अर्जुनधारा ।

इनरव्हील क्लब अफ अर्जुनधारा र इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त आयोजनामा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर झापाको अर्जुनधारा नगरपालिका–१स्थित सिस्नेमा सम्पन्न भएको छ ।
स्थानीय शान्ति विद्या मन्दिर अङग्रेजी माध्यमिक विद्यालयमा आयोजित उक्त शिविर ग्रामिण भेगमा रहेका स्थानीयहरुको पहुँचमा विशेषज्ञ डाक्टररुको सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको इनरव्हील क्लब अफ अर्जुनधाराकी अध्यक्ष विनीता थापा तामाङले बताइन् ।
अर्जुनधारा नगरपालिका १ नं. वडा कार्यालय र स्थानीय सिद्धेश्वरी महिला समूहले संयोजन गरेको शिविरमा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा अस्पतालका डाक्टरद्वय महिला रोग विशेषज्ञ डा.अजय अग्रवाल र बाल रोग विशेषज्ञ डाक्टर ज्योती अग्रवाल, डा.इन्द्रकुमार शाहलगायतले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

२७५ जनाले सेवा लिएको शिविरमा सहभागीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको क्लबकी सचिव प्रभा नेपालले जानकारी दिइन् । कार्यक्रममा विशेषज्ञ डाक्टरहरुसहित अस्पतालका अन्य स्वास्थ्यकर्मी, स्थानीय सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी, शान्ति विद्या मन्दिर अङग्रेजी माध्यमिक विद्यालयका शिक्षकहरुलगायतलाई मायाको चिनो वितरण गरिएको थियो ।
इनरव्हील क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जुनु बिमलीले स्वागत गरेको उक्त कार्यक्रममा वडाध्यक्ष उपेन्द्र बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । उक्त अनौपचारिक कार्यक्रमको सञ्चालन मिडटाउनकी सचिव रिजु क्षेत्रीले गरेकी थिइन् ।