बिनोद सापकोटा
शिवसताक्षी, गत शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको सुरुवातसँगै देशभरिका सामुदायिक विद्यालयमा देखिएको शिक्षक आन्दोलनको असर अहिले विद्यालयको भर्ना कार्यक्रममा ठाडो रूपमा देखिन थालेको छ।
शिवसताक्षी नगरपालिका–८ स्थित अरुणोदय आधारभूत विद्यालय पनि यसैको एउटा उदाहरण बनेको छ। २०२८ सालमा जारी पुरानो शिक्षा ऐनलाई संशोधन गरी नयाँ शिक्षा ऐनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरूले तीन हप्तासम्म आन्दोलन गरे। आन्दोलनको प्रभाव विद्यालयमा प्रत्यक्ष देखियो।
“यो वर्ष त कोही पनि आउनु भएन, विद्यालय वैशाखको आधा अवधिसम्म बन्दै रह्यो,” आफ्नै छोरी विद्यालय नपठाएकी एक अभिभावकले भनिन्, “गत वर्ष त म्याडमहरू पर्चा, पम्प्लेट, माइकिङ गर्दै आउनुभएको थियो। यो वर्ष आउनु भएन विद्यालय पनि बन्द भयो। अनि बोर्डिङ स्कुलमा भर्ना नगरेर कहाँ गर्नु।” विद्यालयको ढोका बन्द भएपछि नियमित विद्यालय आउने धेरैजसो विद्यार्थी बेपत्ता जस्तै बने। अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक तारा लावती भन्छिन्, “विद्यार्थी कक्षाकोठामा देखिएनन् ।
हामी गाउँ पस्यौं । आफैंले पढाएका केटाकेटी गाउँमै भेट्यौ ।” गाउँगाउँमा पुगेका शिक्षक टोलीले पठनपाठनबाट टाढिएका बालबालिकासँग संवाद गरे। मुसहर समुदायकी एक छात्राले भनिन्, “गत वर्ष स्कुल ब्याग पाएको थिएँ, बाबुले बेचेर रक्सी खानुभयो। ब्याग नहुँदा विद्यालय जान डर लाग्छ, म्याडमले पिट्नुहुन्छ जस्तो लाग्छ।” उनीहरूलाई स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा क्षेत्रका विद्यार्थीलाई ब्याग वितरण गरेको रहेछ। ब्यागको अभावका कारण विद्यालय नगएकी ती छात्रालाई विद्यालयले नयाँ ब्याग दिने आश्वासन दिएको छ। प्रधानाध्यापक लावती भन्छिन्, “अब आइतबारदेखि उनीसहित आठ जना साथीहरू पनि विद्यालय फर्किने भएका छन्।” गत वर्ष १२३ जना विद्यार्थी रहेको विद्यालयमा हाल ९१ जना मात्रै भर्ना भएका छन्।
विद्यार्थी सङ्ख्या घट्नुमा आन्दोलन प्रमुख कारण हो । एक अभिभावकले भने, “शिक्षकहरू आन्दोलनमा थिए । पढाइ नहुँदा बच्चाको भविष्य बिग्रिन्छ भनेर निजी विद्यालयमा भर्ना गराएँ।” यद्यपि विद्यालयले विद्यार्थी फिर्ता ल्याउन प्रयास थालेको छ। अभिभावकलाई बुझाइदिएपछि केहीले निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमै भर्ना गरिदिएका छन्। “शुक्रबार र शनिबार मात्रै आठ जना विद्यार्थी थपिएका छन्,” प्रधानाध्यापक लावतीले भनिन्। प्रधान अध्यापक लावती विद्यालयको नेतृत्वमा आएपछि विद्यालयको गुणस्तर, पूर्वाधार र विद्यार्थी सङ्ख्यामा उल्लेखनीय सुधार आएको छ। “तीन वर्षभित्रै तारा म्याडमले विद्यालय चम्काइदिनुभयो,” एक अभिभावक ले भने, “गुणस्तर पनि राम्रै छ, उत्तीर्ण दर पनि सुधारिएको छ।” कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुने सो विद्यालयमा लावतीको आगमनपूर्व २३ जना विद्यार्थी थिए। याइएको थियो। पछि वडाबाट सिटी सफारी प्राप्त भएपछि विद्यार्थी सङ्ख्या १२३ पुगेको थियो। हाल आन्दोलनका कारण फेरि घटेर ९१ मा सीमित भएको विद्यालय प्रशासनको भनाइ छ।
वडाध्यक्ष सन्तकुमार फेउदिन भन्छन्, “हामी वडाका चारवटै सामुदायिक विद्यालयमा गुणस्तर सुधारका कार्यक्रम ल्याएका छौं। अबका वर्ष फरक कार्यक्रम ल्याएर अभिभावक र विद्यार्थीको मन जित्नेछौं। जसका कारण विद्यालयमा अपेक्षा गरेभन्दा विद्यार्थीको सङ्ख्या उल्लेख्य हुनेछ ।’ विद्यालयको भर्ना कार्यक्रम फेरि सक्रिय बनाउने प्रयास सुरु भइसकेको छ। शिक्षक गाउँ पसेका छन। विद्यार्थी विद्यालय फर्किँदै छन्। अब विद्यालयको जिम्मेवारी भनेको शिक्षाको गुणस्तरलाई निरन्तरता दिनु हो । जसको आधार प्रधानाध्यापक लावतीले विगतमा स्थापित गरिसकेकी छन्।