मेचीनगरमा न्यायिक समितिले गर्यो बार्षिक कार्यक्रमको समीक्षा

0
16

मेचीनगर, मेचीनगर नगरपालिकाको न्यायिक समितिले आफ्नो एकवर्षे बार्षिक कार्यक्रमको समीक्षा गरेको छ ।
बुधबार मेचीनगर–११ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको सिमसार क्षेत्रमा मेचीनगरका पन्ध्र वटै वडाका सूचीकृत मेलमिलापकर्ता र न्यायिक समितिबीच एकदिवसीय बार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।
बार्षिक समीक्षा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेलमिलापकर्ताहरुले जनतालाई विना पैसामा निःशुल्क सेवा दिइरहेको बताएका छन् ।
वडामा आएका थुप्रै मुद्दाहरुलाई मेलमिलापकर्ताहरुले विना पैसा, विना झनझट नमानी न्यायिक सम्पादन गरिरहेको उनले बताए ।
नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले कार्यक्रमको बार्षिक समीक्षा गर्दै मेलमिलापकर्ताहरु जनप्रतिनिधि नभए पनि जनतामैत्री न्याय समितिको रुपमा काम गरिरहेको दावी गरिन् ।
आफ्नो अधिकारभित्र पर्ने धेरै जनताका मुद्दाहरु निरुपण गरिएको उनको भनाई छ । उनले केहि मिल्नै नसक्ने मुद्दाहरु झापा जिल्ला अदालत पठाउने गरिएको बताइन् ।
कार्यक्रममा प्रत्यक वडाका एक–एक जना मेलमिलापकर्ताहरुले वडामा भएका गरेका कामका बारेमा चर्चा गरेका थिए ।
यसअघि सबै वडाका सचिव र मेलमिलापकर्ताहरुलाई पुनःताजगी, तालिम, क्षमता अभिवृद्वि, अन्तरपालिका अध्ययान, अवलोकन भ्रमण लगायतका कार्यहरु गरेको न्यायिक समितिकी अधिकृत छैटौँ इन्दिरा खरेलले जानकारी दिइन् ।
उनका अनुसार न्यायिक समितिमा यही जेठ ५ गतेसम्म आएका १३३ वटा मुद्दा मध्ये ५५ वटा फस्र्यौट र सिफारिस गरिएको छ । बाँकी रहेका ७८ वटा मुद्दा विचारधीन अवस्थामा रहेको छ ।
कार्यक्रममा न्यायिक समितिका कानूनी सल्लाहकार इन्द्रकमल प्रधानले मेलमिलापकर्ताहरुका लागि आएको नयाँ फर्मेटका विषयमा जानकारी गराएका थिए ।
उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न बार्षिक समीक्षा कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here