दुई तले विल्डिङ माथी गाई

0
190

विनोद सापकोटा,
झापा।

नेपालमै पहिलोपटक दुई तले पक्की घरमा गाई गोरु पालिने गरेको छ भन्ने सुन्दा जोकोही अचम्ममा पर्न सक्छन् । अझ त्यो पनि झापाको ठाँउमा ।

जङ्गलको बीचमा रहेको धार्मिक सताक्षीधाम भित्र यस्तो चमत्कार भएको हो भन्ने सुन्दा पहिलो पटक त विश्वास नै लाग्दैन । तर, यो कुनै कपोकल्पित कथा होइन । यो वास्तविकता हो । जिल्लाको शिवशताक्षी नगरपालिका–११ मा रहेको गोलोक गोवर्धन गौशालाले नेपालमा नै पहिलोपटक अत्याधुनिक प्रकृतिको विल्डिङ बनाएर त्यसैमा गाईको सेवा गरेको दृष्यले सबैलाई चकित बनाएको छ ।

गाई गोठको परम्परागत नेपाली परिभाषा भनेको काठको टाटी, फुसको छानो, ढोकैपिच्छे ग्वाली । योभन्दा धेरैले बढी देख्न त के कल्पना पनि गरेको हुँदैन । तर यहाँ भने करीब ९० फिट लामो र ४० फिट चौडा दुई तले पक्की भवनको दोस्रो तलामा गाई र गोरुहरू पालिएका छन् । अहिले १५ वटासम्म गाई–गोरु राखिएको भए पनि आवश्यक परेमा ६० वटासम्म सजिलै अटाउँछन् । अझ तेस्रो तलासम्म लैजाने छुट्टै स्लोप (सिँढी) पनि बनाइएको छ, जसबाट गाई–गोरु सजिलै हिँडेर जान आउन सक्छन् ।

गौशालाको यो भवन खासै महंगोमा बनेको पनि होइन । करिब २० लाख रुपैयाँ गौशालाले खर्चिएको थियो । कोशी प्रदेश सरकारको १० लाख र काठमाण्डौको पशुपति गौशालाको १० लाख गरेर २० लाखमा यो भवन निर्माण भएको हो । तर यसको प्रयोगशैली भने करोडौं मूल्यको अनुभवजस्तो छ ।

यति मात्र होइन, गाईलाई सिधै माथिल्लो तलासम्म लैजानका लागि भुइँ तलादेखि स्लोप बनाइएको छ । अन्न, घाँस, पानी सबै दोस्रो तलासम्म पु¥याउने व्यवस्था यति सहज बनाइएको छ कि यो कुनै व्यवसायीक गाई फार्म होकी जस्तो लाग्छ । तर,होइन ।

गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाज भन्छन्, ‘हामीले पहिलो, दोस्रो र तेस्रो तलामा ६०–६० वटा गाईको सेवा गर्ने हिसाबले भवन बनाएका छौं । एकैपटक १८० वटासम्म गाई राख्न सकिन्छ ।’ उनका अनुसार यो काम सम्भवत नेपालमै पहिलोपटक भएको हो । ‘मैले पनि नेपालमा हामीले बनाएको जस्तो विल्डिङमा गौको सेवा भएको देखेको छैन,’ उनले भने ।

धेरैलाई लाग्न सक्छ ‘अनि गाई माथि कसरी जान्छ त ?’ यसको उत्तर झन् रोचक छ । गाई गोरुलाई लैजानका लागि सिँढी जस्तै बनाइएको पक्की स्लोप छ । यही स्लोपबाट गाई गोरु आफैँ चढेर माथि जान्छन् । उनीहरूले माथि गएर आराम गर्छन् । घाँस खान्छन्, पानी खान्छन्, अनि फिर्ता पनि आफै आउँछन् ।

अझ रोचक कुरा त के छ भने यहाँ पालिएका गाई–गोरु नेपालमै पाइने स्थानीय जातका होइनन् । हरियाणा, वृन्दावन, असाम, मणिपुर लगायत भारतका विभिन्न राज्यबाट ल्याइएका उन्नत जातका गाईहरू पालिएका छन् । यी गाईहरूको सेवा र नस्ल विकासलाई ध्यानमा राखेर अत्यन्तै सुरक्षित, सफा र व्यवस्थित वातावरण तयार पारिएको गौशालाले जनाएको छ ।

यसरी धेरैले कल्पना नगरेको संरचनाले अहिले सिंगो देशलाई नै प्रेरणा दिएको छ । अमेरिकाबाट आएका एक तीर्थालुले त सोधेछन । ‘नेपालमा यस्तो सम्भव छ भन्ने त हामीले सुनेका थिएनौं,’ श्री शताक्षी गुरुकुलका प्राचार्य मदनमोहन अधिकारीको उत्तर अझै चमत्कारी लाग्छ, ‘जहाँ समस्या छ, त्यहाँ उपाय पनि छ नी । त्यसैले यो सम्भव भयो ।”

गौशालाको यो बहुतले प्रयास अहिले धार्मिक पर्यटनको पनि केन्द्र बन्दैछ । हरदिन यहाँ गाईहरू हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन, फेसबुक–इन्स्टाग्राममा पोस्ट गर्न भक्तजन र धार्मिक पर्यटकको भीड लाग्छ ।

गोलोक गोवर्धन गौशालाको इतिहास पनि कम रोचक छैन । २०७२ सालमा स्थापना भएको यो गौशाला अहिले सताक्षीधामलाई विश्व चर्चित बनाउने केन्द्र बनेको छ । १० वर्षमा १ अर्बभन्दा बढी संरचना निर्माण गरेर धामलाई ‘देवभूमि’ मा रूपान्तरण गरिदिएका नन्दकिशोर भारद्वाजबारे स्थानीयहरू भन्छन् ‘एउटा सन्तले १० वर्षमा जे गर्नुभयो, त्यो कल्पना भन्दा पर छ ।’
पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट साढे चार किलोमिटर उत्तरको सालघारी र रतुवामाईको जङ्गल पार गरेर पुगिने सताक्षीधाम नेपालकै चिर्चित तीर्थस्थल बनेको छ ।

गौशालाबाट अहिले गौमुत्र, कम्पोस्ट मल, दूध, दही, घिउ, गोबरको दाउरा उत्पादन हुँदैछ । यही गौशालाकै कारण शताक्षीधाममा द्वादश ज्योतिर्लिङ्ग, ५१ फिट अग्लो रुद्राक्ष जडित शिवलिङ्ग, राम दरबार, शालिग्रामको मन्दिरजस्ता अद्वितीय धार्मिक संरचनाहरू निर्माण भएका छन् ।

सानो ठाउँबाट सुरु भएको ‘गोसेवा’ आज राष्ट्रिय गौरवको विषय बन्दै गएको छ । जुन ढङ्गले झापाबाट नेपालले गाई गोठको परिभाषा फेरेको छ । गाईको महत्व र आवस्यक्ता औल्याएको छ । भविष्यमा अन्य भुभागमा पनि यस्तै उदाहरण लिन सकिने गोसेवकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here