मानवतालाई जीवित राख्नुपर्छ भन्दै विश्वभर रेडक्रस दिवस मनाइरहँदा छिमेकी देश भारत र पाकिस्तान नरसंहार गर्न थालेका छन् । केही समयअघि भारतको कास्मिरमा आतंकवादीहरुको आक्रमणमा परी एकजना नेपालीसहित छब्बीस जना पर्यटकले अकालमा मृत्युवरण गर्नुपरेको थियो । कास्मिरको पहलगामस्थित पर्यटकीय क्षेत्रमा परिवारसहित रमाइरहेका निहत्था र निर्दोष मानवको ज्यान लिने गरी भएको आक्रमण कुनै अर्थमा पनि मानवोचित कर्म हुन सक्दैन । भारतले उक्त घटनालाई पाकिस्तानले संरक्षण दिएको आतंककारीहरुबाट भएको आरोप लगाएको छ । त्यही विषयको विवादमा दुबै देशहरु हवाई आक्रमणमा ओर्लिएका छन् । त्यसो त आतंकवादी गतिविधि विश्वलाई बन्धुको भावनाले हेर्नुपर्छ भन्ने वैदिक संस्कृतिको बिरुद्ध हो । तर, भारतले पनि नेपालमा सशस्त्र द्वन्द्व फैलाउन नेपालका आतंकवादीलाई संरक्षण गरेको आरोप लागेकै छ । यस्तोमा अरुले आतंकवादीलाई उक्साएको भन्नु सुहाउने कुरा चाहिँ होइन ।
सन् १८६३ मा मानवीय सेवालाई मुख्य लक्ष्य बनाएर हेनरीड्युनान्टले रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । त्यसको एक वर्षपछि जेनेभा सम्मेलनबाट उक्त अभियानले आधिकारिकता पायो । रेडक्रसको स्थापनासँगै मानव रक्षाका अनेक जटिल कार्यहरु सम्पन्न भइआएका छन् । युद्ध, प्राकृतिक विपद्, विकास र शान्ति जस्ता विभिन्न परिस्थितिमा मानव कल्याणका निमित्त अग्रसर रेडक्रसले मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वेच्छिक सेवा, एकता र विश्व व्यापकता जस्ता आधारभूत सिद्धान्त अंगिकार गरेको छ । जाति, धर्म, वर्ग, लिङ्ग, सम्प्रदाय लगायतका विभेदकारी विषयबाट अलग रहेको रेडक्रस केबल मानवताको रक्षाका लागि समर्पित संस्था हो । झण्डै दुई सय वर्षअघि फ्रान्स, इटली र अस्टे«लियाबीच भएको युद्ध र त्यसमा मारिएका र घाइते भएकाहरुले रोदन, चित्कार र छटपटीले हेनरी ड्युना मर्माहत भए । त्यसकै परिणाममा उनी घाइतेहरुको सेवा गर्न तम्सिए । उनको अभियानमा अन्य मानिस पनि जोडिए, त्यही मावनता र सेवाको अभियान रेडक्रस अन्तर्राष्ट्रिय समितिमा संगठीत भयो ।
रेडक्रस आज विश्वका करिब दुई सय देशमा स्थापित छ । त्यसयता विश्वका सबै साना–ठूला युद्ध, दैवी वा प्राकृतिक विपत्ति, मानवसेवा र शान्ति स्थापना लगायतका क्षेत्रमा योगदान पु¥याइरहेको छ । मई महिनाको ८ तारिखका दिन अर्थात् आज रेडक्रस दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हेनरी ड्युनाको त्यही विश्वव्यापी र मानवीय कार्यको सम्मान गर्दै आज उनको जन्मदिन विश्व रेडक्रस दिवसका रुमपा मनाउने गरिएको हो । प्रथम नोबेल पुरस्कार विजेता हेनरी ड्युनाको परोपकारी कार्य विश्वभर फैलिएको छ । त्यही क्रममा नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रस सोसाइटीको शुरुवात भयो र आज सबै जिल्लामा यसका शाखा–उपशाखाहरु क्रियाशील छन् । अहिले पनि रेडक्रसको भूमिका र योगदान त्यत्तिकै आवश्यक छ । किनकि विश्वमा कहीँ न कहीँ, कुनै न कुनै रुपले हिंसा, सशस्त्र द्वन्द्व भइरहेकै छ, दैवि विपत्तिका घटना घटिइरहेकै छ । भारत र पाकिस्तानकाबीच शुरु भएको युद्ध पनि मानवताविरोधी नै हो । यस्तोमा रेडक्रसको विश्वव्यापी मान्यता, धर्म र सिद्धान्त अनुसार अझ बलियो, सशक्त र प्रभावकारी बनाउन जरुरी छ । यसले मात्र रेडक्रसको प्रभावकारिता अझ बढ्छ र मानवताको रक्षा हुनसक्छ ।