पशुपति माध्यमिक विद्यालय बाह्रदशी गाउँपालिकाकै अग्रिणी शैक्षिक संस्था

0
879

सुरेन्द्र भण्डारी

गिजोलिएको राजनीतिले शैक्षिक गुणस्तर खस्कँने चिन्ता

झापा, झापाको बाह्रदशी गाउँपालिका ३ मा रहेको पशुपति माध्यमिक विद्यालय राजगढले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम नतिजा प्राप्त गर्दै गाउँपालिकाकै अग्रिणी शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरेको छ ।

बिगत तीन वर्षदेखि शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार ल्याउँदै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट विद्यालयका रुपमा आफूलाई स्थापित गरेको हो । २०७९ सालमा एसइई परीक्षामा जिल्ला प्रथम भएको सो विद्यालयले यो वर्षपनि ७१ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

पशुपति माध्यमिक विद्यालय –


बाह्रदशी गाउँपालिकामा सामुदायिक विद्यालय तर्फ ६ वटा विद्यालयमा माध्यमिक तहको पठन पाठन हुँदै आएको छ । जसमा पशुपति माध्यमिक विद्यालयले उत्कृष्टता हासिल गरेको हो । यो विद्यालयबाट १२५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षमा सहभागी थिए । जसमा ६ जनाले ३.६– ४ जीपीए सम्मको प्राप्ताङ्क ल्याएका छन् ।  विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल ‘कुमार’ का अनुसार सलुप घिमिरेले ३.९६ जीपीए प्राप्त गरे ।  त्यस्तै प्रदिप राजवंशी र हिमेश न्यौपानेले ३.८६ / ३.८६ जीपीए प्राप्त गरे । यसैगरी सुप्रिया अधिकारीले ३.६७ जीपीए प्राप्त गरिन् । अन्य दुई जना विद्यार्थीले समेत ३.६ जीपीए भन्दा माथि प्राप्ताङ्क ल्याएका छन् ।

त्यसो त ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या २४ छ ।  जुन प्राप्ताङ्क पनि अन्य दुई वटा विद्यालयका ४ जना विद्यार्थीले मात्रै ल्याउन सफल भएका छन् ।

यता फूलवारी माध्यमिक विद्यालयले ५० प्रतिशत मात्र विद्यार्थी उत्रीर्ण गराउन सफल भएको छ । बाह्रदशी गाउँपािलका ७ मा रहेको गौरीशंकर माविले ४० प्रतिशत, जनविकासले ५.२६ प्रतिशत,  पञ्चमणि माविले २.१७ र अमृत माध्यमिक विद्यालयले ३ .४५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् ।

विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल-


समग्रमा भन्ने हो भने बाह्रदशी गाउँपालिकामा पशुपति माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एसइई परीक्षाको नतिजाले देखिएको छ ।

बाह्रदशी गाउँपालिकाको सामुदायिक विद्यालयबाट २ सय ६६ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका थिए । त्यसमध्ये पशुपति माविका ६ जनाले मात्रै उच्चतम अंक प्राप्त गरेका हुन् ।

यता संस्थागत  विद्यालय तर्फ ३.६ – ४ जीपीएसम्मको प्राप्ताङ्क गर्ने २६ जना विद्यार्थी छन् । जसमध्ये बाह्रदशी २ मा सञ्चालित लिटलस्टारमा अध्ययनरत ७ जनाले ३.६– ४ जीपीए सम्मको प्राप्ताङ्क प्राप्त गरेका छन् ।

बाह्रदशी गाउँपालिकामा सञ्चालित ९ वटा निजी विद्यालयका ४९३ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी थिए । जसमध्ये लिटरस्टार अग्रिणी शैक्षिक संस्था देखिएको हो ।

मिनी माउण्ट अंग्रेजी मावि र कञ्चनज्योजिका ६ / ६ जना विद्यार्थीले ३.६– ४ जीपीए सम्मको प्राप्ताङ्क प्राप्त गरे । विगतका वर्षदेखि नै आफूलाई स्थापित विद्यालयका रुपमा चिनाउँदै आएका केही विद्यालयको नतिजा खस्किएको  छ । ३.६– ४ जीपीएसम्मको प्राप्ताङ्क प्राप्त गर्ने दिपजनका ५ जना विद्यार्थी छन् । त्यस्तै ज्ञानज्योति माविका २ जना मात्र विद्यार्थी छन् । दिव्यज्योति,युनिभर्सन पब्लिक, नमूना अंग्रेजी,कञ्चनगढ जस्ता विद्यालयका एक जना पनि विद्यार्थीले ३.६– ४ जीपीए सम्मको प्राप्ताङ्क प्राप्त गर्न सकेनन् ।
संस्थागत विद्यालयको तुलनामा बाह्रदशीका सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएपनि पशुपति माध्यमिक विद्यालयले सामुदायिक विद्यायलाई समेत चुनौति दिँदै आएको छ ।

