झिलझिले ।
झापाको शिवसताक्षी नगरपालिकामा एक वृद्धले कन्काई नहरमा हामफालेर ज्यान दिएका छन्। आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका ७८ वर्षीय राधाकृष्ण सोडारीले घर नजिकैको कन्काई नहरमा हामफालेका हुन्।
स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम कन्काई नहरमा हामफालेको देखेपछि केहीले उद्धार प्रयास गरेका थिए। तर, घटना स्थल नहरको साइफन नजिक भएकाले तत्काल उद्धार गर्न सम्भव भएन। प्रत्यक्षदर्शी एकजनाले भने, “हामीले देख्यौं, तर साइफनको भेलले उहाँलाई तत्कालै बगायो। निकाल्न सक्ने स्थिति थिएन।”
नहरको पानीले सोडारीलाई वडा नम्बर ११ स्थित साइफनमा लगेर अड्काएको थियो। पछि स्थानीय र प्रहरीको सहयोगमा उनको शव निकालिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेको र कानूनी प्रकृया अनुसार मुचुल्का उठाउने काम भइरहेको छ।
सोडारीले आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोडारी केही समयदेखि मानसिक तनावमा रहेको हुन सक्ने आशंका गरेका छन्।