‘चिया क्षेत्रमा कार्यरत् श्रमिकहरुको अवस्था जोखिममा’

0
71

बिर्तामोड ।

श्रम ऐन् कार्यान्वयनमा देखिएको चुनौती र न्यूनतम वेतनले चिया क्षेत्रमा कार्यरत् श्रमिकहरुको अवस्था जोखिममा रहेको श्रम सम्बद्ध संगठनका प्रतिनिधिहरुले बताएका छन् ।

छैंटौं अन्तराष्ट्रिय चिया दिवसको सन्दर्भमा बुधबार झापाको बिर्तामोडमा चिया कफी श्रमिक युनियन नेपालको आयोजनामा आयोजित चिया श्रमिकहरुको न्यूनतम वेतन र श्रम कानुन विषयक सामाजिक संवादमा उनीहरुले उक्त कुरा बताएका हुन् ।

रोजगारदाताहरुले ऐन् विपरीत रोजगार सम्झौता बिना श्रमिकको प्रयोगसँगै स्थानीय श्रमिकहरुलाई बेरोजगार बनाउँदै विदेशी श्रमिकको प्रयोग गरेका कारणश्रमिकहरुमा चुनौती सिर्जना भएको युनियका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष सन्त राईले बताएका छन् ।

त्यसैगरी नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले रोजगारदाताको बेवास्ताका कारण श्रमिकहरुलाई समस्य सिर्जना भएको दावी गरे । त्यस्तै केन्द्रीय चिया सहकारी संघका प्रतिनिधि हर्क तामाङले श्रमिकहरुको सुरक्षामा चुनौती सिर्जना भएको भन्दै स्थानीय तहहरुले साझेदारीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सरकार र रोजगारदाता श्रमिकहरुको विषयमा जिम्मेवार नहुँदायोगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा चिया क्षेत्रका श्रमिकहरु सूचिकृत हुनबाट वञ्चित भएको, कार्यस्थलमा हुने दुर्घटनाको लागि दावी गर्न प्रक्रिया नपुगेको, स्वास्थ्य उपचार, बीमालगायतमाश्रमिकहरुले समस्या भोग्नु परेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा सहभागी बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले ऐन्मा व्यवस्था भएको कुराहरु कार्यान्वयन गर्न आफूले पहल गर्ने बताइन् । उनले सामाजिक सुरक्षा कार्यक्रममा चिया क्षेत्रका श्रमिकहरुलाई पनि सरकारले स्वीकृती दिनुपर्ने बताइन् ।

यता मेचीनगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रोजगारदाताले श्रमिकहरुको लागि गर्नुपर्ने सामान्य कुराहरुमा पनि चासो नदेखाएको बताए । उनले श्रमिक सम्बद्ध संगठनहरुलाई पनि जिम्मेवार बन्दै श्रमिकहरुको लागि आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य उपचार, बीमालगायतका विषयहरुको व्यवस्थापन गर्न सबै एक हुनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा दमक नगरपालिका वडा नं.९का अध्यक्ष कुवेर भट्ट, श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रतिनिधि दीपेन्द्र ओझा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त प्रमुख इन्द्रप्रसाद अधिकारी, जिफन्टका महासचिव लक्ष्मण शर्मालगायतले आफ्नो धारणा राखेका थिए । युनियनकी महिला उपाध्यक्ष चम्फा श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन जिफन्ट प्रदेश कमिटीका सहसचिव हरि अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here