शिक्षक, अभिभावक र विद्यार्थीको समेत लगनशीलताका कारण उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालयका प्रधानाध्यापक दाहालको भनाई छ ।

राजनीति गर्ने थलो बन्यो पशुपति

२०४६ मा बहुदलीय शासन व्यवस्थाको पुनस्र्थापनासँगै शैक्षिक संस्था र शिक्षामा दलीय राजनीतिको घुसपैठ गम्भीर समस्याको रूपमा देखिएको छ ।

केही अपवाद बाहेक शिक्षण संस्थाहरू स्वच्छ प्राज्ञिक थलोको सट्टा विभिन्न राजनीतिक दलहरूको राजनीति गर्ने माध्यम बन्ने गरेका छन् ।  शिक्षकहरू पनि विभिन्न संघ, सङ्गठन र मञ्च आदि नामले विभाजित भई राजनीतिक पार्टी र तिनका नेताहरूको अभीष्ट पूर्तिका साधन बनेका छन् । यसैको लप्काले भेट्यो पशुपतिलाई पनि ।

२०८१ साल असोजमा आम अभिभावक भेलाले व्यवस्थापन समिति चयनको प्रक्रिया अघि बढायो । दुई महिला र दुई जना पुरुष सहित व्यवस्थापन समिति चयनको प्रक्रिया शुरु भएको दश महिना बितिस्कदा समेत व्यवस्थापन समितिले पूर्णता पाएको छैन । जसको कारण हो – विद्यालय भित्र भुसको आगो झैं सल्किएको राजनीति ।

आम अभिभावक भेलाले हिरा कुमारी राजवंशी, गंगा कोइराला भुर्तेल , मोतिलाल राजवंशी र  युवराज राजवंशीलाई चयन गरेको थियो । त्यसपछि १ज्ञ सदस्यीय समितिका लागि शिक्षक प्रतिनिधिका रुपमा कमल सुवेदी चुनिए । विद्यालयको पदेन सदस्य वडाध्यक्ष (बाह्रदशी गाउँपालिका– ३) टंक साह र सदस्य सचिव विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल चयन भए ।

बाँही रहे जग्गा दाता  एक जना र  वुद्धिजीवीका  तर्फबाट एक जना ।  विधानले व्यवस्था गरे अनुसार वाणिज्य संघका दुई जना प्रतिनिधि सहित ११ सदस्यीय समिति रहने प्रावधान छ । तर, जग्गा दाता र वुद्धिजीवी छनौटमा भएको हानथापले  व्यवस्थापन समितिले पूर्णता नपाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वुद्धिजीवी र जग्गादाता मध्ये आफ्नो भागमा  एक जना चाहिने अडान तेस्र्यायो । त्यस्तै नेपाली कांग्रेसले वुद्धिजीवी र जग्गादाता दुवै आफ्नो हुनु पर्ने अडान राख्यो । जसका कारण लामो समय दुई जना सदस्य चुन्न नसक्दा अन्यौलमा परेको व्यवस्थापन समितिका लागि जस्केलोबाट छिर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले एक जना सदस्य उच्छिट्यायो ।  माओवादी केन्द्रबाट मनोनित सदस्यका रुपमा सुकमति राजवंशी चयन भइन् ।

यता दुवै मनोनित सदस्य आफ्नो हुनु पर्ने रटान राखेको नेपाली कांग्रेसले जग्गा दाताका रुपमा कृष्ण राजवंशीलाई मात्र मनोनित गर्न सक्यो । वुद्धिजीवी सदस्यका रुपमा माओवादी केन्द्रले सुकमतिलाई छिराएपछि नेकपा एमाले हिस्सिन पुग्यो । जसको असर अध्यक्ष चयनमा देखिएको छ ।

