झापा, झापाको बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउन्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलका १७ जना बालबालिकालाई ‘मास हिस्टेरिया’ भएको पुष्टि भएको छ ।
बालबालिकाको संवेदनशीलताका कारण उनीहरुको नाम र परिचय गोप्य राखिएको छ ।
बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका पेडियाट्रिक डा.दिनेश साहले अस्पतालमा भर्ना भएका सबै बालबालिकालाई ‘मास हिस्टेरिया’ भएको पुष्टि गरे । डा. साहले भने – विद्यालयमा डान्सपछि पानी खाए लगत्रै बालबालिका विरामी भएको भन्दै अस्पताल ल्याइएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा फुडपोइजन भएको आंशका गरिएको थियो । तर, उनीहरुमा ‘मास हिस्टेरिया’को लक्षण देखा परेको र सामान्य उपचारपछि सबै विद्यार्थी डिस्चार्ज भएका छन् । फडपोइजन पानी खाएको १० मिनेट पनि बित्न नपाउँदै हुँदैन उनले भने – ‘मास हिस्टेरिया’ भने एक जनामा लक्षण देखापरेपछि समूहलाई सोही सिम्ट्रम देखा पर्ने र विरामी हुने गरेका छन् । उनीहरु निको पनि सोही क्रममा हुन्छन् ।
आज दिउँसो करिब २ बजेको समयमा विद्यालय परिसरमा रहेको धाराको पानी सेवन गरेपछि उनीहरूलाई पेट दुख्ने समस्या देखिए लगत्तै विद्यालय प्रशासनले विद्यार्थीलाई अस्पताल भर्ना गरेको थियो ।
तुरुन्तै विद्यालय प्रशासन र शिक्षकहरूको सहयोगमा सबै बालबालिकालाई उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको र उपचारपछि सबै वालवालिका सकुसल घर फर्किएको विद्यालयका संस्थापक प्रिन्सिपल खगेन्द्र सुवेदीले बताए । विद्यार्थी कक्षा ४ र ५ मा अध्ययनरत रहेको बताएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नयव निरीक्षक बलकुमार राईको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले समेत विद्यार्थीले दुषित पानी सेवन गरेका कारण उनीहरु विरामी भएको हुनसक्ने आशंका गरेको थियो । तर, अस्पतालमा उपचारका क्रममा सबै बालवालिकालाई ‘मास हिस्टोरिया’ भएको खुलेको हो ।
के हो ‘मास हिस्टेरिया’ ?
बिर्तासिटी अस्पतालका डा. साहका अनुसार यो एक प्रकारको मानसिक समस्या हो । पहिला–पहिला बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि अहिले डिसोसिएटिभ कनभर्जन डिसअर्डर’ भनिन्छ ।
यो यौटा यस्तो अवस्था हो। जसमा आफ्नो विगतको पहिचान र हालको अवस्थाको समन्वय गर्ने क्षमताको आंशिक वा पूर्ण रुपमा कमी हुने गर्दछ र स्वभाविकभन्दा भिन्न देखिन्छ । कहिले बेहोस हुने अनि कहिले बक्ने, काम्ने हुन्छ । यस्तो समस्या एकपछि अर्कोमा सर्दै धेरै जनाका एकैपटक देखिन थाल्यो भने त्यसलाई मास कनभर्जन अथवा मास हिस्टेरिया भनिन्छ । अस्पतालमा भर्ना भएका विद्यार्थीमा पनि एकै पटक पेट दुख्ने समस्या देखा परेको थियो । उनीहरुलाई सामान्य उपचारपछि यो समस्या हटेर गयो – डा. साहले भने ।