झापा ।
झापामा मोटरसाइकल र अटो चोरीमा संलग्न थप चारजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले यसअघि चार जनाको गिरोह पक्राउ परेपछि थप चार जनालाई पक्राउ गरेको हो । पछिल्लो समय पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ३ बस्ने २८ वर्षीय बलराम साह , मेचीनगर नगरपालिका वडा न. १४ दुवागढी बस्ने ४० वर्षीय फुल महमद र झापा गाउँपालिका वडा न. ५ बस्ने २६ वर्षीय अरमान अलि रहेका छन् ।
जेठ ८ गते साँझ ७.५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी सहायक निरीक्षक पदम बिस्टको टोलीले बिर्तामोड ३ दरबार चोकमा मे ७ प २४०८ नं. को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उक्त नम्बरको मोटरसाइकलको कागजपत्र नभएकोले मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
गत माघ १७ गते दिउँसो ३ः३० बजे बिर्तामोडको कनकाई अस्पताल अगाडीबाट बिर्तामोड वडा न. १० बस्ने विकास सिटौलाको हण्डा कम्पनीको सो मोटरसाइकल पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो । पक्राउ परेका साहले उक्त मोटरसाइकल फुल महमदले दिएको बताएका थिए । फुल महमदलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त मोटरसाइकल अरमान अलिले दिएको बताएपछि महमद र अलि दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।
त्यस्तै चोरीको अटोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते साँझ ७ः५० बजे बिर्तामोड ४ मैनाली गेटमा कचनकवल ४ घर भई हाल बिर्तामोड ४ मा डेरा गरी बस्ने ३४ वर्षीय दिलीप माझी मे १ ह ६७५३ नम्बरको निलो रङ्गको अटोसहित पक्राउ परेका हुन् । उनले ४ महिना अगाडी बिर्तामोड ३ बस्ने २८ वर्षीय रञ्जित राजवंशीसँग कागजपत्र बिनाको सो अटो खरिद गरी चलाइरहेका थिए ।
यसअघि रञ्जित राजवंशी उनका दुई भाइहरू बिर्तामोड– ३ सैनिक मोड बस्ने २६ वर्षीय प्रदीप राजवंशी , २० वर्षीय कुमार राजवंशी र बिर्तामोड वडा नं. ७ मियाबारी बस्ने २७ वर्षीय जागिर आलमसहित पक्राउ परेका थिए । चोरीको तीन वटा मोटरसाइकल र एउटा अटोसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।