समाज सुधार दिवसमा दिप प्रज्वलन

0
24

रत्नबहादुर बस्नेत
बिर्तामोड ।

९५ अौं समाज सुधार दिवसको अवसरमा बिर्तामोडमा दिपप्रज्वलन गरिएको छ।

किरात धर्म तथा साहित्य उत्थान संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको मुक्तिचोकमा ९५ अौं समाज सुधार दिवसको अवसर पारेर बुधबार साँझ किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनको सम्झना तथा विश्वशान्तिको कामना गर्दै ‌दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरिएको हो।

किरात धर्म तथा साहित्य उत्थान संघ बिर्तामोडका अध्यक्ष रिमानध्वज लोक्तामको अध्यक्षता तथा किरात याक्थुङ चु्म्लुङ बिर्तामोड शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कियाचु जिल्ला सचिव भीममाया नेम्वाङ कन्दङ्वाले कार्यक्रमको अौचित्यसहित स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले वि.सं. १९८८ बैशाख २४ गते १६ अौं राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनन्द लिङ्देनले सुसंस्कृत तथा समुन्नत समाज निर्माणका लागि सात बुदे ‘सप्तधर्म मुचुल्का’ घोषणापत्र लागू गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष बैशाख २४ गते समाज सुधार दिवस मनाउने गरिएको बाताउँदै सबैले महागुरुको मार्ग दर्शनलाई अनुशरण गरि विकृति विसंगतिमुक्त जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिए।

आयोजक संस्थाका अध्यक्ष रिमानध्वज लोक्तामले सहभागीलाई धन्यबाद ज्ञापन गर्दै महागुरु फाल्गुनन्दले समाज सुधार तथा मानव कल्याणका लागि मार्गदर्शन गरेको यस ऐतिहासिक तथा धार्मिक महत्वको दिनमा महागुरुको दिव्य उपदेशको स्मरण गरेर सबैले सात्विक खानपान,स्वभाव तथा किरात धर्मसंस्कारको पालना गर्नुपर्ने बताए।

धार्मिक अभियान्ता मेहाङ लावुङ , किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष गणेश कन्दङ्वा, किरातेश्वर माङहीम बिर्तामोड -१० का अध्यक्ष ओतराज बेघा, सूर्य खजुम, वेदबहादुर तेयुङ, डम्बर नेम्वाङलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्तोष बेघाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here