछि यहाँ आइन् । “पढेर के गर्नु, काम त छैन । जिन्दगी चलाउन गाह्रो छ,” उनी भन्छिन् ।
बस्तीका ४२ जना मताधिकार प्राप्त नागरिक छन् । तर नागरिकको हैसियतभन्दा बढी उनीहरू चुनावी बेला मात्रै उपयोग हुने संख्यामा सीमित हुँदा रहेछन् । जग्गाधनी प्रमाण पुर्जा, घर, शौचालय दिने बाचा गर्ने उम्मेदवारहरू अहिले सम्पर्कविहीन छन् ।
अझ पीडादायक कुरा त यहाँका अधिकांश बालबालिकामा कुपोषण देखिन्छ । वडामा जन्मदर्ता नहुँदा पोषणयुक्त आहार उपलब्ध गराउन समेत समस्या भएको अध्यक्ष फेउदिन ले बताए । वीस वर्ष उमेर अघिका विवाहहरू दर्ता नहुनाले बस्तिका अधिकांस सन्तानको जन्मदर्ता पनि छैन ।
बस्तीको अर्को गहिरो समस्या हो—मदिराको लत । बिहानैदेखि १५ वर्षमाथिका किशोरहरू रक्सी सेवनमा लठ्ठ देखिन्छन् । अभिभावककै संगतमा उनीहरू रक्सी पिउँछन् । “जातले पिएको भन्ने बहानामा रक्सी पिउँछन्, तर त्यो समाजलाई बिगार्नेगरी हो,” स्थानीय लोकेन्द्र शिवाकोटीले भने ।
वडा तथा नगर सरकारको भ्रमण खर्च लाखौंमा पुग्छ । कतिपय जनप्रतिनिधि र कर्मचारी भारतको दार्जिलिङसम्म सरकारी रकममा घुमेका छन्। “त्यही पैसा यस्ता बस्तीका आधारभूत पूर्वाधारमा लगाएको भए, सन्थाल समुदायको अनुहार फेरिन्थ्यो,” शिवाकोटीको भनाइ छ ।
सन्थाल बस्ती आज पनि विगतकै दुःख बोकेर अगाडि बढिरहेको छ । खोला उनीहरूको शौचालय हो, रक्सी उनीहरूको थकान मेटाउने माध्यम अनि शिक्षा, स्वास्थ्य, रोजगारी, सम्मान यी शब्द उनीहरूका लागि अझै सपना मात्रै बनेका छन् । जबसम्म राज्यले यस्ता बस्तीका पीडा नियालेर स्थायी समाधानको बाटो अँगाल्दैन, तबसम्म बनियानी खोलामा नुहाउँदै रक्सीको झोँकमा निदाउँदै सन्थाल समुदाय मौन क्रन्दनमै बाँचिरहन्छ ।