विनोद सापकोटा,
शिवगञ्ज, शनिबार झापाको शिवशताक्षी नगरपालिका–६, शिवगञ्ज बजारको मुख्य चोकमा मञ्चन गरिएको जनचेतनामूलक सडक नाटकले धेरैलाई हँसायो । केहीलाई रुवायो । अनि कसैलाई मौन रहन बाद्य बनायो ।
नाटकमा चित्रण गरिएका दृश्य, कलाकारहरूको हाउभाउ, शब्दको चयन र कथावस्तुको प्रभाव यस्तो थियो कि दर्शकहरू हाँसो, आँसु र मौन–तीनै अवस्थामा पुगे । ‘जहाँ युवा, त्यहाँ सुरक्षा– लागुऔषध न्यूनीकरण, हाम्रो सबैको इच्छा’ भन्ने मूल नारासहित मञ्चन गरिएको सडक नाटक लागुऔषधको कुलतमा फसेका युवाको वास्तविक कथा र त्यसले निम्त्याउने सामाजिक विघटनमाथि आधारित थियो ।
कलाकारहरूले प्रस्तुत गरेका दृश्यहरू दर्शकको मन मुटुमा छिर्न सफल भयो । ‘वडाले कति पैसा खर्च ग¥यो थाहा छैन, तर मैले त एक करोडको आत्मसन्तुष्टि पाएँ ।’ नाटक हेरेर सन्तुष्टी भएका एक दर्शकले भने । कार्यक्रमको आयोजना शिवशताक्षी नगरपालिका वडा नं. ६ को चालु आवको वडा सिलिङ बजेटबाट गरिएको हो । ‘जहाँ युवा, त्यहाँ सुरक्षा– लागुऔषध न्यूनीकरण, हाम्रो सबैको इच्छा’ कार्यक्रमनै राखेर वडाले १ लाख विनियोजन गरेको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीले आफ्नै अगुवाइमा वडाबाट एक लाख रुपैयाँको लागतमा यो कार्यक्रम शिवगञ्जसम्म ल्याएका हुन् । लागुऔषधको बढ्दो समस्या देखेर जनचेतनाको यो माध्यम अपनाएको उनले बताए ।
“आधुनिक सोच, गम्भीर पहल र सशक्त समुदाय नै समाज रुपान्तरणको आधार हो । सडक नाटक हाम्रो वडाबाट सुरू भएको नयाँ चेतनाको यात्रा हो,” अध्यक्ष कार्कीले भने । कार्यक्रममा नगर प्रमुख मेघाहाङ थोप्रा प्रमुख अतिथि थिए । उनले लागुऔषध न्यूनीकरणमा सिङ्गो समाजको भूमिका आवश्यक रहेको भन्दै सामूहिक चेतनाको खाँचो औँल्याए । नगर उप–प्रमुख नरमाया कार्कीले झापा भारतको सीमामा रहेको कारण लागुऔषधको प्रभाव बढी देखिएको र अझ व्यापक सचेतना अभियान आवश्यक रहेको बताइन् ।
सडक नाटकमा युवापुस्ताले कुलतमा फसेपछि भोग्नुपर्ने मानसिक, सामाजिक र पारिवारिक समस्याहरू सजीव ढंगले प्रस्तुत गरिएको थियो । विशेषतः बालबालिकालाई अस्थिर पारिवारिक वातावरणले कुलतमा तान्न सक्ने खतरा रहेको सन्देश नाटकले दिएको थियो ।
कार्यक्रममा स्थानीय नागरिक, युवा, समाजसेवी, महिला समूह, शिक्षक र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो । जनचेतनामूलक उक्त नाटक अविको मिडिया हव प्रा.लि., धनकुटाले मञ्चन गरेको हो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष मनोज खुलालले गरेका थिए भने सञ्चालन नगरपालिकाका राजस्व शाखा प्रमुख बिमल बाँस्कोटाले गरेका थिए ।