नेकपा एमालेले निर्वतमान व्यवस्थापन समिति अध्यक्ष युवराज राजवंशीलाई पुनः अघि सारेको छ । यता नेपाली कांग्रेसले मोतिलाल राजवंशीलाई अघि सारेपछि व्यवस्थापन समिति चयनका लागि चुनिएका सदस्यले बोलाएको सर्बदलीय बैठकबाट समेत अध्यक्षको टुङ्गो लाग्न सकेको छैन । अध्यक्ष चयनका लागि सात पटक बैठक बसिसकेको छ तर निष्कर्ष ननिस्कएको विद्यालयका सदस्य सचिव थीरकुमार दाहालले बताए ।

नेपाली कांग्रेसबाट रामप्रसाद दुलाल, खड्गप्रसाद राजवंशी र वडाध्यक्ष टंक साह अध्यक्ष मोतिलाल राजवंशीलाई बनाउन चाहन्छन् । यता नेकपा एमालेले युवराज राजवंशीलाई अध्यक्षका रुपमा अघि सारेको छ र निर्वतमान वडाध्यक्ष वीरेन्द्र प्रसाद राजवंशीले त्यसको नेतृत्व गरिरहेका छन् । उनी नेकपा एमालेको झापा क्षेत्र नम्वर ३ प्रदेश सभा निर्वाचन क्षेत्र २ का इञ्चार्ज हुन् ।

अभिभावक भेला सम्पन्न भएर दश/दश महिनासम्म व्यवस्थापन समिति चयन गर्न नसक्दा समेत गाउँपालिकाले ‘एक्सन’ नलिँदा विद्यालय राजनीति गर्ने थलोका रुपमा परिणत भएको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । विद्यालयमा घुसेको राजनीतिले विद्यार्थीको पठन पाठनमा समेत प्रभाव पार्न सक्ने भन्दै अभिभावकले व्यवस्थापन समितिलाई पूर्णता दिन पटक÷पटक आग्रह सहित गाउँपालिकालाई जानकारी गराउँदा समेत गाउँपालिकाले चासो नदिएको अभिभावकको दुखेसो छ ।

त्यसो त व्यवस्थापन समिति अध्यक्ष चयनमा मात्र राजनीति होइन शिक्षक अभिभावक संघ गठनमा समेत उत्तिकै राजनीति खिचातानी छ । जसका कारण पीटीए संघ पनि गठन हुन सकेको छैन । शिक्षक अभिभावक संघको अध्यक्ष बन्न पनि माओवादी, नेपाली कांग्रेस, एमाले र स्वतन्त्र पार्टीको आ –आफ्नै दाउ छ ।

२०८१ साल असोजमा भएको आम अभिभावक भेलाले व्यवस्थापन समितिका चार सदस्य सहित शिक्षक अभिभावक संघका लागि सात जना सदस्य चयन गरेको थियो । तर, पीटीए अध्यक्ष को बन्ने भन्ने दाउपेचले यसले समेत पूर्णता पाएको छैन ।

पीटीए सदस्यका रुपमा यस अघि नै सृजना श्रेष्ठ, घनश्याम आचार्य, नरेन्द्र (केशव) सापकोटा, सुवास ढुङ्गेल, कृष्ण उप्रेती, मालसरी राजवंशी र  गोपाल राय चयन भएका छन् ।

त्यस्तै शिक्षक प्रतिनिधिका रुपमा सुशीला ढुङ्गाना चयन भएकी छिन् । तर, पीटीए संघ गठनमा पनि भएको हानथापले गाउँपालिकाको अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित विद्यालयको शैक्षिक गुणस्तर खस्कँने त हैन भन्ने चौतर्फी चिन्ता र चासो बढेर गएको छ ।

अध्यक्ष बन्न पुरानै अनुहार

पशुपति माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षको दाउमा रहेका युवराज राजवंशी निर्वतमान अध्यक्ष हुन् भने मोतिलाल राजवंशी व्यवस्थापन समिति सदस्य हुन् । मोतिलाल नेपाली कांग्रेस निकट हुन् भने युवराज नेकपा एमाले निकट हुन् । उनीहर्रु  दलीय साथका कारण अध्यक्षको बटम लाइन भन्दा बाहिर नजाने अडानमा छन् ।

अध्यक्ष पदका आकंक्षी –


त्यसो त उनीहरुले यस अघि विद्यालयमा सम्झन लायक केही काम समेत गरेका छन् । विद्यालयको जग्गाको ठेक्का उठाउन , जग्गा खोज्न , अङ्ग्रेजी माध्यमको जग बसाउन, गुणस्तर सुधार गर्न ,विद्यालयमा फुलबारी निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

२०७६ सालमा विद्यालयले थीर कुमार दाहाललाई प्रधानाध्यापक पाएपछि शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा उनको टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here