झापामा जूनियर जेसीजले लागू औषध विरुद्ध साइकल र्याली गर्ने

0
25

बिर्तामोड ,

वीरता जुनियर जेसीज बिर्तामोड, भद्रपुर जुनियर जेसीज र धुलावारी जुनियर जेसीजकाे संयुक्त आयोजनामा लागूऔषधविरुद्ध कोरा साइक्लिङ हुने भएको छ।

गत असार ३ गते धुलाबारीस्थित पासाङल्हामू जेसीज प्रतिष्ठानमा वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाई , भद्रपुर जुनियर जेसीजका अध्यक्ष सनम शाशंकर, धुलाबारी जुनियर जेसीजका अध्यक्ष सृजित ढुंगानाको अध्यक्षतामा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

आगामी असार १७ र १८ गते “सामाजिक उत्तरदायित्वमा जुनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्याली र वृहत शैक्षिक सामग्री एवम् खाद्यान्न वितरण अभियान ” सञ्चालन गरिने भएको वीरता जुनियर जेसीज बिर्तामोडका अध्यक्ष अस्मित गोसाईले बताए।

कोरा साइक्लिङ अन्तर्गत झापाका तीन वटा जुनियर जेसीजको आयोजनामा लागू औषधविरुद्ध साइकल र्‍याली, वृक्षरोपण , खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण, पर्यटन प्रबर्धन एवं तालिमलगायतका कार्यक्रम गरिने उनले बताए।

काँकडभिट्टा नाकामा देखिएको बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्नका लागि काँकडभिट्टादेखि निन्दासिरानसम्म लागूऔषध विरुद्धको साइकल र्‍याली निकाल्ने भएको बताउँदै उनले यो कार्यक्रमले बढ्दो लागूऔषध दुर्व्यसनको बिरूद्द सशक्त सन्देश दिने जनाए।

कोरा साइक्लिङमा सहभागीहरूले साइकल र सवारीसाधनमा लागूऔषध बिरूद्दका नारासहित यात्रा गर्दै निन्दा सिरानबाट थप दुई घण्टा ट्रेकिङ गर्दै स्थानीय प्राथमिक विद्यालयसम्म पुगेर त्यहाँ वृक्ष रोपण र विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरिने भद्रपुर जुनियर जेसीजका अध्यक्ष सनम शाशंकरले बताए । कार्यक्रमको दोस्रो दिन स्थानिय अति विपन्न समुदायका लागि वृहत्त रूपमा खाद्यान्न वितरण गरिने उनले बताए ।

धुलाबारी जुनियर जेसीजका अध्यक्ष सृजित ढुंगानाले आफूहरूको यस अभियानले युवालाई सकारात्मक क्रियाकलापतर्फ उन्मुख गराउने, लागूपदार्थ दुर्व्यसनबाट जोगाउने र समाजमा सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाउने बताए। कार्यक्रमको संयोजकहरूमा वीरता जुनियर जेसीजका सञ्चार संयोजक युनिस कार्की , भद्रपुर जुनियर जेसीजका कानूनी सल्लाहकार प्रतिक लम्साल, धुलाबारी जुनियर जेसीजका अतित गौतम रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here