पथरी शनिश्चरे,
असार , मोरङको पथरी शनिश्चरे नगरपालिकाले पथरी शनिश्चरे नगर क्षेत्रमा विशेष योगदान पुर्याउने र सक्रिय सञ्चारकर्मी तथा सञ्चार माध्यमलाई सम्मानित तथा पुरस्कृत गरेको छ। 

बिहीबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
पथरी शनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पुर्याउनु हुने गोरखापत्र दैनिकका स्तम्भकार केशव निरौला र ब्लास्ट दैनिकका संवाददाता दिनेश सुब्बालाई नगद २५ हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो।
सोही क्रममा, उत्कृष्ट संञ्चार माध्यम पुरस्कार २०८२ बाट तिम्मा न्युज साप्ताहिक तथा अनलाइन ( विजय खम्बु) लाई पुरस्कृत गरिएको छ भने क्रियाशील पत्रकार पुरस्कारबाट पूर्वाञ्चल दैनिक झापा तथा विराट टेलिभिजन इटहरीका संवाददाता छविराज ढकाल नगद १२ हजार सहित पुरस्कृत गरिएको थियो।
लेखनवृत्ति, सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक जीवन खतिवडाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका सदस्य सचिव शीव राईले कार्यक्रमको सञ्चालन र समितिका सदस्य अर्जुन जम्नेली राईले कार्यक्रमको बारेमा प्रष्टयाउनु भएको थियो।
कार्यक्रममा सम्मानितका तर्फबाट केशव निरौला र सहभागी तर्फबाट अर्जुन काफ्ले आ-आफ्ना सुझाव तथा भनाइहरू राख्नुभएको थियो।
उक्त अवसरमा नगर प्रवक्ता नवीन कार्की, वडा नम्बर ४ वडा अध्यक्ष लोक नाथ न्यौपाने, शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगर स्वास्थ्य शाखाको प्रमुख मुरारी प्रसाद आचार्य, कार्यपालिका सदस्य मिना तामाङ,नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहनप्रसाद भट्टराई, नगरका सूचना संयोजक सन्तोष राई तथा अन्य संचारकर्मीहरू समेतको उपस्थिति रहेको थियो। सोही कार्यक्रम मार्फत नगरभित्रका शिक्षा , स्वास्थ्य , पर्यटन, फोहोरमैला व्यवस्थापन, महिला तथा बालबालिका, दलित तथा आदिवासी जनजाति, लगायतका विभिन्न शीर्षकहरूमा १३ जना सञ्चारकर्मीहरूलाई लेखनवृत्ति बापत नगद १० हजार सहित प्रदान गरिएको गरिएको छ।