झापा, ११ करोड माथि ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० घर भई हाल काठमाडौं बस्तै आएका लक्ष्मण पराजुली र धनुषा सवेला नगरपालिका १२ स्थायी घर भई काठमाडौं वस्तै आएका ४७ वर्षीय अरुण राज शर्मा रहेका छन् ।
उनीहरुलाई महेश लिम्बू सहितको जाहेरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ उनीहरुले ११ करोड ६ लाख ९० हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।
युके पठाइदिने भन्दै उनीहरुले ३८ जना युवाहरुबाट रकम लिएको र उनीहरुलाई विदेश नपठाई ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागको पत्र अनुसार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
त्यस्तै वैदेशिक रोजगारीको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा रविनद्र वाशुकला पक्राउ परेका छन् । ४४ वर्षीय उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो । उनले पाँच लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।